असोजको एक बिहान । आर्यघाट जलिरहेका पार्थिव शरीरले रापिइरहेको छ । चितामा लहरै एघारवटा शव जलिरहेछन् । धुवाँको मुस्लो आकाशतिर विलिन हुँदैछ । दाहिनेतिरको किरियापुत्री घरको बगलमा बसेर सुस्ताइरहेछन्, हरिप्रसाद गुरागाईं (नाम परिवर्तन) । खौरिएको टाउकोमा कपालका ठुटा बढ्ने सुरसार गरिरहेछन्, कम्मरमा सपक्क कसेर बाँधिएको सेतो धोती अनि टाउकोमा सेतो रुमाल उनको पहिरन छ । यो पहिरन हो किरियापुत्रीको । हरिप्रसाद कसैको आत्मालाई भवसागर तार्ने प्रक्रियामा छन् । तर, उनको मुहारमा मृत्युशोक कत्ति पनि देखिँदैन । बरु, सुकेको गाला झनै स्याप्प बनाएर मस्तले चुरोट उडाइरहेछन् ।
उनले फुकेको चुरोटको धुवाँ नागबेली रूप लिएर आकाशतिर उड्यो र जल्दै गरेका शवको धुवासँगै बिलायो । क्रिया गर्न बसेका हरिप्रसादको अनुहारमा आफन्तवियोगको पीडा छैन, बरु आर्यघाटतिरबाट उर्लिरहेको रुवाबासीले वातावरणलाई कारुणिक बनाइरहेछ ।
हरिप्रसादको छेवैमा अरू पनि थुप्रै किरियापुत्री देखिँदै छन्, जसको मुहार केही दिनदेखि खुल्न सकिरहेको छैन । राजेश्वरी घाटका चिसा कोठामा परालको ओछ्यानमा रात काट्दा मृत मातापिताको झ–झल्कोले झस्किइरहँदा हुन् उनीहरू । कतिको सपनामा आएर दिवंगतहरूले असन्तुष्टि पनि जनाउलान् कि ! हृदयभरि अपार श्रद्धा सँगाल्दै मृतकलाई मोक्षको बाटो खोल्न बरखीका शास्त्रीय नियमहरूलाई हरसम्भव पालना गर्दा हुन् ।
हरिप्रसादलाई चाहिँ यी सब सामान्य भइसके । अहिलेसम्म दुई सय जनाभन्दा बढी मानिसको किरियापुत्री बसिसके उनी । यो उनको भावना होइन, पेसा हो । त्यसैले त पराईको मृत्युमा नदुख्न अभ्यस्त भइसकेका छन् यी ‘जागिरे किरियापुत्री’ । किरियापुत्री बनेरै बीस वर्ष बिताइसके उनले । मृत्युसंस्कारमा श्रद्धा र जागिरको भेदलाई चिताका रुवाबासी र किरियाघरका नि:स्पृह एवम् संवेदनहीन क्रियासंस्कारले उजागर गरेका छन् । चिताहरू रोइरहेछन् तर क्रियाघर संस्कारले बोकाएको भारी बिसाउने झारा टारिरहेछ, मोलमोलाइमा । छोराछोरी तथा दाजुभाइ नभएका, सन्तान अशक्त भएकाहरूको मृत्युमा किरिया बसिदिन्छन् हरिप्रसादहरू ।
हिन्दूहरूको मृत्युकर्ममा सुनाइने गरुड पुराणमा भनिएको छ, ‘अन्त्येष्टि गरिसकेपछि आफन्तले शोकाकुल भएर बिदा गर्दा मृतकको स्वर्ग जाने एउटा ढोका खुल्छ ।’ मरेकासँग आफन्तको आत्मीयता र मृत्यपछिको श्रद्धासँग सायद यो गाँसिएको छ । हरिप्रसाद श्रद्धालाई रुपियाँमा हिसाब गरिरहेछन्, जुन मूल्यसँग दिवंगतसँग जोडिएको संवेदनाको कुनै साइनो छैन । उपभोक्तावादी बन्दै गएको समाज र त्यसको आधुनिकीकरणको उपज हो, क्रिया गर्ने जागिर । जसले हरिप्रसाद जस्ता १५ जना ब्राह्मणको जिजिविषा चलाइरहेको छ । १३औं दिन सकिएपछि हरिप्रसादको मुहार उज्यालिन्छ । बारिरहेको किरिया कहिले सकिएलाजस्तो हुन्छ उनलाई हरेक पटक– ‘यो किरिया सकिएपछि जागिरको एक चरण पार हुन्छ । कालै सकिएजस्तो हुन्छ ।’ अहिले उनी त्यो व्यक्तिको किरियाको एघारौं दिनमा छन्, जसलाई उनले कहिल्यै देखेकासम्म थिएनन् । नि:स्पृह भावले सुनाउँदै छन्, ‘कालिमाटीतिरका क्षत्री रहेछन्, उनैको किरिया गर्दै छु ।’ यत्ति हो उनले चिनेको । त्यसो त यो जागिर उनको रहरभन्दा बढी जीविकाको बाध्यता हो । सुनाउँछन्– ‘१३ दिनसम्म किरिया बस्दा प्रेतात्माले शरीर चुसेजस्तो हुन्छ ।’ वर्षको ६ महिनाभन्दा बढी सेतै कपडा अनि मुडुलै टाउकामा हुन्छन् रे उनी ।
