एकैछिन अघि ब्रह्मनालको पानी खुवाइएको त्यो मृत शरीर खरानीमा परिणत
भइसकेको थियो । म हेरिरहेको थिएँ, बाक्सामा प्याक गरेर ल्याइएको थियो
आर्यघाटमा त्यो मृत शरीर । रुवाबासी चलिरहेको थियो, आफन्तको । बाक्साबाट
निकाल्दा बरफका डल्ला–डल्ला फालेका थिए, आफन्तले । विदेशबाट ल्याइएको ट्याग
थियो, बाक्सामा । कुन देश, कुन स्थानबाट के कारणले मृत शरीर आइपुग्यो
नेपाल । सायद, अरबी मरुभूमिमा पसिना चुहाएर परिवारलाई रेमिट्यान्स पठाउन
विदेश गएका युवा थिए उनी । रुवाबासीका बीच सारा वृत्तान्त सोधेर मृत्युपीडा
अझ बल्झाउने साहस गरिनँ । आर्यघाटपारि सत्तलको आडमा बसेर चुपचाप मृत्युको
अन्तिम कर्म नियालिरहेँ ।
केहीबेरपछि अर्को मृत शरीर ल्याइयो । आफन्त थिए, रुवाबासी अघिल्लोभन्दा कम
थियो । खटमा ल्याइएको त्यो मृत शरीर सानो थियो । सोचेँ, ओहो उमेर नपुग्दै
कसको इहलीला समाप्त भयो फेरि ! होइन रहेछ, फुलेको कपालले मेरो अनुमान फेल
गर्यो । एक वृद्ध महिला । शरीरका अवयव गलेर जीवन सकिएको थियोे सायद ।
रुवाबासी कम हुनाको कारण पनि त्यही होला । आर्यघाटको अन्तिम
कर्मकाण्डअन्तर्गत ब्रह्मनालको पानी मुखमा राखिदिए आफन्तले । मृत दुई
पैँतला बाग्मतीमा चोबलियो । फूल–अबिर चढाइयो अन्तिमपटक । अनि, लगियो
चितातिर । त्यसैगरी तेस्रो शव पनि आयो । उही प्रक्रिया अनि चितामा आगोको
ज्वालासँगै अन्तिम अस्तित्व समाप्ती ।
०००
सोच्दै थिएँ, तीनतिरबाट शंखको मधुर ध्वनिले झसंग बनायो । एकैछिनमा माइकबाट आवाज आयो, ‘असामयिक मृत्यु भएका हाम्रा आफन्तजन, देश÷विदेशमा रहेर मृत्युवरण गर्नुभएका नेपालीलगायत सबैको मृतात्माको शान्तिका लागि हरेक दिन साँझ हामी आरती गर्छौं ।’ आर्यघाट बाग्मती किनारको आरतीमा आफ्ना मृत आफन्तको आत्माले शान्ति पाउने आशामा पनि केही उपस्थित थिए । केही थिए, केवल भक्तिका लागि उपस्थित । आरती सुरु भयो । तीन स्थानमा लहरै थिए पुजारी । धूप बाले । बत्ती बाले । मकलमा बालिएको धूप एकैपटक धुवाँको मुस्लो बनेर आयो । मगमग धूपको वासना आइरहेको थियो । त्यहीबेला तेस्रोपटक ल्याइएको शवलाई जलाउन थालिएको थियो, आर्यघाटको चितामा । चिताबाट पनि धुवाँको मुस्लो एकैपटक निस्कियो । धूपको वासनासहितको धुवाँ र जलेको शरीरको नमीठो मांस गन्धसहितको धुवाँको मुस्लो एकै स्थानमा मिसियो र विस्तारै नागबेली आकार लिएर आकाशमा विलिन भयो ।
आरती
चलिरहेकै थियो, भगवान्को नाममा मधुर भजन माइकबाट आइरहेको थियो । मानिसहरू
ताली बजाउँदै भक्तिभावमा लीन थिए । वारि आर्यघाटमा रुवाबासी चल्यो । हेरेँ,
अर्को शव आएछ अन्तिम समाप्तीका लागि । त्यसैबेला आरतीमा अर्को शंखध्वनि
गर्ने समय भयो, उता आर्यघाटमा जीवन समाप्तीको एकोहोर शंखध्वनि बज्यो ।
दुवैतिरको आवाज एउटै शंखबाट आएका हुन् । तर, कति फरक छ, जीवन सकिएको उद्घोष
र आत्माशान्तिको कामनाबीचका दुई आवाजबीच । तुलना गरिरहेँ ।
साँझ छिप्पिँदै थियो । बत्तीको सहारा लिएर मात्रै हिँड्न सकिने भयो । अनायासै सिमसिम वर्षा पनि सुरु भयो । आरती पनि अन्तिम भइसकेको थियो । पानी छल्दै सत्तलको ओतको साहरा लिँदै म फर्किरहेको थिएँ । आँखा अघि मान्छे जलाइरहेको चितातर्फ पुग्यो । मान्छे जलाउने व्यक्ति वर्षामा आगो कम भएर होला, चितामाथि घ्यू थपिरहेका थिए । ह्वार्र ह्वार्र गर्दै शरीर जल्दै थियो । तुलना गरिरहेँ, हरेक दिन मरिरहेका यी आत्माको शान्तिका लागि गरिने कर्म र अन्तिम संस्कारमा गरिने कर्मबीच के फरक छ ? एकातिर मृत्युको उद्घोष, अर्कोतिर मृत्यु सरल छ भन्ने उद्घोष, सायद फरक यत्ति न हो, जीवनको अन्तर्य । (published in www.puleso.com, 2071/02/31)

२०७१ जेठ ३१