Tuesday, March 26, 2013

हजुरबा महाकवि भन्ने थाहा थिएन

-सुष्मा बडाल, महाकविकी नातिनी 

महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरा मावली हजुरबा । म चार वर्षकी छँदा उहाँ बित्नुभयो । बाल्यकालमा हजुरबुबासँग विताएका स्मृतिका केही धमिला चित्र मात्र मसँग छन् । हजुरबुबाकी जेठी छोरी सावित्रीकी जेठी छोरी मै हुँ । म जन्मिएको दुई महिनामै आमालाई टिबी भएपछि मलाई मामाघर राखिएको रहेछ । म हजुरबुबाकै काखमा हुर्किएँ । हजुरबुबाले मुछेको भात निकै मीठो लाग्थ्यो । मामाघरमा माधवकी आमा भन्ने भान्छे बाहुनी थिइन् । दुई तलामाथि भान्छा थियो । सबै जना बस्ने छुट्टाछुट्टै चौका थिए । कसैले पनि चौका छुन पाउँदैनथ्यो ।
भात पाकेपछि हजुरआमा अगाडि जानुपथ्र्यो । हजुरबुबाले भात खाने ठूलो अनि पातलो चरेसको थाल थियो । थालवरिपरि कचौरामा दूध, घ्यू, तरकारी, अचार राखिएको हुन्थ्यो । हजुरबुबा भातको बीचमा खाल्डो बनाएर सबै चिज खन्याउनुहुन्थ्यो । ढिँडो मुछेजस्तै मुछेपछि त्यो साह्रो डल्लो हुन्थ्यो । मुछिसकेपछि घरका सबैलाई भातको डल्लो बनाएर भाग लगाउनुहुन्थ्यो । हजुरबुबाले मुछेको भात निकै मीठो लाग्थ्यो । हामी त्यही भात पर्खिरहन्थ्यौँ जहिल्यै । हजुरबुबा सबैलाई भाग लगाइदिइसकेपछि एक डल्लो भात आफू खानुहुन्थ्यो । अनि पहेँलो पित्तलको गिलासको दूध पिउनुहुन्थ्यो । मामा र मलाई पनि त्यही दूध पिलाउनुहुन्थ्यो । यत्ति हुन्थ्यो उहाँको खान्की । दुईवटा मामा बितिसकेपछि जन्मिएका मामा र म लगभग एउटै उमेरका थियौँ ।
मामाघरको चुल्होमा मासु लैजान पाइँदैनथ्यो त्यतिबेला । हजुरबुबा घरबाहिर चोकैनेर ओदान हालेर आगो फुक्नुहुन्थ्यो । अनि ठूल्ठूला चौटा बनाएर खसीको टाउको पकाउनुुहुन्थ्यो । हामीलाई चाहिँ भुइँमा दरी ओच्छ्याइदिएर ढाडमा तेल हालिदिनुहुन्थ्यो ।

अनि भन्नुहुन्थ्यो– ‘तिमीहरू जसको ढाडको तेल पहिला सुक्छ उसैले पहिले मासु खान पाउँछ ।’ हामी तेल सुकाउन हतारिन्थ्यौँ । पाकिसकेपछि काँसको कचौरामा एक चौटा मासु अनि झोल हालेर दिनुहुन्थ्यो । त्यो मासुको स्वाद अझै भुलेकी छुइनँ । हजुरबुबा अधिकांश दिन राति मात्रै घर आइपुग्नुहुन्थ्यो । आउँदा उहाँका साथमा थरीथरीका मिठाई हुन्थे । जति रात परे पनि मामा र म कुरिरहन्थ्यौँ । हजुरबुबा घर आएपछि पहिले काम गर्नेहरूलाई मिठाई दिनुहुन्थ्यो, त्यसपछि हामी बच्चाबच्चीलाई ।
उहाँ महाकवि हुनुहुन्थ्यो तर मेरा लागि त्यतिबेला हजुरबुबा मात्र । सात कक्षामा पढ्दा ‘नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ’ भन्ने ‘कोपिला’ कविता पढेपछि मात्रै हजुरबुबा महाकवि हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ ।

हजुरबुबाले राणाविरोधी पत्रिका छापेपछि उहाँको ज्यान जोखिममा पर्‍यो । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहहरू मिलेर उहाँलाई बनारस पुर्‍याएका थिए । मैले पछि हजुरआमाबाट सुनेअनुसार उहाँलाई बनारसको एउटा अग्लो घरमा सात तलामाथि लुकाएर राखिएको थियो । त्यतिबेला कृष्ण र प्रकाश मेरा दुई मामा कलेज पढ्ने भइसक्नुभएको थियो । हजुरबुबा बनारस जानेबेला प्रकाश मामाले नराम्रो सपना देख्नुभएको रहेछ । हजुरबाको जुत्ता लुकाइदिएर बनारस नजान अनुरोध गर्नुभएछ । तापनि उहाँ जानुभयो ।
उहाँ बनारस गएपछि घरमा खानेकुरा थिएन । कृष्ण र प्रकाश मामा २४ र २१ वर्षका हुनुहुन्थ्यो, त्रि–चन्द्रमा पढ्नुहुन्थ्यो । पढेर फर्किंदा घरमा खानेकुरा हुन्नथ्यो । हजुरआमाले पनि कताबाट ल्याउनु र † खानेकुरा नभएपछि आन्द्रा बटारिएर दुवै मामा बित्नुभएछ । काजकिरिया गर्न पनि घरमा केही सर्जाम भएनछ । धोतीको फेरोमा बेरेर दुवै मामालाई जलाउन लगिएको रे † दुवै छोरा बितेको तोडमा हजुरआमा पहेँलो बस्त्र, कपालमा रुद्राक्ष बेरी जोगी भेषधारण गरेर हजुरबुबालाई भेट्न बनारस जानुभयो । त्यतिबेला आइमाई मान्छे सजिलै भारत छिर्न संभव थिएन । हजुरआमा महिनौं लगाएर सत्तल र पाटीमा बास बस्दै त्यहाँ पुग्नुभएछ । बनारसमा हजुरबुबालाई भेटेपछि उहाँले घर हिँड्नुस् भन्दा हजुरबुबाले उल्टै ‘बजै तिमी किन आयौ ?’ भन्नुभएछ । दुईवटा छोरा पनि गए, म कसरी बाँच्नु भनेर हजुरआमाले बिलौना गरेपछि हजुरबुबाको जवाफ थियो रे, ‘उनीहरू त देशका छोरा हुन्, देशैले लग्यो । गए त गए मुलुकको लागि गए, चिन्ता गरेर हुन्छ ?’ त्यतिबेला बनारसको अँध्यारो कोठामा बसेर हजुरबुबाले दुई छोराको सम्झनामा ‘चिल्ला पातहरू’ कविता लेख्नुभएको थियो ।
हजुरबुबा काठमाडौं फर्किन नमानेपछि उतैबाट हजुरआमाले राजालाई ‘मेरा पतिलाई झिकाइपाउँm’ भनेर पत्र लेख्नुभयो, अनि उहाँ नेपाल फर्किनुभयो । त्यतिबेला उहाँले बनारसमै बसेर अहिलेको नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान) को विधान लेख्नुभएको रहेछ । नेपाल फर्किएपछि हजुरबुबाले प्रस्ताव गर्नुभएको विधानलाई महेन्द्र सरकारसहितको बैठकले पारित गर्‍यो । त्यो पुस महिना थियो । मध्यरातसम्म बैठक बसेछ । त्यो विधान मन परेर महेन्द्र सरकारले बीस हजार मोरु दिनुभएको थियो रे †
डिल्लीबजारको पीपलबोट भएर घर फर्किँदै गर्दा एउटा भिखारी ‘हजुर जाडो भयो’ भनेर काप्दै बसेको रहेछ । हजुरबुबा लामो ओभरकोट लगाउनुहुन्थ्यो । भिखारी काँप्दै गरेको देखेपछि आफ्नो कोट खोलेर लगाइदिनुभएछ । कति दिनदेखि खाएको छैन भनेर सोध्नु भएछ । ‘चारदिनदेखि भोकै छु हजुर’, भन्दै भिखारी रोएछ । हजुरबुबाले पोकोमा कति पैसा छ भन्ने ख्यालै नगर्नुभएको हो कि के हो, बीस हजार मोरुको पोको नै भिखारीलाई दिएर हिँड्नुभएछ ।
जुत्ता नलगाएको भिखारीेले ओभरकोट लगाएर हिँडेको देखेपछि पुलिसले शंका गरेर पक्रिएछ । अझ उसको साथबाट बीस हजार रुपियाँसमेत भेटेपछि त पुलिसले चोरै ठानेछ । सोधपुछ गर्दा भिखारीले ‘एउटा मान्छेले दिएको’ भनेछ । डिल्लीबजार चोकमा पूर्ण साहूको मिठाई पसल थियो । हजुरबुबालाई भेट्ने मान्छे हरेक बिहान त्यही पसलमा भरिन्थे । भिखारीबाट लिएको कोट प्रदर्शन गर्दै पुलिस पूर्ण साहूको पसलसम्म पुगेछ । सबैले चिनिहाले– देवकोटाजीको कोट । हजुरबुबालाई पुलिसले सोधेछ– ‘देवकोटाजी यो कोट तपाईंको हो ?’ उहाँले ‘हो’ भन्नुभयो । अनि भिखारी देखाउँदै ‘यो मान्छेलाई चिन्नुहुन्छ ?’ भनेर सोधेछ । हजुरबुबाले ‘चिन्दिनँ’ भन्नुभएछ । फेरि पुलिसले सोधेछ– ‘हिजो तपाईंसँग बीस हजार रुपियाँ थियो ?’ हजुरबुबालाई हेक्कै भएनछ, ‘थिएन’ भन्नुभयो । महेन्द्र सरकारले पैसा दिएको थाहा पाएका साथीहरूले सम्झाएपछि पो बल्ल पो उहाँलाई होस आएछ । अनि सम्झनुभयो, हिजो कोट र पैसाको पोको नै भिखारीलाई दिएको । पुलिसले कोट अनि रकम फिर्ता पनि गर्‍यो । हजुरबुबाको त्यो कोट मैले अझै सुरक्षित राखेकी छु । त्यो ओभरकोटको दाहिनेतिर छातीमा च्यातिएको छ ।
०००
हजुरबुबाको हुक्का देखाउँदै सुस्मा 
हजुरबुबा शिक्षामन्त्री हुँदा म चार वर्षजतिकी थिएँ । मेरा बुबा हजुरबुबाको पिए हुनुहुन्थ्यो । म मामाघरमै बस्थेँ त्यतिबेला । हजुरबुबालाई चुरोट र तमाखु धेरै चाहिने । एक प्रकारले भन्दा उहाँ चेन स्मोकर नै हुनुहुन्थ्यो । बिहानबिहानचाहिँ तमाखु खाने गर्नुहुन्थ्यो । काम गर्ने एकजनाले तमाखुको चिलिममा आगो भरेर ल्याइदिन्थे । हजुरबुबाले तमाखु खानेबेलासम्म कोइलाको राप अलि मरेको हुँदो हो, मलाई ‘नानी कोइला बलेन एकपटक फुकफुक’ भनेर अह्राउनुभयो । एकदिन त आगो फुकिदिँदा मेरो मुखभरी खरानी पर्‍यो । मलाई कम्ती रिस उठेन । सक्दिनँ म फुक्न भनेर झ्यालतिर गएर उभिएँ । म रिसाएको देखेर हजुरबुबा जिस्क्याउन थाल्नुभयो । ‘हेर † मेरो त हुक्का सुनको छ । नलीमा चाँदी राखिएको छ । तेरो बुबाको के छ ?’ भनेर जिस्क्याउनुभयो । हुक्का सुनको त थिएन, पित्तलकै थियो । मलाई जिस्क्याउन मात्रै त्यसो भन्नु भएको थियो । मलाई चाहिँ गरिब भनेर हेपेको बोध भयो र मनमा ईष्र्याको भावना पनि जागेर आयो । मैले पनि भनेँ, ‘हाम्रो घरमा सुनको हात्ती छ, घरै सुनको छ, छानो सुनको छ । हाम्रो सप्पै सुनको छ । हजुरको त हुक्का मात्रै सुनको हो ।’ म भक्कानिँदै बसेकी थिएँ । त्यही बेला बुबा र आमा दुवैजना आइपुग्नुभयो । बुबा आउनेबित्तिकै अँगालो हालेर, ‘हेर्नुस् न, हजुरबुबाले त तेरो बाउको के छ भनिसिन्छ । हजुरले हाम्रो सुनको घर छ भनिस्योस् त बाबा’ भनेर रोएँ । म कराएको सुनेपछि फेरि हजुरबुबाले आमालाई भन्नुुभयो, ‘साबी, तेरी छोरी मसँग झगडा गरिरहन्छे, लैजा यसलाई लगिहाल ।’ मैले भनेँ, ‘मेरो बुबालाई किन त्यसो भनेको त ।’

