Tuesday, March 26, 2013

हजुरबा महाकवि भन्ने थाहा थिएन

-सुष्मा बडाल, महाकविकी नातिनी 

महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरा मावली हजुरबा । म चार वर्षकी छँदा उहाँ बित्नुभयो । बाल्यकालमा हजुरबुबासँग विताएका स्मृतिका केही धमिला चित्र मात्र मसँग छन् । हजुरबुबाकी जेठी छोरी सावित्रीकी जेठी छोरी मै हुँ । म जन्मिएको दुई महिनामै आमालाई टिबी भएपछि मलाई मामाघर राखिएको रहेछ । म हजुरबुबाकै काखमा हुर्किएँ । हजुरबुबाले मुछेको भात निकै मीठो लाग्थ्यो । मामाघरमा माधवकी आमा भन्ने भान्छे बाहुनी थिइन् । दुई तलामाथि भान्छा थियो । सबै जना बस्ने छुट्टाछुट्टै चौका थिए । कसैले पनि चौका छुन पाउँदैनथ्यो ।
भात पाकेपछि हजुरआमा अगाडि जानुपथ्र्यो । हजुरबुबाले भात खाने ठूलो अनि पातलो चरेसको थाल थियो । थालवरिपरि कचौरामा दूध, घ्यू, तरकारी, अचार राखिएको हुन्थ्यो । हजुरबुबा भातको बीचमा खाल्डो बनाएर सबै चिज खन्याउनुहुन्थ्यो । ढिँडो मुछेजस्तै मुछेपछि त्यो साह्रो डल्लो हुन्थ्यो । मुछिसकेपछि घरका सबैलाई भातको डल्लो बनाएर भाग लगाउनुहुन्थ्यो । हजुरबुबाले मुछेको भात निकै मीठो लाग्थ्यो । हामी त्यही भात पर्खिरहन्थ्यौँ जहिल्यै । हजुरबुबा सबैलाई भाग लगाइदिइसकेपछि एक डल्लो भात आफू खानुहुन्थ्यो । अनि पहेँलो पित्तलको गिलासको दूध पिउनुहुन्थ्यो । मामा र मलाई पनि त्यही दूध पिलाउनुहुन्थ्यो । यत्ति हुन्थ्यो उहाँको खान्की । दुईवटा मामा बितिसकेपछि जन्मिएका मामा र म लगभग एउटै उमेरका थियौँ ।
मामाघरको चुल्होमा मासु लैजान पाइँदैनथ्यो त्यतिबेला । हजुरबुबा घरबाहिर चोकैनेर ओदान हालेर आगो फुक्नुहुन्थ्यो । अनि ठूल्ठूला चौटा बनाएर खसीको टाउको पकाउनुुहुन्थ्यो । हामीलाई चाहिँ भुइँमा दरी ओच्छ्याइदिएर ढाडमा तेल हालिदिनुहुन्थ्यो ।

अनि भन्नुहुन्थ्यो– ‘तिमीहरू जसको ढाडको तेल पहिला सुक्छ उसैले पहिले मासु खान पाउँछ ।’ हामी तेल सुकाउन हतारिन्थ्यौँ । पाकिसकेपछि काँसको कचौरामा एक चौटा मासु अनि झोल हालेर दिनुहुन्थ्यो । त्यो मासुको स्वाद अझै भुलेकी छुइनँ । हजुरबुबा अधिकांश दिन राति मात्रै घर आइपुग्नुहुन्थ्यो । आउँदा उहाँका साथमा थरीथरीका मिठाई हुन्थे । जति रात परे पनि मामा र म कुरिरहन्थ्यौँ । हजुरबुबा घर आएपछि पहिले काम गर्नेहरूलाई मिठाई दिनुहुन्थ्यो, त्यसपछि हामी बच्चाबच्चीलाई ।
उहाँ महाकवि हुनुहुन्थ्यो तर मेरा लागि त्यतिबेला हजुरबुबा मात्र । सात कक्षामा पढ्दा ‘नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ’ भन्ने ‘कोपिला’ कविता पढेपछि मात्रै हजुरबुबा महाकवि हुनुहुँदो रहेछ भन्ने थाहा पाएँ ।

