Thursday, August 21, 2014

पितृत्व उर्लिएको त्यो क्षण !

‘नानी पिँडालु खानुस् ।’ मैतबहादुरले उसिनेको पिँडालु ल्याइदिए । सिलाबरको थाल, ठाउँ ठाउँ कुच्चिएको, कुच्चिएको कापमा जमेको फोहोर सफा गरेको थिएन ।  पिँडालु नपखाली उसिनिएको रहेछ ।  पहिल्यै भान्छामा छिरेर हेरिसकेको थिएँ मैले । उसिनेको पिँडालुु भनेपछि हुरुक्कै हुने म । तर, त्यहाँ खान मन सुपिरहेको थिएन । पेटमा भोक थियो । चार घण्टा उकालो चढेर उनको घरमा जो पुगेको थिएँ । मेरो हातमा पिँडालुको थाल राखिदिएपछि उनी पहिलेझैं आँगनको वल्लो छेउमा आए, अनि चोया काढ्न थाले, जसरी पहिले काढिरहेका थिए । मैतबहादुरको आडैमा बसेँ म । उनको मुहार हेरिरहेँ, पिँडालु क्वाप्प खान मन मानिरहेको थिएन । पिँडालु हातमा लिएर केलाएँ, हात उनतर्फ लम्काएँ, ‘बा एउटा तपाई पनि खानुस्’, मानेनन्, नानी तपाईं भोकाएर आउनुभाछ । हाम्रो घरमा ओढाले त्यही ढिँडो हो, अरु खाजा छैन । यै भएनी खानुस् न । म चिन्नु न जान्नुको मान्छे, मेरो भोक कसरी महसुस गरे उनले ? म उल्टै भरिएर आएँ, आफैभित्र । मातापिता सन्तानका मोहडा देखेरै थाहा पाउँछन्, उसलाई के आवश्यकता परेको छ । दुःख या सुख के छ । सायद, अनायसै उनी भित्र रहेको पितृत्व उर्लियो । त्यही पितृत्व पोखेका थिए पिँडालु मार्फत । एकैछिन अघि खान किलकिल लागिरहेको थियो । सबै हरायो । थालको पिँडालु नसकिन्जेल खाइरहें ।
०००
चितवनको कविलास ७, चौकिडाँडा मैतबहादुर चेपाङको घर । दुई वर्षअघि पुग्दा मैतबहादुर दर्दमा थिए । छोरा, बुहारी नाती सहित पाँच जना परिवारका सदस्य एकैपटक गुमाएको दर्द । विषालु जंगली च्याउ खाँदा ज्यान गुमाएका थिए उनका परिवारका पाँच सदस्यले । सदरमुकाम भरतपुर उपचार गर्न पठाएका पाँचै सदस्य निको भएर आउनुको सट्टा सेतो कात्रोमा बेरिएर आए पटक पटक गरेर । दुई वर्ष अघिको दर्दले अहिले पनि रुखो हुन्छन् मैतबहादुर । ८३ वर्षका उनको आँखामा आँशु आउँदैन । त्यतिबेला मलामी गाउँलेहरु एक छिनका लागि उनको मन बुझाएर घर–घर फर्के । बाँचेका दुई नातीमध्ये एक पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले काठमाडौं लगे । एकपटक नाती देखाउन लगेका थिए, सुकिलो, छुँदा नै मयल लाग्लाजस्तो बनाएर । धुलो मैलोमै जीवनको उत्तरार्धमा पुगेका मैतबहादुरलाई नाती कसैले चुँडे झैं लाग्यो सायद । यद्यपी, उसको उज्ववल भविष्यमै खुसी छन्, मैतबहादुर । कान्छो नातीलाई फूपुले राखेकी छिन्, हुर्काउन । दुई वर्षको फेरोमा मैतबहादुर एक्लिएका त छन् नै । एक्लोपनको परिणती होला, हिउंदमा पात झरेको शीक्रो रुखस्तै भएका छन् । पत्नी कमिनी झिस्मिसेमै उठ्छिन्, जाँतोमा ‘सामल’ पिसेर पानी लिन जान्छिन् । दुईघण्टाको  बाटोबाट पानी लिएर आइपुग्छिन् । त्यतिबेलासम्म मैतलात ढिँडो ओढाल्छन् । बुढाले उसिनेका अर्धकल्चो ढिँडो दुई गाँस टिपेर जंगल गोठालो जान हतारो हुन्छ उनलाई । छोराछोरीले छोडेको घरव्यवहार जो सम्हाल्नु छ उनलाई ।