हजुरबुबा बिरामी भएपछि उहाँलाई कलकत्ता पुर्‍याइयो । त्यहाँबाट ल्याउँदा पनि उहाँ बेहोसीजस्तै हुनुहुन्थ्यो, पागल जस्तै हुनुहुन्थ्यो । उहाँको ओच्छ्यानमा सेतो तन्ना हुन्थ्यो । सेतै च्यादर ओढ्नुहुन्थ्यो सधैँ । कलकत्ताबाट ल्याएपछि उहाँलाई कहिल्यै एक जनाले छोड्न पाएन । कोही मान्छे साथमा भएन भने उहाँ हिँडिहाल्नुहुन्थ्यो । एकदिन अचम्मको घटना भयो । घरमा सबै ढोका लगाएर सुतेका थियौँ । झ्यालढोका सबै बन्द थिए । तर, मध्यरातमा हजुरबुबा बाहिर निस्किनुभएछ । सेतो च्यादर ओढेर डा. चूडानाथ भट्टरायको घरअगाडि बसिरहनुभएको रहेछ, डिल्लीबजार पीपलबोटनजिकै । पीपलबोटमा भूत आउँछ भन्थे मान्छेहरू त्यतिबेला । जण्डवी दिदीका भाइ शम्भु (अहिले नेपाल सरकारको सचिव हुनुहुन्छ) टर्च बालेर घर फर्किँदै हुनुहुँदो रहेछ । हजुरबुबालाई देखेर राति १२ बजे घर ल्याइदिनुभयो । तर, घरको कुनै पनि ढोका खुलेको थिएन । हामी सबै दंग पर्‍यौँ, हजुरबुबा कसरी बाहिर निस्किनुभयो ? हजुरबुबा अस्वाभाविक व्यवहार गर्न थाल्नुभएको थियो ।
म सानै छँदा उहाँ बित्नुभयो, त्यसैले उहाँसँग बिताएका पल धेरै छैनन् । तर, उहाँसँगको अन्तिम स्मृति अझै मेरो हृदयमा ताजा नै छ । हजुरबुबालाई पशुपति लगिएको थियो । त्यसअगाडि उहाँ शान्तभवन अस्पतालमा हुनुहुन्थ्यो । अँध्यारो कोठामा ओच्छ्यानमा सुताइएको थियो । हजुरबुबालाई हेर्न आउनेहरूको भीड थियो । मलाई कसैले काँधमा राखेर बल्लबल्ल हजुरबुबाको नजिक पुर्‍याइदियो । मलाई देखेपछि उहाँले आफू सुतेको बेडमुनि छामछाम–छुमछुम गरेर पित्तलको पाँच पैसा निकाल्नुभयो । अनि, हातमा राखिदिनुभयो । मेरो हातमा पैसा राखिदिएको सेकेन्डभरमै उहाँलाई अस्पतालको बेडबाट पशुपति पुर्‍याइयो । बित्नुभएपछि उहाँलाई ब्रम्हनालमा सुताइएको थियो । म झ्यालबाट सबै क्रियाकलाप हेरिरहेकी थिएँ । भदौ महिनाको भेल आइरहेको थियो बाग्मतीमा । हजुरबबुबालाई ब्रम्हनालमा सुताएपछि हजुरआमा एक्कासि नदीमा हाम्फाल्नुभएको थियो । पछि उहाँलाई कसले समातेर नदीबाट निकाले भन्ने मैले थाहा पाउन सकिनँ । 

Friday, March 22, 2013

"लुंगी लगाएर संविधानसभा छिरेँ"