हजुरबुबाले राणाविरोधी पत्रिका छापेपछि उहाँको ज्यान जोखिममा पर्‍यो । कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहहरू मिलेर उहाँलाई बनारस पुर्‍याएका थिए । मैले पछि हजुरआमाबाट सुनेअनुसार उहाँलाई बनारसको एउटा अग्लो घरमा सात तलामाथि लुकाएर राखिएको थियो । त्यतिबेला कृष्ण र प्रकाश मेरा दुई मामा कलेज पढ्ने भइसक्नुभएको थियो । हजुरबुबा बनारस जानेबेला प्रकाश मामाले नराम्रो सपना देख्नुभएको रहेछ । हजुरबाको जुत्ता लुकाइदिएर बनारस नजान अनुरोध गर्नुभएछ । तापनि उहाँ जानुभयो ।
उहाँ बनारस गएपछि घरमा खानेकुरा थिएन । कृष्ण र प्रकाश मामा २४ र २१ वर्षका हुनुहुन्थ्यो, त्रि–चन्द्रमा पढ्नुहुन्थ्यो । पढेर फर्किंदा घरमा खानेकुरा हुन्नथ्यो । हजुरआमाले पनि कताबाट ल्याउनु र † खानेकुरा नभएपछि आन्द्रा बटारिएर दुवै मामा बित्नुभएछ । काजकिरिया गर्न पनि घरमा केही सर्जाम भएनछ । धोतीको फेरोमा बेरेर दुवै मामालाई जलाउन लगिएको रे † दुवै छोरा बितेको तोडमा हजुरआमा पहेँलो बस्त्र, कपालमा रुद्राक्ष बेरी जोगी भेषधारण गरेर हजुरबुबालाई भेट्न बनारस जानुभयो । त्यतिबेला आइमाई मान्छे सजिलै भारत छिर्न संभव थिएन । हजुरआमा महिनौं लगाएर सत्तल र पाटीमा बास बस्दै त्यहाँ पुग्नुभएछ । बनारसमा हजुरबुबालाई भेटेपछि उहाँले घर हिँड्नुस् भन्दा हजुरबुबाले उल्टै ‘बजै तिमी किन आयौ ?’ भन्नुभएछ । दुईवटा छोरा पनि गए, म कसरी बाँच्नु भनेर हजुरआमाले बिलौना गरेपछि हजुरबुबाको जवाफ थियो रे, ‘उनीहरू त देशका छोरा हुन्, देशैले लग्यो । गए त गए मुलुकको लागि गए, चिन्ता गरेर हुन्छ ?’ त्यतिबेला बनारसको अँध्यारो कोठामा बसेर हजुरबुबाले दुई छोराको सम्झनामा ‘चिल्ला पातहरू’ कविता लेख्नुभएको थियो ।
हजुरबुबा काठमाडौं फर्किन नमानेपछि उतैबाट हजुरआमाले राजालाई ‘मेरा पतिलाई झिकाइपाउँm’ भनेर पत्र लेख्नुभयो, अनि उहाँ नेपाल फर्किनुभयो । त्यतिबेला उहाँले बनारसमै बसेर अहिलेको नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठान) को विधान लेख्नुभएको रहेछ । नेपाल फर्किएपछि हजुरबुबाले प्रस्ताव गर्नुभएको विधानलाई महेन्द्र सरकारसहितको बैठकले पारित गर्‍यो । त्यो पुस महिना थियो । मध्यरातसम्म बैठक बसेछ । त्यो विधान मन परेर महेन्द्र सरकारले बीस हजार मोरु दिनुभएको थियो रे †
डिल्लीबजारको पीपलबोट भएर घर फर्किँदै गर्दा एउटा भिखारी ‘हजुर जाडो भयो’ भनेर काप्दै बसेको रहेछ । हजुरबुबा लामो ओभरकोट लगाउनुहुन्थ्यो । भिखारी काँप्दै गरेको देखेपछि आफ्नो कोट खोलेर लगाइदिनुभएछ । कति दिनदेखि खाएको छैन भनेर सोध्नु भएछ । ‘चारदिनदेखि भोकै छु हजुर’, भन्दै भिखारी रोएछ । हजुरबुबाले पोकोमा कति पैसा छ भन्ने ख्यालै नगर्नुभएको हो कि के हो, बीस हजार मोरुको पोको नै भिखारीलाई दिएर हिँड्नुभएछ ।