मान्छे मरिसकेपछि प्रेतात्मालाई स्वर्ग पठाउने कर्म मृत्युकर्म हो । धार्मिक मान्यताले स्वर्गको बाटो देखाए पनि मृत्युकर्म आत्मसंसर्गसँग जोडिएको छ । जीवित छँदाको स्मृतीबाट एक्कासी टाढा हुन सक्दैन मान्छे । हिन्दू धर्मशास्त्रले बसाएको संस्कारले पनि आफन्तको मृत्यु भइसकेपछि स्मृती चिरस्थायी बनाउन १३ दिनसम्म मृत्युकर्म गर्ने चलन बसाएको होला सायद । तर, हरिप्रसादसँग किरियापुत्री बस्दाको त्यस्तो कुनै स्मृति छैन, जुन मनसँग जोडिएको होस् । उनको सरोकार हो त केवल ९ हजार नौ सय रुपियाँ । जुन उनले एकजनाको किरिया बसिदिएबापत पाउँछन् । १३औँ दिनको कर्म सकिएपछि डेढ महिनासम्म तागतिलो खानेकुरा खाएर शरीरलाई अर्को किरियाका लागि तयार राख्नु छ उनले । सुख्खा अदुवा र आलुसँग मात्रै भात खाएर मुस्किलले गुजारेको १३ दिनपछि शरीरमा तागत भर्ने सुरसारमा लाग्छन् । श्रद्धामा पनि उपभोक्तावादले उनको जागिर चलिरहेको छ तर उनी श्रद्धाका खेताला भने अवश्यै हुन् ।
श्रद्धा व्यावसायिक विनिमयबाट चल्दैन भन्ने उनले राम्रोसँग बुझेका छन् । आफ्ना बाबु मर्दा उनी मात्र नौ वर्षका थिए । त्यसबेलाजस्तो मन, दुखेको, आत्तिएको, थेग्नै नसक्ने बेदना भएको कसैको किरिया बस्दा पनि उनले अनुभूत गरेका छैनन् । बाबुको मृत्युमा आमा खुबै रोएकी थिइन्, आफ्नो सम्पूर्णताको संरक्षक बाबु अहिले आत्मा बनिसकेका छन् । मान्छे मरेपछि फर्केर आउँदैन भन्ने मात्र बुझेका थिए उनले त्यति वेला । बाँसमा कपडाले बेरेर घरनजिकैवाट घाटतिर मुर्दा लैजाँदा उनी साह्रै डराउँथे । शरीरमा रहेको पुर्खाको अंश सायद उनीभित्र खेलिरहेको थियो र त्यसैको आत्मसंसर्गले उनी पीडित र ब्यथित थिए । अनि, श्रद्धा पनि आत्माभित्रैबाट आउँथ्यो । अहिले त यो उनको फगत पेसा मात्र न हो । समाधिस्थ हरेक आत्मा जसलाई उनले किरिया बसेर भवसागर तारे, उनीहरू सबै जुर्मराएर आए पनि आफ्ना बाबुको किरिया गर्दा उत्पन्न संवेदनाको तिब्रता कहिल्यै महसुस गरेनन् उनले । भर्खरै बिहे गरेका युवायुवती र अकालमै मरेका मानिसको किरिया बस्दा भने संवेदनाको तिब्रता महसुस गर्छन् रे उनीहरू ।
काठमाडौंमा डेरा छ । पाँच जनाको परिवार पाल्ने मेसो मिलाउन आँखैअगाडि देखिएको मृत्युको दर्दभन्दा पनि पीडादायक छ उनका लागि । डेढ महिना घर बसेपछि फेरि उनको पालो आउँछ, किरिया गर्ने । यसलाई उनी पनि श्रद्धा भन्दा जागिरकै रूपमा लिन्छन् । ‘एकमानो खान पुग्ने सम्पत्ति भए एक छाक मात्रै अलिनो खाएर, दिनदिनै टाउकोबाट चिसो पानी खन्याएर बस्ने रहर कसलाई हुन्छ’, बाध्यता सुनाए ।
हिन्दूधर्म पुनर्जन्मवादी छ । एउटा शरीर छोडेपछि अर्को शरीर प्राप्त नगर्दासम्म सहज बनाइदिनु मृतकका आफन्तको कर्तव्य मानिन्छ । सद्गति प्राप्ति भएन भने मृतकको आत्मा प्रेत बनेर त्यहि परिवारमा दु:ख दिन्छ भन्ने मान्यता छ । हिन्दू धर्मशास्त्रमा उल्लेख मृत्युसंस्कारबारे वर्णन गर्दै नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविज्ञ प्रा.डा. माधव भट्टराईले मृत शरीरको अन्त्येष्टि पछि १० दिनसम्म सन्तानले किरिया र एक वर्षसम्म बरखी बार्नुपर्ने बताए । ‘आफ्नै सन्तान नभए दाजुभाइ वा आफन्त पनि नभएको व्यक्तिका लागि प्रतिनिधी खटाउन सकिने व्यवस्था धर्मशास्त्रले गरेको छ’, उनले भने ।
किरिया कर्म जाति समुदायअनुसार फरकफरक हुन्छ । यद्यपि, पशुपति क्षेत्र विकास कोषले तोकेका हरिप्रसादजस्ता १५ जना प्राय: जसो ब्राह्मण, क्षत्री तथा नेवार समुदायको किरिया बस्छन् । यी समुदायको मृत्युसंस्कार प्राय: मिल्ने खालकै छन् । सैद्धान्तिक ज्ञान नभए पनि अनुभवले उनीहरूलाई खारेको हुन्छ । मृत्युकर्ममा गरिने १३औँ दिनसम्मका हरेक काम कण्ठस्थै छ । हिजोआज त आफ्नो कर्मबाट मृतक स्वर्ग गए/नगएको समेत जनाउ पाउन थालेको आभास हरिप्रसादलाई हुन थालेछ । भन्छन्– ‘कोरामा रहँदा आत्माले शान्ति पाए/नपाएबारे आवाज दिइरहेजस्तो लाग्छ !’
No comments:
Post a Comment