-शान्ता चौधरी, पूर्वसभासद्

म जन्मिँदै कम्लहरी बनिसकेकी रहिछु । बुझ्ने उमेरकी हुँदा आमा–दिदीहरू कम्लहरी अनि बुबा र दाजु कमैया हुनुहुन्थ्यो । आफूलाई पनि भावीले कम्लहरी बस्नै जन्म दिएभैँm लाग्यो । जन्मिएँ पनि जमिनदारकै जग्गामा, दाङ जिल्ला । जमिनदारले आश्रयका लागि बनाइदिएको त्यो झुपडीमा जन्मिने सबै कमैया या कम्लहरी हुन्थे, म मात्रै कसरी अछुतो रहन सक्थेँ । देख्थेँ– दिनभरि जमिनदारकोमा काम गरेर घर फर्किएकी मेरी आमा साँझ जंगलतिर जानुहुन्थ्यो अनि एक मूठो कर्कलो लिएर आउनुहुन्थ्यो । हामी कम्लहरी बस्न जान नसक्ने छोराछोरीको पेट भराइदिनुहुन्थ्यो । आफूचाहिँ पटुका कसेर सुत्नुहुन्थ्यो । कामले थाकेर आएकी आमा भोकै सुत्दा बालकै भए पनि मलाई बेस्सरी रुन मन लाग्थ्यो । अनि, जमिन्दारलाई गाली गर्थें मनमनै– ‘मरुन्जेल काम लगाएर पनि पेटभरि खान नदिने असत्ती †’
आमाको पीडा बुझेर होला, ममा भित्रभित्रै विद्रोही स्वभाव पलाउन थालेछ । तर, मन विद्रोही हुँदैमा मुक्ति पाउने अवस्था थिएन । आठ वर्ष लागेको सालको माघीमा वर्षको सात सय रुपियाँ र एकजोर कपडा दिने सर्तमा मेरो कम्लहरी जीवनको सम्झौता भयो । अघिल्लो दिनसम्म बिहान सात बजेसम्म सुत्ने बालिका भोलिपल्टदेखि बिहान चारै बजे उठेर आँखा मिच्दै जमिनदारको दैलो पोत्न पुगिसक्नुपर्ने । त्यसपछि जुठो भाँडा माझ्यो, घर आँगन बढार्‍यो अनि घाँस काट्न जंगल जान तयार । खाजा पनि नखाई घाँस ल्यायो, आफूले चाहिँ जमिनदारका छोराछोरीलाई नरुचेको बाँकी भात खानुपर्ने । कस्तो बाध्यता †
जमिनदारका छोराछोरी झोला बोकेर स्कुल जाँदा मलाई पनि पढ्ने रहर जाग्थ्यो । पूरा नहुने रहर पालेर मात्रै के गर्नु † सफाचट् भएर विद्यालय जानु एउटा असम्भवप्राय: सपना मात्रै थियो मेरा लागि । कहिलेकाहीँ मालिकहरू घरमा नभएका बेला उनीहरूका छोराछोरीको स्कुलब्याग बोकेर फुरुंग पर्दै मनको चाहना मेटाउँथे । जमिनदारको छोराछोरीलाई अलिकति ठेस लागे पनि बाबुआमा सुमसुम्याउन आइपुग्थे । मैले चाहिँ आफूले सक्नेभन्दा ठूलो भारी बोकेर हिँड्नुपर्दा पनि दया देखाउँदैनथे । बरु उल्टै कहिले काम बिगारेको आरोपमा तोकेको सात सय रुपियाँ तलब पनि कटाइदिन्थे । कुटाइ, गाली त कति हो कति † सम्झिँदा पनि आङ सिरिंङ हुन्छ । वार्षिक सात सय रुपियाँमा बेचिएकी दास न थिएँ म । बेचिएको मान्छेले पशुभन्दा पनि तल्लो श्रेणीको नारकीय जीवन जिउन बाध्य हुनुपर्ने रहेछ ।
काम गर्न साह्रै गाह्रो भएको दिन साँझ घरमा आएर आमासँग रुन्थेँ । ‘के गर्नु छोरी, यस्तो तैले मात्रै भोग्नुपरेको होइन । म, दिदीहरू अनि छिमेकतिर पनि हेर त, सबैले यस्तै भोग्नुपरेको छ’, भन्दै रुनुहुन्थ्यो आमा । सोच्थेँ– ‘मान्छेलाई जुनी दिने भगवान् नै फरक–फरक रै’छन् ।’
पुर्खादेखिकै भूमिहीन कमैया थियौँ हामी । आफ्नै खेतीपाती गर्न जग्गा थिएन । बाहिर गएर कमाउन पढाइ छैन, घाँसदाउराभन्दा बढीको सीप हातमा छैन । जति नै कष्ट भए पनि दासी जीवन स्वीकार्नुको विकल्प थिएन । यद्यपि, कम्लहरीमध्ये म अलि खरो स्वभावकी थिएँ । जमिनदारका परिवारले बिनागल्ती पनि गाली वा कुटपिट गरे सहनै सक्दिनथेँ । त्यही विद्रोही स्वभावको बदलामा म जहिल्यै कम ज्याला पाउने कम्लहरी भएँ । ‘कामभन्दा धेरै मुख लाग्छे’ भनेर हप्काउँथे । साथीहरूले हजार रुपियाँ तलब पाउँदा मलाई जम्मा सात सय दिन्थे । साथीहरूले एक मुरी धान पाउँदा मैले १५ पाथीमा धानमा चित्त बुझाउनुपथ्र्यो ।
आमाको भोको पेटले मलाई बाल्यकालदेखि नै विद्रोही बनाएको थियो । अर्कातिर, दिदीले जमिनदारबाट बलात्कृत हुनुपरेको थियो । त्यसरी जन्मिएको बच्चाको बाबुसमेत देखाउन पाइनन् उनले । कारण उही थियो, निर्धो कम्लहरी हुनु । परिवारभित्र देखिएका यिनै घटनाका कारण आफ्नो सुरक्षाका लागि पनि कडा स्वभावको हुन जरुरी थियो मैले । कैयौँ पटक आपैँmले पनि शारीरिक असुरक्षाको अवस्था सामना गरेकी छु । त्यसैले हरेकचोटि सचेत भएर बस्थेँ । एक्लै काम गर्नुपर्दा कोही जबर्जस्ती गर्न आए प्रतिरक्षाका लागि लाठी वा केही हतियार नजिकै राख्थेँ जहिल्यै । पानी लिएर आउँदा एउटा घैँटो कोखामा अर्को टाउकोमा राख्थ्यौँ । मेरा साथीहरू पानी बोकेर आउँदा धेरै पटक बलात्कृत भएका थिए । त्यसैले म सकेसम्म एक्लै पानी बोक्न जान्नथेँ । सम्झन्छु– कस्तो पीडादायी जीवन भोगेँ मैले † शारीरिक श्रमका लागि बेचिएकी त थिएँ नै, अर्कोतिर मानसिक त्रासमा पनि जकडिनुपर्ने ।
०४५ सालदेखि कम्लहरी बस्न थालेकी हुँ । बाल्यकाल कम्लहरी बनेरै बित्यो, किशोरी भएँ कम्लहरी नै थिएँ, बिहे पनि कमैयासँगै भयो । दिदीलाई परेको समस्यापछि छोरी सुरक्षित हुन्छे भनेर म कम्लहरी बसेसँगैको घरमा कमैया बस्ने केटासँग आमाले बिहे गराइदिनुभयो । १५ वर्षकी थिएँ बिहे हुँदा । जमिनदार अनि उनीहरूका छोराहरूले राम्रो नजरले हेर्दैनन् भन्ने बुझेपछि म पनि बिहेको लागि राजी भएँ । बिहेपछि दुईवटा सन्तान पनि कम्लहरी जीवनमै जन्माएँ ।
१८ वर्षपछि अर्थात् ०६३ सालमा म कम्लहरीबाट मुक्त भएकी हुँ । त्यति बेला वार्षिक चार हजार रुपियाँ तलब तोकिएको थियो । विष्णुप्रसाद अधिकारी थिए, म बसेको घरका जमिन्दार । त्यस बेला कम्लहरीका अधिकारबारे गाउँमा छलफल चल्न थालेको थियो । जमिन्दारले छलफलमा सहभागी भएको थाहा मात्रै पाए हामीले काम छोड्नुपथ्र्यो । मलाई पहिलेदेखि हामी कम्लहरी जुट्न सके दु:खका दिनबाट पार पाउन सकिन्छ भन्ने लागिरहन्थ्यो । त्यसैले कम्लहरीहरूका अधिकारबारे भएका छलफलमा लुकेर सहभागी हुन थालेँ ।
भोलिपल्ट छलफलमा जानु छ भने अघिल्लो दिन नै दुई भारी घाँस काट्थेँ । एक भारी जंगलमा लुकाउँथे । एक भारी लिएर घर आउँथे । भोलिपल्ट जंगल जाने बहाना बनाएर छलफलमा पुग्थेँ, फर्किंदा हिजो काटेको घाँसको भारी बोकेर आउँथे । कहिले घरमा छोराछोरी बिरामी छन् भन्ने बहाना पारेर छलफलमा जाने गर्न थालेँ । तर, आफू कमैयामुक्तिको आन्दोलनमा लागेको कुरा लामो समयसम्म छिपाउन सकिनँ । उनीहरू ‘कि काम गर, कि छोडिदे’ भन्न थालेँ । मैले पनि सोचेँ, ‘एउटा चराले त चारा खोजेर आफ्ना बचेराको पेट भर्छ, मैले पनि यो नारकीय जीवन त्यागेर आफ्ना छोराछोरी हुर्काउन किन नसकुँला ।’ त्यसपछि आफ्नै खुसीले ०६३ सालको माघीपछि कम्लहरी जीवन त्यागेँ ।
म स्कुलको मुखै नदेखेकी मान्छे । राजनीतिबारे केही ज्ञान थिएन । तर, नौमहिने सरकारका क्रममा एमालेले देखाएको छविका कारण त्यही पार्टी मन पथ्र्यो । कांग्रेसीका घरमा कम्लहरी बसेकाले मनका कुरा खोल्न सक्दिनथेँ । कम्लहरी जीवन त्यागेपछि थुप्रै दल मलाई घरमै बोलाउन आए । यद्यपि, एमाले छोड्न मन लागेन । कम्लहरी आन्दोलनमा सक्रिय हुँदै पार्टीको सदस्यता लिएँ, दाङ जिल्लाबाट । संविधानसभाको चुनावताका सक्रिय रूपमा काम गरेँ । यद्यपि, मलाई पार्टीका धेरै सैद्धान्तिक कुराको ज्ञान थिएन । संविधानसभाको परिणाम घोषणा भइसकेपछि सभासद्हरूको छनोटमा मेरो नाम पनि परेछ । पत्यारै लागेन । त्यसैले कसैलाई पनि भनिन । शान्ता चौधरी नामका साथीहरू पार्टीमा अरू पनि थिए । म नै हुँ भन्ने निक्र्योल आपैँmले कसरी गर्न सक्थेँ र ? एक सातापछि केन्द्रीय कार्यालयबाट खबर आएपछि बल्ल पत्यार लाग्यो ।
सभासद् भएपछि काठमाडौं आउने खर्च पनि ऋण लिनुपरेको थियो । लुंगी र ब्लाउजबाहेक अरू कपडा थिएनन् मसँग । पहिलो दिन संविधानसभा भवनमाा लुंगी र ब्लाउज लगाएरै गएकी थिएँ । केही साथीले ‘सोमत नभएकी’ भन्दै कुरा पनि काटे । पछि पार्टीकै एक महिला सभासद््सँग पैसा सापटी लिएर एक जोर साडी किनेँ । मलाई आफ्नो नाम लेख्न पाँच मिनेट लाग्थ्यो । सभासद् भएपछि पढ्न सिकेँ । अँग्रेजी पनि पढेँ । कम्प्युटर चलाउन जानेँ । अहिले आफ्नो जीवनका उतारचढावलाई समेटेर एउटा किताब लेख्दै छु । संविधानसभाले विश्वास गरेर प्राकृतिक स्रोतसाधन समितिको सभापति पनि बनायो ।
जीवनको ३२ वर्षको अवधिमा भोगेका अनुभूति सम्झिँदा कहिलेकाँही मैले एकै जन्ममा दुईटा जुनी
फेरेभैँm लाग्छ । कुन तहमा थिएँ, घाँस दाउरा अनि साहूको जुठोभाँडो मात्रै बुझ्थेँ । अहिले देशको अवस्था बुझ्न सक्ने भएकी छु । एक समय जमिनदारको दासी थिएँ, अहिले तिनै जमिन्दार सम्मानले बोलाउँछन् । जीवनमा आएको परिवर्तन सपनाजस्तो लाग्छ आपैँmलाई ।