जुत्ता नलगाएको भिखारीेले ओभरकोट लगाएर हिँडेको देखेपछि पुलिसले शंका गरेर पक्रिएछ । अझ उसको साथबाट बीस हजार रुपियाँसमेत भेटेपछि त पुलिसले चोरै ठानेछ । सोधपुछ गर्दा भिखारीले ‘एउटा मान्छेले दिएको’ भनेछ । डिल्लीबजार चोकमा पूर्ण साहूको मिठाई पसल थियो । हजुरबुबालाई भेट्ने मान्छे हरेक बिहान त्यही पसलमा भरिन्थे । भिखारीबाट लिएको कोट प्रदर्शन गर्दै पुलिस पूर्ण साहूको पसलसम्म पुगेछ । सबैले चिनिहाले– देवकोटाजीको कोट । हजुरबुबालाई पुलिसले सोधेछ– ‘देवकोटाजी यो कोट तपाईंको हो ?’ उहाँले ‘हो’ भन्नुभयो । अनि भिखारी देखाउँदै ‘यो मान्छेलाई चिन्नुहुन्छ ?’ भनेर सोधेछ । हजुरबुबाले ‘चिन्दिनँ’ भन्नुभएछ । फेरि पुलिसले सोधेछ– ‘हिजो तपाईंसँग बीस हजार रुपियाँ थियो ?’ हजुरबुबालाई हेक्कै भएनछ, ‘थिएन’ भन्नुभयो । महेन्द्र सरकारले पैसा दिएको थाहा पाएका साथीहरूले सम्झाएपछि पो बल्ल पो उहाँलाई होस आएछ । अनि सम्झनुभयो, हिजो कोट र पैसाको पोको नै भिखारीलाई दिएको । पुलिसले कोट अनि रकम फिर्ता पनि गर्‍यो । हजुरबुबाको त्यो कोट मैले अझै सुरक्षित राखेकी छु । त्यो ओभरकोटको दाहिनेतिर छातीमा च्यातिएको छ ।
०००
हजुरबुबाको हुक्का देखाउँदै सुस्मा 
हजुरबुबा शिक्षामन्त्री हुँदा म चार वर्षजतिकी थिएँ । मेरा बुबा हजुरबुबाको पिए हुनुहुन्थ्यो । म मामाघरमै बस्थेँ त्यतिबेला । हजुरबुबालाई चुरोट र तमाखु धेरै चाहिने । एक प्रकारले भन्दा उहाँ चेन स्मोकर नै हुनुहुन्थ्यो । बिहानबिहानचाहिँ तमाखु खाने गर्नुहुन्थ्यो । काम गर्ने एकजनाले तमाखुको चिलिममा आगो भरेर ल्याइदिन्थे । हजुरबुबाले तमाखु खानेबेलासम्म कोइलाको राप अलि मरेको हुँदो हो, मलाई ‘नानी कोइला बलेन एकपटक फुकफुक’ भनेर अह्राउनुभयो । एकदिन त आगो फुकिदिँदा मेरो मुखभरी खरानी पर्‍यो । मलाई कम्ती रिस उठेन । सक्दिनँ म फुक्न भनेर झ्यालतिर गएर उभिएँ । म रिसाएको देखेर हजुरबुबा जिस्क्याउन थाल्नुभयो । ‘हेर † मेरो त हुक्का सुनको छ । नलीमा चाँदी राखिएको छ । तेरो बुबाको के छ ?’ भनेर जिस्क्याउनुभयो । हुक्का सुनको त थिएन, पित्तलकै थियो । मलाई जिस्क्याउन मात्रै त्यसो भन्नु भएको थियो । मलाई चाहिँ गरिब भनेर हेपेको बोध भयो र मनमा ईष्र्याको भावना पनि जागेर आयो । मैले पनि भनेँ, ‘हाम्रो घरमा सुनको हात्ती छ, घरै सुनको छ, छानो सुनको छ । हाम्रो सप्पै सुनको छ । हजुरको त हुक्का मात्रै सुनको हो ।’ म भक्कानिँदै बसेकी थिएँ । त्यही बेला बुबा र आमा दुवैजना आइपुग्नुभयो । बुबा आउनेबित्तिकै अँगालो हालेर, ‘हेर्नुस् न, हजुरबुबाले त तेरो बाउको के छ भनिसिन्छ । हजुरले हाम्रो सुनको घर छ भनिस्योस् त बाबा’ भनेर रोएँ । म कराएको सुनेपछि फेरि हजुरबुबाले आमालाई भन्नुुभयो, ‘साबी, तेरी छोरी मसँग झगडा गरिरहन्छे, लैजा यसलाई लगिहाल ।’ मैले भनेँ, ‘मेरो बुबालाई किन त्यसो भनेको त ।’