मैतलाल कान उति राम्रो सुन्दैनन् तर, मरेका सन्तानका कैयन स्मृति छल्न खोजे पनि पुराना घटनाहरुका प्रतिध्वनी कानमा बज्रिरहन्न्छन् । लडेर खुट्टामा भएका घाउ पाप्रा लाग्न भ्याएका छैनन् । पाप्रा लाग्न सुरु गरेपनि झिँगा बस्छ, अनि फेरि घाउ बल्झिन्छ । छोरो बुद्धिबहादुर, बुहारी सोमती अनि तीन नाती ‘बिसेक भएर आउँछौं’ भनेर उपचारको लागि गएका थिए । लास बनेर ल्याइए । त्यो घाउजस्तै दुईवर्ष अगाडिको घटना उनको स्मृतीमा ताजा भएर आइरहन्छ । सन्तानका दाहसंस्कारको लागि गएनन् उनी न त एउटाको मुख नै हेरे । ‘बेकारमा माया मात्रै लाग्छ ।’ वियोग पीडामा मायाप्रति नै वितृष्णा जाग्यो उनमा । तर, आज ती मायाका भाव अनायसै उर्लिन्छन् । दिनभर एक्लै आँगन छेउमा बसिरहँदा केके सोचिरहन्छन् कुन्नी ! नातीका ठाउँमा बिरालो आइपुगेर ढाडमा चढ्छ । काखमा सुम्सुम्याउनुको सट्टा भगाउनुपर्छ उनले । छोराले आधा बनाएर गएको घरमा बार लगाउन सकेका छैनन् । तलामाथी सुत्ने आशा अधुरो त रह्यो नै । दुई वर्षअघि छाएको घरको छानो पनि यो वर्ष फेरि नछाए वर्खामा चुहिएर बसिसक्नु हुँदैन । घर छाउन चोया काढ्दैछन् मैतबहादुर । तर, छाउने कसरी बुढेस्कालको तुँवालो लागिसकेको आँखाले भ्याउँदैन । यि सबै सम्झिँदा अनुहारको छाला चाउरिएर कच्याक्कुचुक हुन्छ । सायद छोरा सम्झिएर विह्वल भए । तर, अहँ आँशु आउँदैन । न त पीडा पोख्ने कुनै उपाय नै छ उनको ।
०००
पाँच सदस्यको मृत्युको पीडा फाट्टफुट्ट शब्दमा व्यक्त गर्दै थिए उनी । फागुनको अन्तिम साता दिउँसो करिब तीन बजेको समय । चौकीडाँडामा बतासको चिसो सिरेटो लाग्न थालिसकेको थियो । मैतबहादुर आफ्ना मृत सदस्यका पीडा पोखिरहेका थिए । पीँडालु खाँदै उनका कुरा सुनिरहँदा म भने आफैमा हराउन पुगेछु । मैतबहादुरले सन्तान मोह खोजिरहँदा म भने पिताको न्यानो स्नेह खोजिरहेको थिएँ । उनका शब्दहरु भूलेर आठ वर्षको उमेरमा मलाई छोडेर ‘भगवानको काख’ मा जानुभएका मेरा पिताको स्मृतिमा अनायसै टोलाउन पुगेको रहेछु । ……. नानी, मैतबहादुरले अगाडि केही कुरा भनिसकि आफ्नो पीडाका शब्दको बीट मार्न पो लागेछन्, झल्याँस्स भएँ । मेरो अगाडि आफ्ना सन्तान वियोगमा बाँचिरहेका मैतबहादुर टिठलाग्दा देखिएका थिए, यता मेरो मन ।

No comments:

Post a Comment