Monday, March 18, 2013

                                          समाजसेवी आमा  



वौद्ध गुम्बामा दुईहजार बढी वौद्ध भिक्षुहरु एकसाथ वुद्धको स्तुती गरिरहेका छन्  । विश्वशान्तिको कामना गर्दै उनीहरुले थालेको प्राथनामा साथ दिन हजारौं वौद्ध धर्मावलम्बी साथ लागिरहेका छन् । बिहानको ४ बजे नै होचो कदकी एक महिला त्यही साथमा मिसिइसकेकी हुन्छिन् । चाउरी परेको अनुहारमा छुट्टै चमक छ । ढल्कि“दो उमेरको प्रतिक अनुहारको चाउरीलाई मनको स्फूर्तीले विस्थापित गरेको झलक्क हेर्दैमा प्रष्ट देखिन्छ । गुम्बा घुम्दै प्रँथना गरेर उनले दिने साथ सकि“दैन । लामो बख्खु लगाएकी उनी छातीको देबे्रतिर स्वयंसेवक लेखिएको कार्ड लगाउ“उछन् । अनि, हातको माने एकातिर थन्क्याएर कित्ली बोक्दै बिहानै भिक्षुहरुको गिलासमा चिया बा“ड्छिन् । उनको हातमा रहेको चियाको तातोले भिक्षुबाहेक सर्वसाधारणको आ“त पनि तातिन पाउ“छ । 
यि महिलालाई देखेर म फ्लोरेन्स नाइटेङ्गललाई सम्झिरहेको छु । नाइटेङ्गल जसले हातमा लालटिन बोक्दै रोगले शैयामा छट्पटाइरहेका बिरामीको सेवामा हरतरहले खटिइन् । उनको नाम नचिन्ने मान्छे विश्वमा विरलै होलान्  । नाइटेङ्गलको सेवाभाव विश्वसामु परिचित छ । 
तर, यि नेपाली शेर्पा महिला  । उनलाई चिन्ने आधार यति मात्रै ठान्छन् मान्छेहरु । नाम डोमा शेर्र्पा । उमेर ७५ वर्ष । जन्म सोलुखुम्बु । हाल काठमाडौं । जात शेर्पा । हुन पनि सर्सती बुझ्दा उनको देखिने परिचय यति हो । तर, मिहीन तरिकाले बुझ्दा यिनको धेरै परिचय छ । ५ सन्तानकी आमा डोमाले जीवनमा थुप्रै संघर्ष गरेकी छिन्  । जसले उनलाई अहिले समाजसेवीको रुपमा पनि परिचित गराएको छ । शरिरमा ताकत रहुन्जेल उनले गरेको परिश्रमले नै मुहारमा अहिले हर्षका रेखा कोरिएका हुन् । 
०००
आजभन्दा ६० वर्ष अघि, नेपाली समाजमा महिलाको अवस्था कस्तो थियो होला ? महिला घर र भान्छाबाट बाहिर निस्किए सायद गाउ“मा बस्नबाट नै वञ्चित हुनुपथ्र्यो । डोमा भने त्यतिबेला सिक्किममा मजदुरी गर्दै थिईन् । शेर्पा समुदायमा जन्मिएकोले उनलाई घरबाहिर निस्किन त समस्या परेन । तर, काम सजिलो थिएन । अरु समुदायका मानिसले महिलालाई हेर्ने दृष्टिकोण फरक थियो । ‘रोड खन्ने काम गथ्र्यौं ।’ १३ वर्षको उमेरमा सिक्किममा पसिना चुहाउ“दै कुल्ली काम गरेका दिन सम्झि“दै छिन् डोमा । अहिले सम्झि“दा मिठो किस्सा झैं लाग्छ, जतिबेला सुनको भाउ तोलाको एक सय रुपिया“ थियो । डोमा महिना दिनमा हजार रुपिया“ कमाउ“थिन् । त्यो पनि शारिरिक परिश्रमबाट ।
गाउ“घरका साथीहरुको समुहकी नेतृत्व गर्थिन् उनी । कुल्ली काम थालेपछि ठेकेदारको रुपमा आफूलाई उभ्याईन् । सिक्किमबाट भारतको विभिन्न स्थानमा काममा जान थालिन् उनी । स्वस्थ्य शरिर, सायद उनमा नेपाली हिमाशिखरका शितलताले ताकत भरेको थियो । १३ वर्षसम्म सोलुमा गोठमा बसिन् । जहा“ चौंरी चराउने काम मात्रै हुन्थ्यो । दिनरात चौंरी चराएर दुध घिउ जम्मा पार्दा खानमा मात्रै सिमित । परिश्रम ज्यादा गरेर पनि आम्दानी कम भएपछि डोमा पनि साथीहरुको साथ लागेर सिक्किम गएकी थिईन् । शेर्पा समुदायमा महिलालाई कमजोर रुपमा नहेरिने हु“दा उनलाई घरबाट बारिह निस्किन त समस्या परेन । तर, विश्वभरका कार्यस्थलमा अझै महिला पुरुषलाई समान हेरि“दैन । यद्यपी, उनको आत्मबलले पुरुषसमान कुल्ली काम गरेर पनि कार्यस्थलमा स्थापित मात्रै होइन नेतृत्व गर्ने व्यक्ति बनिन्  ।
कुल्लीबाट ठेकेदार बनेपछि सिक्किममा नै होटल सञ्चालन थालेको बताईन् । मान्छे आर्थिक रुपमा दरिलो बन्यो भने सहकर्मी अझ आफन्तले पनि उसलाई सम्मान दिन थाल्छन्  । अहिले पनि अधिकांश महिला पुरुषको कमाइमा निर्भर हुनुपर्ने अवस्थाका कारण पनि महिलामाथि हुने हिंसा अझ बढ्दै गएको पनि भन्ने गरिन्छ । डोमाले पनि त्यहि महसुस गरिन् । ‘पहिलोपल्ट हजार रुपिया“ कमाइ लिएर घर फर्किदा सबैले जिब्रो टोके’ उनी सम्झिन्छिन् –‘सुन नै तोलाको सय रुपिया“ भएको बेला मैले कमाएको हजार रुपिया“ले परिवारमा सबैलँई खुसी दियो ।’
पुरुषको साहरा नलिइ आम्दानीको लागि करिब तीन दशक भारतमा संघर्ष गरिन् डोमाले । तर, उनको संघर्षको कहानी लिपीवद्ध छैनन्  । न त उनलाई दुःखका कहानी लिपीवद्ध गरेर देखाउने मोह नै छ । डोम चाहन्छिन् हरेक व्यक्तिले जीवनको उर्जाकालमा हात बा“धेर बस्नु हु“दैन । जीवनको सुख अनि खुसीको आधार शरिरमा भएको ताकत र सीपलाई अधिकतम उपयोग  हो । घरपरिवार अनि सन्तानको मायामा बा“धिएर जीवनमा सुख हुन नसक्ने सोच्दै बसेपनि पटक पटक परिवारको आग्रहपछि असामाजिक जीवन विताउन उनले चाहिनन् । अन्ततः ३७ वर्षको उमेर बिहे गरेको बताईन्  ।
बिहेपछि पनि श्रीमान्स“गै भारत मै संघर्ष गरिरहिन् । संघर्षको साथी श्रीमान् भएपछि अझ परिश्रम बढ्यो उनको । बिहेपछि पा“च सन्तान जन्मिए । उनीहरुलाई पारिवारिक संस्कार सिकाइन् । ३७ वर्ष भारतमा संघर्ष गरिसकेपछि थाकथलो सम्झिएर अन्ततः नेपाल फर्किए शेर्पा दम्पत्ती । नेपाल फर्किएर पनि हात बा“धेर बसेनन् । ‘भारतमा होटल गरेपनि यहा“चा“ही कपडाको व्यापार ग¥यौं ।’ उनले आफ्नो कामबारे बताईन् । देशको व्यवसायीहरुको लामो लिस्टमा सूचीवद्ध हुनेगरी डोमाले व्यवसाय त गरिनन् ।  न त अरुलाई योगदान गर्छु भनेर नै उनले संघर्ष गरेकी हुन् । शरिरमा ताकत भइन्जेल आफूलाई सबैभन्दा बढि क्रियाशिल हुन रुचाउने यिनले आफ्नो परिश्रमलाई बचत गर्न पनि जानिन् । छोराछोरीलाई हुर्काएर कमाइको केही भाग बचत गर्दै गइन् । उमेरको ७५ औं वसन्त पार गर्न लाग्दा समेत त्यहि कमाइमा आफूलाई चलाइरहेकी छिन् । तीन वर्ष अघि उनका पति स्वर्गे भइसके । आफ्नो पनि उमेर ढल्क“दो छ । शरिरमा दिनदिनै ताकत घट्दै गइरहेको छ । तर, यिनलाई विस्तारै क्षिण हु“दै गएको शक्तिप्रति कुनै चिन्ता छैन । न त आफ्ना सन्तानहरुले यसो र उसो गरे भन्ने चिन्ता नै छ । मनको स्फूर्तीले उनलाई चलाइरहेको छ । त्यसैले लाग्छ, शरिरको कमजोरीलाई मनको स्फूर्तीले जित्छ । यो नै मानव जीवनको सफलताको प्रमुख आधार हो  ।
०००
डोमा हिजोआज समाजसेवामा सक्रिय छिन् । आफ्नो कमाइको केही हिस्सा समाजमा उन्नतीको लागि खर्च गरिरहेकी छिन् ।  अझ भनौं आफ्नो समुदायको उत्थानको खातिर उनको तनमन सक्रिय छ । भर्खरै मात्रै काठमाडौंको बौद्ध गुम्बामा तीनवटा ठूला मूर्तीको प्रतिस्थापन गरेकी छिन् । आफ्नो श्रीमान्को स्मृतीमा मूर्ती प्रतिस्थापन गरेको बताईन् । पतिको नाममा पा“च लाखको अक्षयकोष निर्माण गरि समाजका असाहय व्यक्ति तथा आफ्नो समुदायको उन्नतीको लागि हरेक वर्ष खर्चिरहेकी छिन्  । सोलुखुम्बु, जहा“ आफू जन्मिइन्, त्यहा“का गुम्बाहरुमा हरेक वर्ष पचास हजार रुपिया“को दरले खर्च पनि गरिरहेकी छिन् । उनले हरेक वर्ष गर्ने खर्चमा सन्तानको कमाइ मिसिएको छैन । आफ्नो उर्जाकालमा गरेको आम्दानीबाट गरेको वचतको हिस्सा समाजसेवामा लगाइरहेकी छिन् । त्यसैले हरेक दिन खुसीले उज्यालिएकी छिन् डोमा । अनुहारमा खुसीको चमक छाइरहेको देखिन्छ । ‘मन शान्ति छ । उमेरमा दुःख गरेर जोगाउ“दा भोक लागेको बेला निकालेर कपकप खान पाइन्छ ।’ आफ्नो परिश्रमलाई गरेको उपयोगप्रति अहिले सन्तुष्ट छिन् उनी । जीवनको उत्तरार्धतिर अधिकांश आमाबुबा आफ्ना छोराछोरी प्रति असन्तुष्ट हुन्छन् । खुसी अनि मनको शान्तिको अभावले उनीहरुलाई छट्पटी  दिइरहेको हुन्छ । तर, डोमालाई सन्तानप्रति कुनै दुखेसो र गुनासो पनि छैन । ‘आफ्ना सन्तानलाई भविष्यको बाटो देखाउने कर्तव्य आमाको हो । उनीहरुलाई आफ्नो धर्म सिकाउनुपर्छ । माया दिनुपर्छ । अनि, आफूले पनि चाहिने बेला माया पाइन्छ ।’ जीवनमा एउटी असल आमाको कर्तव्य पनि बुझेकी छिन् उनले । जीवनमा पढ्ने उमेरमा चौंरी गोठालो भएर गुजार्नु प¥यो  । बुझ्ने भएपछि कुल्ली काम । अनि थपियो, परिवारको जिम्मेवारी । त्यसैले जीवनमा केही कुराले दुःखी छिन् भने आफूले सावा“ अक्षर पनि चिन्न नपाएको दुःख भने का“डाजसरी बिझिरहन्छ । ‘पढेको भए केही बढि गर्न सक्थें होला । पढाईको बुद्धि भन्दा अनपढ दिमागले काम गर्नुप¥यो ।’ जीवनका संघर्षलाई खुसीले बेहोरेकी यिनले पढाइलाई पनि जित्ने अनुभव बटुलेकी छिन् । त्यसैले पनि समाजकै आमा बनेर खुसी अनि सुखी छिन् डोमा ।

Sunday, March 17, 2013

पूर्व प्रधानमन्त्री मधवकुमार नेपालको फोटोग्राफी

आँखा र निधारको सामुन्नेबाट फोटो खिच्नुपर्छ 


आफ्नो जीवन, राजनीति र अन्य महत्वपूर्ण घटनाहरुलाई डायरीमा नोट गरी राख्ने बानी छ मेरो । फोटो प्रमाणित इतिहास हो, फोटोले नोटलाई अझ पुष्टी गर्छ । बाल्यकालदेखि नै निसानी राख्ने बानी थियो मेरो । २०३४ सालमा जनकपुरको जलेश्वर जेलबाट छुटें । जेलबाट छुट्दा दाह्री लामो थियो । कपाल पनि पलाएको थियो । मलाई त्यो पनि निसानी राख्न मन लाग्यो । त्यतिबेला भारत हु“दै घर गौर फर्किनुपथ्र्यो । रौतहटको गौरमा आएपछि सीतामडी स्टुडियोमा लामो दाह्री भएको फोटो खिचेर घर फर्किएको थिएँ । 
                     ०००
कुनै पनि दृश्यलाई तस्बिरमा उतार्नुलाई मानिसहरु मनोरञ्जनसँग जोड्छन् । हाम्रो संसकारले मनोविनोदका रुपमा मात्र तस्बिर संकलनलाई लिएको छ । तर, म फोटोलाई इतिहासका अभिलेखहरु जिउँदो राख्ने माध्यम ठान्छु । इतिहास राम्रो वा नराम्रो, रोमाञ्चकारी वा कारुणिक हुन सक्छन् तर, त्यो शिक्षा हो भविश्यका लागि । सामाजिक संस्कारले यो नबुझिदिंदा फोटो संग्रहमा मेरो रुची भए पनि आफ्नो जीवनका सन्तप्त क्षणहरुलाई मैले तस्बिरमा जोगाएर राख्न सकेको छैन । तस्बिर खिच्नु स्मरणहरुलाई जिउँदो राख्नु हो भन्ने कुरा मानिसहरु बुझ्दैनन् । तस्बिर खिच्नुलाई मनोरञ्जनका रुपमा बुझ्ने मान्यताको शिकार म आफैं पनि भएको छु ।  मलाई  आमाको निधन हुँदा तस्बिर खिचेर राख्ने चाहना थियो । हामी सबै भावविह्वल थियौं । सामाजिक मान्यताका कारण मैले आफै क्यामरा लिएर फोटो खिच्न सकिन । मेरो आमाको अनुहार र पार्थिव शरिर दृष्यमा राख्न नपाएकोमा अझै पनि मलाई दुःख लागिरहन्छ ।
पहिले पहिले अहिलेजस्तो डिजिटल सिस्टम थिएन । रिलबाट फोटो खिच्नुपथ्र्यो । सबै फोटो धुलाएर राख्थें । मेरो दराज फोटोले रिएको छ । फोटो एल्बमहरुमा ठाउँको नाम लेखेर राखेको छु । पछिपछि डिजिटल सिस्टम आएपछि भने फोटो धुलाएको छैन । कम्प्युटरमा डाउनलोड गर्छु । देश वा विदेश के हो खुल्ने गरी लेख्छु । नेपाल भित्रको भए स्वदेशको फोल्डरमा भित्र अर्को नाम लेखेर राख्छु । विदेशको भए विदेशको फोल्डरमा राख्छु । ठाउँठाउँमा जाँदा धेरै फोटो खिचिएको हुन्छ । एउटा कम्प्युटरको मेमेरिले पुग्दैन । अहिले ५ सय जिवीको पा“च वटा हार्ड डिस्क फोटोले फूल भइसकेको छ । अस्ति मात्रै आठ सय जिवीको नया“ हार्ड डिस्क किनेर ल्याएको छु । फोटो स्टोर गर्न मैले छुट्टै इमेल आइडी पनि खोलेको छु । त्यो आइडीको ३९ प्रतिशत फोटोले भरिएको छ । 
                                                                        ०००
हरेक घटनाक्रमको फोटोले त्यस वेलाको समय बुझाउन निकै मदत गर्छ । त्यसैले महत्वपूर्ण लागेका कार्यक्रमहरुको पनि म फोटो खिचेर राख्छु आफैंले खिच्न मिल्ने बेलामा आफै खिच्छु, नभए क्यामरा दिएर अर्को मान्छेलाई खिच्न लगाउँछु । घुम्न गएको बेला चा“ही प्राकृतिक मनोरम दृष्यहरुले मलाई तान्छ । केही समयअघि पोखरा गएको बेला सूर्योदयको मनोरम दृष्यको फोटो खिचेको छु  । फोटो हेर्दा हेर्दै भावुक भएँ आफै । एउटा पत्रिकालाई छाप्न दिउँ की जस्तो पनि लागेको छ ।
विदेश घुम्न जाँदा विशेष गरेर समुन्द्री तटको दृष्यले मलाई मोहित गराउ“छ । यसपाली जापानको यात्रामा मलाई त्यस्तै मजा लाग्यो । हामी बिहान ८ बजेतिर समुन्द्रको तटमा पुगेका थियौं । समुन्द्र पानीले टन्न भरिएको थियो । घरको केही भाग पानीमा डुबेको थियो । पछि फेरी २ बजेतिर गयौं पानीको बिहानको सतह स्वत्तै घटेको रहेछ । बिहान उठेको  छाल १२ बजेपछि विस्तारै घटेर जाने रहेछ । दिउ“सो पुग्दाको दृष्य फेरी क्यामरामा कैद गर्दा मलाई असाध्यै मजा लागेको थियो । समुन्द्रमा एउटा छाल आउँछ, त्यसको दृष्य क्लिक ग¥यो, फेरी अर्को बढेर आउँछ, त्यसलाई क्लिक ग¥यो । त्यसरी लगातार क्रम बढ्दै जा“दा घण्टौंसम्म समुन्द्रको तटमा पनि हराउन सक्छु । बाटोमा हि“ड्दै गर्दा हात पसारिरहेको मागिरहेको पीडा र अत्याचारमा परेका व्यक्तिको कष्ट पनि मैले क्यामेरामा कैद गरेको छु । दुःख, पीडा, बेदना फोटोले जस्ताको तस्तै बोलिदिन सक्छ । अनि, नराम्रो नै भएपनि त्यो हाम्रो अमर इतिहासको रुपमा रहन्छ । 
फोटो खिच्न क्यामेराको क्वालिटी पनि राम्रो चाहिन्छ । फोटो त मोबाइलबाट पनि खिच्न सकिन्छ । आइफोन, आइप्याडले पनि फोटो त खिच्छ ।  हेर्दा राम्रोे देखिन्छ, तर, स्तरीय हुँदैन । मलाई राम्रो क्यामराले नै फोटो खिच्न राम्रो लाग्छ । सामसुङ क्यामराको फिक्सल राम्रँे लाग्छ मलाई । प्रोफेशनल फोटोग्राफरले अझ ठूला अनि राम्रँे क्वालिटीको क्यामरा बोक्छन् । मेरो पकेटमा चाँही सानो साइजको सामसुङ क्यामरा हुन्छ ।
                                                                                        ०००
भूमिगत जीवन त्यागेर खुला राजनीतिमा आएपछि मैले फोटो संकलन गर्न सुरु गरेको हुँ । पहिले मसँग ठूलो खालको क्यामरा थियो, रिलबाट चल्ने । २०४७ सालमा म संविधान सुझाव आयोगमा हुँदा, मैले त्यो जापनिज क्यामरा किनेको थिएँ । त्यो मेरो आफ्नो पहिलो क्यामरा थियो । पछिल्लो पटक जापान जा“दा १६ हजारमा सोनी क्यामरा किनें । त्यसपछि हङकङ जाँदा श्रीमतीले मलाई पनि क्यामरा चाहियो भनिन्, उनलाई चाँही क्यानन क्यामरा किनिदिए“ ।
फोटो खिच्दा मान्छेले व्यक्तिलाई मात्रै प्रााथमिकता दिन्छन् । तर, फोटोको महत्वपूर्ण पृष्ठभूमि हुन्छ । कुन पृष्ठभूमीमा खिचिएको हो, प्रष्ट देखिनेगरी खिच्नुपर्छ । पृष्ठभूमि नआए फोटोको कुनै अर्थ हुँदैन । फोटो बाङ्गो खिच्नु हु“दैन । आ“खा र निधारको सामुन्नेबाट फोटो खिच्नुपर्छ । सिधा खिच्दा नआउने फोटोलाई दायाँ बायाँबाट खिच्नुपर्छ । कतिपय फोटोग्राफर पनि फोटोको सामान्य टेक्निकल कुरामा ध्यान नदिइ फोटो खिचिरहेका हुन्छन् । फोटो खिचिरहँदा म उनीहरुलाई कहिलेका“ही सम्झाउने पनि गर्छु । लाइटको अवस्था अनुसार फ्ल्यास अन अफ गर्नुपर्छ । 
                                                                            ०००
मैले नेपालका केही महत्वपूर्ण राजनीतिक इतिहासलाई क्यामरामा कैद गरेको छु । कडा भूमिगत जीवनमा माओवादी रहेको वेला राज्यको प्रतिबन्ध झेल्दै म पहिलो पटक माओवादीस“ग वार्ता गर्न सिलगुढी गएको थिएँ । अर्काे पटक लखनौ गएँ । त्यसवेला मैले वार्ताको फोटो खिच्न लगाएको थिएँ । त्यतिबेला मस“ग क्यामरा थिएन । बाबुरामजीको क्यामराबाट फोटो खिचिएको थियो । तर, मैले बारम्बार अनुरोध गर्दा पनि बाबुरामजीले पछि मलाई त्यो फोटो दिनु भएन ।  दिल्लीमा १२ बुँदे सम्झौंता हुँदाको फोटो पनि खिचेको छु । तर, गिरिजाबाबु हुँदाको फोटो भने छैन । उहाँले आफू बसेको बेलाको फोटो खिच्न दिनुभएन, त्यसैले १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्दाको फोटो छैन । हस्ताक्षर गर्नुअघिको फोटो चाँही छ ।
नेपालको अन्तरिम संविधान घोषणा गर्दा हामी रातभर बैठकमा थियौं । राती कोही निदाएका थिए । कोही सोफामा पल्टिँदै उँघ्दै थिए । मैले ती सबै फोटो खिचेको छु । बिहानीपख बल्ल हामीले काम सकेका थियौं । मैले बाहिर निस्किएर फोटो खिच्न अनुरोध गरें । कोही मान्दै नमान्ने । मानेपनि बाहिर निस्किन समय लगाउने । अनि सबैलाई बल्ल बल्ल बाहिर ल्याएँ । त्यतिबेला फोटो खिचिदिने बाहिरका मान्छे थिएनन् । सबैलाई रेडि पोजिशनमा राखेर क्यामरामा अटो क्लिक सेटिङ गरेर फोटो सुट गरेको थिएँ । आफैंले फोटो खिचेपछि आफ्नो फोटो छुट्ने हुँन्छ । त्यतिबेला मैले खिचेको ऐतिहासिक को फोटो पत्रपत्रिकाहरुले मागेर पनि छापेका थिए । भूमिगत रहेका नारायणकाजी श्रेष्ठको फोटो पहिलो पल्ट बाहिर आएको थियो । 
म मान्छेलाई रोकेर पनि फोटो खिचिहाल्छु । विशिष्ट व्यक्तिहरुस“गको भेटमा जष्ट अ मिनेट भनेर पनि फोटो क्लिक गरिहाल्न मन पर्छ मलाई । ब्राजिलको राष्ट्रपतिस“ग भेट्दा पनि फोटो खिचेको थिए“ । तर, कहा“ हरायो पत्तै पाइन । हिलारी क्लिन्टनस“ग फोटोे खिच्दा पनि त्यस्तै भयो । बाहिरको मान्छे साथमा थिएनन् । मेरो गोजीमा क्यामरा थियो, जष्ट अ मिनेट भनेर अर्कोलाई क्यामरा दिएर फोटो खिचिहालें । बराक ओबामास“ग पनि प्रधानमन्त्री हुँदा भेटमा उनलाई रोकेर नै फोटो खिचें ।
                                                                          ००० 
इतिहास हाम्रो इच्छाले हुँदैन । मानव जातीको इतिहास संघर्षको इतिहास हो । फ्रान्सको एउटा म्युजियममा युद्ध जितिसकेपछि पनि त्यही व्यक्तिलाई खुट्टाले कुल्चिएको र अर्कोलाई घाँटी समातेर रेटेको दृश्य हेरेको थिए“ । त्यो दासयुगको समय झल्काउने दृश्य थियो । पूर्खाहरु यस्तो संघर्षमा यसरी बाँचेका रहेछन् भन्ने कुरा सन्ततीहरुलाई बुझ्न त्यसले मदत गर्छ । त्यतिबेलाको दासयुगको इतिहास नै त्यहि थियो । चित्कार वा वेदनामा रमाउने समाज थियो । दास युगमा जो जित्थ्यो त्यो मात्रै बा“च्थ्यो । जो हाथ्र्यो उसले मर्नै पथ्र्याे । इतिहास बुझ्न ति दृश्यहरुले मदत गर्छन् । कृषि युगमा युद्ध हार्नेलाई दास राखेर उसलाई कृषिको श्रमिकको रुपमा प्रयोग गर्ने गर्दा रहेछन् । त्यही इतिहास अहिले म्युजियममा तस्बिर सहित राखिएको छ । क्रुरता नै किन नहोस्, तस्बिरले त्यो इतिहास बोल्छ । मान्छेले त्यो इतिहासबाट सिक्ने धेरै कुरा छन् । तर, हाम्रोमा इतिहासलाई नकारात्मकताको नाममा नामेट पार्ने प्रबृत्ति हावी भएको छ । 
मैले आजको मितिसम्म धेरै तस्बिर खिचेको छु । अहिले सामान्य लाग्छ, काठमाडौंको फोहोरको तस्बिर खिचेको छु । फोहोरमा खानेकुरा खोजीरहेको मानिसको फोटो खिचेको छु  । अवको दुईसय वर्षपछि हेर्दा यो अनौठो लाग्न सक्छ । लेवनान जाँदा त्यहाँ मैले फ्रान्सको इतिहास हेरेजस्तै ति तस्विर पनि आजको दुई सय वर्ष पछि एउटा इतिहास हुन सक्छ । 


Saturday, March 16, 2013

प्राध्यापक अभि सुवेदीको कलेज लाइफ

आन्दोलन गर्दा आर्मीको कुटाइ खाएँ
अभि सुवेदी
२०१९ सालको कुरा, म तेह्रथुमबाट भर्खरै एसएलसी सकेर मोरङ झरेको थिएँ आइए पढ्न । कलेज हाजिर भएको भोलिपल्ट ‘शिक्षाको विकासमा राजनीतिको भूमिका’ विषयमा वादविवाद प्रतियोगिता रहेछ, अंग्रेजी भाषामा । कलेजको परिवेशसँग राम्रो घुलमिल नभए पनि मलाई त्यसमा भाग लिन मन लाग्यो । अंग्रेजीमा राम्रो छु भन्ने आत्मविश्वास पनि थियो । मैले आफ्नो क्षमता देखाएँ । प्रतियोगिताको साँझदेखि त मेरा अघिपछि साथीहरूको झुन्ड बढ्न थालिहाल्यो नि ।
कलेजका सुरुकै दिनमा पपुलारिटी कमाएपछि म कमिटी बनाउने, आफू पनि विद्यार्थी युनियनमा बस्ने गर्न थालेँ । आवाराजस्तो बनेर युनियनमा लागे पनि पढ्नमा भने सिरियस थिएँ । कविता पनि लेख्थेँ । हाम्रो पढाइ साँझमा हुन्थ्यो त्यतिबेला । कोठा टाढा थियो कलेजदेखि । क्लास सकेर फर्किंदा राति भइसकेको हुन्थ्यो, ट्यार्रट्यार्र भ्यागुता कराउँथे । कोठामा पुगेपछि तिनै परिवेश र अनुभूतिलाई कवितामा उतार्थें ।
बाल्यकालदेखि नै पढ्नमा भने तेज थिएँ । थोरै पढे पनि पुग्थ्यो । क्लासमा सरले पढाएको ध्यान दिएर सुन्ने र एकपटक घरमा दोहोर्‍याएपछि त्यो विषय राम्रोसँग उत्तीर्ण गर्न सक्थेँ । मोरङ कलेजबाट ०२१ सालमा आइए पास गरेँ । त्यतिबेला पूर्वाञ्चल क्षेत्रबाट मेरो सबैभन्दा बढी अंक आएको रहेछ । बढी नम्बर ल्याएको भएर सरकारले महेन्द्र छात्रवृत्तिको पनि घोषणा गर्‍यो ।
बिए पढ्न काठमाडौंको त्रिचन्द्र क्याम्पस आएँ । तर, यहाँ अंग्रेजी पढाइ हुँदैन रहेछ । फेरि धरानै फर्किएँ । तर, कलेज भर्ना हुने म्याद गुज्रिसकेको रहेछ । त्यसपछि पढाइमा ख्याल नगरी हल्लेर दिन काटिरहेको थिएँ । दाइले गाली गर्नुभएपछि भर्ना हुन कर लाग्यो । धरानमा आनन्ददेव भट्टले अंग्रेजी पढाउनुहुन्थ्यो । परीक्षा दिएँ । पास भएपछि बिए भर्ना हुन पाएँ ।
बिए पढ्न थालेपछि अझ अराजक भएर निस्किएँ म । १५/१६ जना साथी बटुलेर अराजकतावादी समूह नै बनायौँ । हामी आन्दोलन गर्न थाल्यौँ । मोडल देश बन्नुपर्छ भनेर हाँकेको आन्दोलनका कारण आर्मीले पक्रेर नराम्रोसँग कुट्यो एकपटक । त्यतिबेलासम्म म आफूलाई राजनीतिक आन्दोलनमा लागेको ठान्थेँ । तर, बिस्तारै लाग्न थाल्यो– म त राजनीतिक होइन, सांस्कृतिक, सामाजिक व्यक्ति रहेछु । त्यति बेलासम्म मैले थुप्रै साहित्य पनि पढिसकेको थिएँ । फ्रेन्च साहित्य बुझ्न थालेको थिएँ । आफँै पनि कविता लेख्थेँ । पढाइसँगै साहित्यतिर तिनै बेलाताका प्रवेश गरेको हुँ । कलेजमा पढ्दा सबै एकैखालका साथी थिएनन् । केटा अनि केटी साथी उत्तिकै थिए । कलेज जीवनमा एकपटक प्रेममा पनि परेँ । तर, व्यक्त गर्न सकिएन । सम्झन्छु, बिए पढ्दा हामी कोसीमा पिकनिक गएका थियौँ । मैले मनपराएकी केटी पनि गएकी थिइन् । उनको नजिक पुग्दा मेरो ढुकढुकी बढ्थ्यो । बोल्न वाक्य नै फुट्दैनथ्यो । त्यो दिन पनि हामी धेरैबेर कोसीतिरमा बस्यौँ । तर, दुवै जना चुपचाप । उनी पनि बोल्न सकिनन्, न त मैले नै मनको कुरा खोल्न सकेँ । अन्तत: प्रेमिल कविता लेखेर सुनाएँ । प्रेमिल शब्दको प्रतिउत्तरमा उनले हेरेको मायालु नजर आजसम्म पनि सम्झिरहन्छु । यद्यपि, मेरो त्यो प्रेम अघि बढ्न सकेन ।
बिएको पढाइ सकेपछि एमए पढ्न त्रिभुवन विश्वविद्यालयमा भर्ना भएँ । यता, त्रिचन्द्रमा बिए पनि पढ्थेँ त्यतिबेलै । काठमाडौं आएर पढ्न थालेपछि साहित्यतिर अझ क्रियाशिल हुन थालेँ । विद्यार्थी युनियनमै बसे पनि म राजनीतिकभन्दा सांस्कृतिक, साहित्यिक क्रियाकलापमा लागिरहेँ । त्यतिबेला अम्बर गुरुङलाई लगेर गीत गाउने, विजय मल्लले लेखेका नाटक कलेजमा मञ्चन गर्ने, केआइ सिंहलगायत नेताहरूसँग सामाजिक सांस्कृतिक विषयमा छलफल चलाउने गर्न थालेँ । कलेज पढ्दैताका हिप्पी कल्चरका बरेमा पनि अध्ययन तथा लेख लेखेको थिएँ । त्रिभुवन युनिभर्सिटीबाट अंग्रेजीमा एमए सकेपछि अमेरिका गएर पनि पढेँ । कलेज पढ्दाका ती रमाइला दिन अझै पनि मेरो स्मृतिमा ताजै छन् । ती दिन जीवनको यात्रा तय गर्ने गोरेटो मात्रै होइन, जीवनकै पाठशाला पनि हुन् । 

एमाले अध्यक्ष झलनाथ खनालको प्रेमयात्रा - "हाम्रो झगडा सामाजिक अन्तर्विरोधको रुप"

एसएलसी पास गरेपछि म आइएस्सी पढ्न त्रि–चन्द्र कलेज आएँ । कलेजमा कतिपय केटी साथी मसँग निकट सम्बन्ध राख्न खोज्थे । पढ्ने निहुँमा किताब साटासाट हुन्थ्यो, यो आपसमा नजिकिने बाहना हुन्थ्यो । केही केटी साथी म्याथ सिकाइदेऊ भनेर नजिकिन कोसिस गर्थे । तर, मसँग ती सम्बन्ध विकसित गर्ने समय थिएन । म क्रान्तिमा सहभागी एक कम्युनिस्ट कार्यकर्ता थिएँ । आइएस्सी पास गरेपछि बुर्जुवा शिक्षाले हुँदैन, सिस्टम नै फेर्नुपर्छ भन्ने निर्णय गरी कलेज छोडेँ र कम्युनिस्ट आन्दोलनमा होमिएँ । कम्युनिस्ट क्रान्तिको जग बसाल्न पूर्वको डलकोट गएँ, पोखरा गएँ । त्यो बेला कम्युनिस्ट आन्दोलन पनि विभाजित थियो । हामी एकीकृत गर्ने पहलमा थियौं । म इलाम गएर जिल्ला कमिटी गठन गरें । ०२६ सालबाट त्यो अभियान थालेका थियौँ । ०३२ सालमा आएर मात्रै कोअर्डिनेसन केन्द्र बनाउन सक्यौँ । कोअर्डिनेसन केन्द्र बनेपछि पार्टीको कामलाई सहज रूपले अघि बढाउने परिस्थिति बन्यो । पार्टीमा कार्यकर्ता थपिँदै गए । संगठन मजबुत हुँदै थियो । त्यति बेला पार्टीमा महिला कार्यकर्ता पनि आउन थालेका थिए । पार्टीमा लागेका अधिकांश कार्यकर्ता युवा थिए, विवाह गर्ने उमेरका । कार्यकर्ताका विवाहबारे पार्टीले सोचिदिनुपर्ने अवस्था थियो । म पनि विवाह गर्ने उमेरको थिएँ ।
०३७ सालमा जेलबाट छुटेपछि म बिहेबारे सोच्न थालेंँ । मेरो सोच अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने थियो । अन्तरजातीय विवाहका लागि अरू कमरेडलाई पनि प्रेरित गर्थें । त्यतिबेला काठमाडौंमा एउटा महिला पंक्ति थियो । त्यो पंक्तिले पार्टीको काम निकै इमानदार भएर गथ्र्यो । हामी पनि उहाँहरूलाई अगाडि बढाउन प्रोत्साहन गरिरहन्थ्यौँ । त्यही समूहमा रविलक्ष्मी चित्रकार पनि थिइन् । हामी भूमिगत हुँदा रविलक्ष्मीको घर हाम्रो अत्यन्त राम्रो सेल्टर थियो । उनको परिवारले हामीलाई निकै सहयोग गरेका थिए । रविलक्ष्मीका दाजुभाइ, बुबा, बहिनीहरूले निकै सहयोग गर्थे । म पनि त्यो घरमा गइरहन्थेँ । त्यही क्रममा उनीसँग मेरो सम्बन्ध नजिकियो । त्यो निकटता बिस्तारै बढ्दै गइरहेको थियो । एमएस्सी पास गरेकी शिक्षिका पनि थिइन् उनी । मलाई उनको व्यक्तित्वले प्रभावित गरेको थियो । मलाइ लाग्यो, अब उनीसँग प्रेमप्रस्ताव राख्नुपर्छ । एकदिन पार्टी कामकै कुरा भइरहेको थियो । मैले त्यही मौकामा परिस्थिति मिलाएर प्रस्ताव गरेँ । तर, उनले जवाफ फर्काइनन् । सोच्न एक हप्ताको समय मागिन् । मलाई भने निकै छटपटी भइरह्यो । कुनै कारण देखाएर अस्वीकृत पो हुने हो कि भन्ने डर लागिरहेको थियो । सात दिन बल्लबल्ल कट्यो । सात दिन पुगेको दिन उनको घरै गएँ । अनि, सोधेपछि जवाफ फर्काइन्, ‘ल ठीक छ ।’
 ०३७ सालको कुरा हो यो । त्यसपछि गुपचुप रूपमा हामीबीच प्रेमसम्बन्ध झाँगिँदै जान थाल्यो । त्यही साल म भारत प्रवास जानुपर्ने भयो । त्यसपछि हामीबीच चिठीमार्फत कुराकानी हुन्थ्यो । त्यति बेला म अभिमन्यू, प्रकाश, बुद्धिरत्न नामले पार्टीमा चिनिन्थेँ । उनले चिठीमा प्राय: ‘प्रिय कमरेड अभिमन्यू’ सम्बोधन गर्थिन् । पत्रमा स्वास्थ्यको ख्याल राख्ने कुरा मात्रै वैयक्तिक हुन्थे । अधिकांश कुरा पार्टीका नै हुन्थे । उनी पार्टीको कोष, खुलेर काम गर्ने अवस्था, खर्चपर्चको व्यवस्था र पार्टीका अप्ठ्याराहरूबारे पत्रमा जिज्ञासा राख्थिन् । पत्र हातमा परेपछि मलाई पढ्न हतार लाग्थ्यो । ढुकढुकी बढेर आउँथ्यो । पत्र पढिसकेपछि आफ्नो च्वाइसप्रति गौरव लाग्थ्यो । त्यति बेलासम्म हाम्रो प्रेम पनि भूमिगत नै थियो । पार्टीका कमरेडहरूलाई भनेका थिएनौँ । पछि बिस्तारै जानकारी दिएँं । त्यति बेला पार्टीको स्वीकृतिमा मात्रै विवाह गर्न पाइन्थ्यो । सबैभन्दा पहिले पार्टीका महासचिव सिपी मैनालीलाई भनेँ । उहाँ मलाई अर्कै महिलासँग विवाह गराउने सोचमा हुनुहुँदो रहेछ । मलाई पछि मात्रै थाहा भयो । हुन त त्यतिबेला धेरै महिलामित्र थिए । उनीहरूसँग नजिक पनि भइयो । तर, प्रेमसम्बन्ध भने रविलक्ष्मीसँग मात्रै भयो । ०३८ सालमा प्रवास छोडेर उपत्यका संगठनप्रमुख भएर काठमाडौं आएँ । उनी पनि त्यति बेला काठमाडौं जिल्ला कमिटीको सक्रिय सदस्यमध्ये पर्थिन् ।
 ०३९ सालको भदौमा हाम्रो पार्टीको १४औँ केन्द्रीय कमिटी बैठक भयो । त्यो बैठकले मलाई महासचिव बनायो । त्यही वर्षको माघमा पार्टीले औपचारिक रूपमा हाम्रो विवाह गरायो । हामीले विवाह गर्दा दुवैका परिवारलाई जानकारी दिएका थिएनौँ । काठमाडौंको एउटा कोठामा बसेर हाम्रो विवाह भएको थियो । विवाहमा दुई सय ३२ रुपियाँ खर्च भयो । उनलाई चुरापोते दिन र साथीभाइलाई जुस र खाजा खुवाएको बिल त्यति मात्रै उठेको थियो । एकसाथ बस्न थालेपछि माइतीलाई थाहा दिनुपर्ने भयो । अनि, उनले घरमा ‘मैले विवाह गरेँ’ भनेर खबर पठाइन् । माइलो जेठान पार्टीकै कार्यकर्ता भएकाले मलाई पनि भन्न सजिलो भयो । परिवारले पनि हाम्रो सम्बन्ध सजिलै स्वीकार गरे । हामीले फेरी परम्परागत विवाह गर्नुपर्ने भयो । म बेहुला भएर जाने र सामान्य टीकाटालो गरेर विवाहको परम्परागत प्रक्रिया पूरा गर्ने निर्णय गर्‍यौँ । पार्टीमा औपचारिक विवाह भएको करिब पाँच महिनापछि फेरि परम्परागत विवाह गर्‍यौँ । म भूमिगत भएको हुनाले मेरो परिवारमा भने यो कुरा पछि मात्रै थाहा भयो । आमा काठमाडौं आउनुभएको बेला पारेर उहाँलाई खबर दिएँ । अनि, बुहारी भेटाएँ । आमाले ‘आफ्नै जातको बिहे गरेको भए हुन्थ्यो’ भन्नुभयो । तर, पछि विस्तारै बुहारी स्वीकार गर्नुभयो ।
 म बालक हुँदा नै हजुरबुबाले ‘जन्तरेले आपैँm बिहे गर्छ, यसलाई पढाइ मात्रै दिनू’ भन्नुभएको थियो । त्यही सम्झेर पनि मेरो परिवारले चित्त बुझाए । विवाहपछि पनि हामी निरन्तर प्रेममा छौँ । कहिलेकाहीँ यसो झगडा पनि नपर्ने होइन । झगडाको कारण हामीबीचको फरक सोचाइ, दृष्टिकोण अनि चाहना हो । तर, यस्तो ठाकठुकले आपसी सम्बन्धलाई अझ दिगो राख्न सहयोग पुर्‍याएजस्तो लाग्छ मलाई । झगडा पर्दा एकदुई दिनसम्म नबोलेर पनि बस्थ्यौँ । अक्सर म नै मौनता तोडेर उनलाई बोलाइहाल्छुु । यो सामाजिक अन्तर्विरोधको सामान्य रूप पनि हो । यस्ता अन्तर्विरोध पतिपत्नीबीच अनिवार्य हुन्छ । महिला–पुरुषबीचको भेद नै एउटा अन्तर्विरोध हो । यसलाई अन्यथा ठान्नुहुँदैन । कहिलेकाहीँ यस्तो ठक्करले चर्को झडपको रूप पनि लिन्छ । एकपटक हामी त्यस्तै झडपमा पर्न लागेका थियौँ, हाम्रो छोराले मध्यस्थकर्ताको भूमिका खेल्यो । र, समाधान भयो । पतिपत्नीबीचको सम्बन्धमा सामान्य भिन्नता त हुन्छ नै । हामीबीच त भिन्नताका आयाम अझ धेरै छन् । अन्तरजातीय विवाह भएकाले हाम्रा सांस्कृतिक भिन्नता पनि धेरै छन् । चाडपर्व मनाउने सवालमा पनि भिन्नता आउँछ । तर, हामी सांस्कृतिक भिन्नतालाई पनि एकआपसमा विवाह गराइदिन्छौँ । यहाँसम्म कि छोरा जन्मिएपछि म छोरासँग नेपालीमा मात्रै बोल्थेँ । उनीचाहिँ नेवारीमा मात्रै बोल्थिन् । छोराले मपट्टि फर्किंदा नेपाली मात्रै बोल्ने, आमापट्टि फर्किंदा नेवारी मात्रै बोल्ने गर्न थाल्यो । यसले उसलाई ‘बाइलिङ्गुइस्टिक’ बन्न सहयोग मिल्यो । छोरालाई स्कुल भर्ना गर्ने बेला पनि हाम्रो त्यस्तै टक्कर पर्‍यो । मेरो चाहना छोराको नाम निर्भिक खनाल राख्ने, आमाको चाहनाचाहिँ निर्भिक चित्रकार राख्ने थियो । म त्यतिबेला भूमिगत थिएँ । छोरा धेरै समय आमासँगै रहन्थ्यो । त्यसपछि छोराको थर चित्रकार नै राखियो । अहिले पनि छोराले नामको पछाडि खनाल चित्रकार दुवै लेख्छ । प्रेम मानव विकासको अभिन्न अंग हो । तर, विवाह प्रेम अभिव्यक्त गर्ने एउटा माध्यम मात्रै हो ।
                                                            000
 विवाहभन्दा निकै माथि हुन्छ, प्रेम । कैयौँ युवायुवती प्रेमसम्बन्धमा बाँधिएका छन् । तर, उनीहरूले अनिवार्य विवाह गर्नुपर्छ भन्ने छैन । विवाहविना पनि प्रेम हुन्छ । मैलेचाहिँ आफ्नो प्रेमलाई बिहेमै रूपान्तरित गरेको छु । विवाहपछि पनि हाम्रो प्रेम निरन्तर छ । प्रेम महिला र पुरुषबीचको गाढा सम्बन्ध अभिव्यक्त गर्ने माध्यम हो । यो माध्यम पनि समाजको विकासप्रक्रिया अनुरूप क्रमिक रूपले विकसित हुँदै गइरहेको छ । त्यसैले प्रेम पनि समयसापेक्ष हुन्छ । प्रेमलाई व्यक्त गर्ने असंख्य रूप छन्, तिनैमध्येको एउटा हो विवाह । अलगअलग जातिमा विवाहसंस्कारका विभिन्न रूप छन् । तर, स्वतन्त्रपूर्वक स्थापित हुने प्रेम प्राकृतिक अवस्थामा मात्रै हुन्छ । समाजले खडा गरेका बन्धन र समाजव्यवस्थाको उपजका रूपमा आएको संस्कारले प्रेमको स्वतन्त्रतामा अवरोध सिर्जना गरेको छ । समाज दासयुग, सामन्ती युग र पुँजीवादसम्म आइपुग्दा निर्माण भएका व्यवस्थाले स्वतन्त्र प्रेममाथि पनि शोषण गरिरहेको छ । सामाजिक बन्धनले प्रेमको अभिव्यक्ति र त्यसको प्राकृतिक नैसर्गिकतामा अवरोध गरिरहेको छ । सही अर्थमा प्राकृतिक अनि स्वतन्त्र प्रेम पाउन अझै शताब्दीऔँ कुर्नपर्ने हुन सक्छ । समाज पूर्णरूपले स्वतन्त्र नभएसम्म प्रेमको पनि स्वतन्त्रता हुन सक्दैन । समाजमा अभूतपूर्व क्रान्तिपछि मान्छेले स्वतन्त्र प्रेम प्राप्त गरेरै छाड्छन् । ती मान्छे नै भाग्यशाली हुन्छन्, जसले स्वतन्त्र प्रेम गर्न पाउँछन् ।