हजुरबुबा बिरामी भएपछि उहाँलाई कलकत्ता पुर्‍याइयो । त्यहाँबाट ल्याउँदा पनि उहाँ बेहोसीजस्तै हुनुहुन्थ्यो, पागल जस्तै हुनुहुन्थ्यो । उहाँको ओच्छ्यानमा सेतो तन्ना हुन्थ्यो । सेतै च्यादर ओढ्नुहुन्थ्यो सधैँ । कलकत्ताबाट ल्याएपछि उहाँलाई कहिल्यै एक जनाले छोड्न पाएन । कोही मान्छे साथमा भएन भने उहाँ हिँडिहाल्नुहुन्थ्यो । एकदिन अचम्मको घटना भयो । घरमा सबै ढोका लगाएर सुतेका थियौँ । झ्यालढोका सबै बन्द थिए । तर, मध्यरातमा हजुरबुबा बाहिर निस्किनुभएछ । सेतो च्यादर ओढेर डा. चूडानाथ भट्टरायको घरअगाडि बसिरहनुभएको रहेछ, डिल्लीबजार पीपलबोटनजिकै । पीपलबोटमा भूत आउँछ भन्थे मान्छेहरू त्यतिबेला । जण्डवी दिदीका भाइ शम्भु (अहिले नेपाल सरकारको सचिव हुनुहुन्छ) टर्च बालेर घर फर्किँदै हुनुहुँदो रहेछ । हजुरबुबालाई देखेर राति १२ बजे घर ल्याइदिनुभयो । तर, घरको कुनै पनि ढोका खुलेको थिएन । हामी सबै दंग पर्‍यौँ, हजुरबुबा कसरी बाहिर निस्किनुभयो ? हजुरबुबा अस्वाभाविक व्यवहार गर्न थाल्नुभएको थियो ।
म सानै छँदा उहाँ बित्नुभयो, त्यसैले उहाँसँग बिताएका पल धेरै छैनन् । तर, उहाँसँगको अन्तिम स्मृति अझै मेरो हृदयमा ताजा नै छ । हजुरबुबालाई पशुपति लगिएको थियो । त्यसअगाडि उहाँ शान्तभवन अस्पतालमा हुनुहुन्थ्यो । अँध्यारो कोठामा ओच्छ्यानमा सुताइएको थियो । हजुरबुबालाई हेर्न आउनेहरूको भीड थियो । मलाई कसैले काँधमा राखेर बल्लबल्ल हजुरबुबाको नजिक पुर्‍याइदियो । मलाई देखेपछि उहाँले आफू सुतेको बेडमुनि छामछाम–छुमछुम गरेर पित्तलको पाँच पैसा निकाल्नुभयो । अनि, हातमा राखिदिनुभयो । मेरो हातमा पैसा राखिदिएको सेकेन्डभरमै उहाँलाई अस्पतालको बेडबाट पशुपति पुर्‍याइयो । बित्नुभएपछि उहाँलाई ब्रम्हनालमा सुताइएको थियो । म झ्यालबाट सबै क्रियाकलाप हेरिरहेकी थिएँ । भदौ महिनाको भेल आइरहेको थियो बाग्मतीमा । हजुरबबुबालाई ब्रम्हनालमा सुताएपछि हजुरआमा एक्कासि नदीमा हाम्फाल्नुभएको थियो । पछि उहाँलाई कसले समातेर नदीबाट निकाले भन्ने मैले थाहा पाउन सकिनँ । 

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
    2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete