Wednesday, April 10, 2013

नेपाली कन्दरामा छोरीको आत्मा खोज्दै


जापानी नागरिक इसिमारु युजिरो 
कुनै गाउँ । मैलो ड्रेस लगाएकी एउटी बालिका मैलै झोला बोकेर स्कुलतिर दौडिरहेकी छे । बाटोको किनारमा टक्क उभिएर त्यो बालिकालाई नियाल्दै छ एउटा मानिस । निस्सासको नमीठो एउटा झोंकाले उसको अनुहार बढारेर गयो, पलभरलाई । लाग्छ– स्मृतिको कुनै घटनाले उसको मन कुटुक्क खायो पनि । अनुहार खुम्च्याइरहेका चिन्ताका रेखा हटाउन उसले आँखाँभौं तन्काएर आफूलाई सम्हालेजस्तो गर्‍यो, अनि मुहारभरि एक फाँको मुस्कान दौडायो ।

युजिरोको छोरी इसिमारु नोबुकोको तस्विर अंकित कापी 
अनुहारको बान्कीले नै बताउँछ, ऊ नेपाली चाहिँ पक्कै होइन । ढाडमा लम्मेतान परेको झोला र काँधमा लत्रिएको क्यामेरा यथेष्ट छन्, उसलाई विदेशी टुरिस्टको परिचय दिलाउन । बालिका नजिकै आइपुगेकी छे । आफूलाई देखेर मानिस हाँसिरहेको देखेपछि ऊ पनि टक्क अडिन्छे ।
वातावरणभरि लगातार चार–पाँच स्न्याप झिलिक्क–झिलिक्क हुन्छ । यतिखेर काँधको क्यामेरा उसको हातमा आइपुगेको छ, ती बालिकाको मुस्कान क्यामेरामा कैद गरिरहेछ । यो एउटी मात्र बालिका होइन, जसको तस्बिर उसले खिचेको छ । यसअघि पनि उसले यस्ता थुपै्रै नेपाली बालिकालाई आफ्नो क्यामेरामा समेटिसकेको छ । अनि नेपालका यस्ता डाँडापखेरामा सयौँचोटि डुलिसकेको छ ।
जापानी नागरिक इसिमारु युजिरो प्राय: यसै गर्छन्, बालिका अगाडि पर्नासाथ । कुनै हराएको प्रिय वस्तु फेला पारेझैँ उनीहरूको मुहार क्यामेराको स्क्रिनमा हेरिरहन्छन् निरन्तर । ‘एङ्गल–एङ्गलबाट हेर्छु म यी बालबालिकालाई,’ युजिरोले भने । यसो भन्दै गर्दा उनको आँखाको कुनाबाट आँसु रसाइरहेको प्रस्टै देखिन्छ । ‘म यी नेपाली बालिकामा आफ्नी छोरीको मुहारको केही अंश खोजिरहेछु, जो अब मसँग छैनन्,’ पुत्रीवियोगको नमीठो रन्कोले बारम्बार चस्काइरहन्छ उनलाई । एघार वर्ष भएछ, उनकी छोरी इसिमारु नोबुको मृत्यु भएको । छोरीको पार्थिव उपस्थितिको अन्तिम प्रमाण प्राणहीन देहलाई उनले बिदा गरिसके । तर पनि छोरीको आत्मा यतै कतै रहेको भान भइरहँदो रहेछ । प्राय: बालिकाहरूमा आफ्नी छोरीको झल्को अनुभूति गर्छन् उनी, अनि पितृ–ममताले सुमसुम्याउन थाल्छन् । उनले ठम्याएका रहेछन्– ‘दु:खी बालिकाहरूको मुहारमा खुसी ल्याउन सके मेरी छोरीको आत्मा पनि प्रफुल्लित हुनेछ ।’ त्यसैका लागि त नेपाल आइरहन्छन्, उनी बारम्बार । असहाय बालबालिकाको सेवा गर्छन्, तिनै सेवाकार्यमा आफ्नी छोरी बाँचिरहने ठान्छन् । स्कुलस्कुलमा पुगेर बालबालिकालाई सहयोग पुर्‍याउँछन् । कापीकलम र शैक्षिक सामग्री बाँड्छन् । नेपालका पहाडपहाड चहार्छन् । भन्छन्, ‘किनकिन मलाई यहाँका पहाडहरूमा छोरीको आत्मा भेटिन्छ कि जस्तो लाग्छ ।’
बालिकाहरूको प्रफुल्लित मुहार देख्दा उनलाई आफ्नै छोरी हाँसिरहेजस्तो लाग्छ रे † ‘कुनै पनि बालिकाको अनुहार हँसाउँदा मेरो मन सन्तुष्ट हुन्छ, आफ्नै छोरीसँग भेटेजस्तो लाग्छ,’ एउटा अमूर्त अनुभूति, जसले उनलाई चाहिँ असीम आनन्द दिन्छ ।
०००
सन् १९७६ को एक दिन उनकी पत्नी इसिमारु चियोकोले छोरी जन्माइन् । दम्पती असाध्यै खुसी भए । खुसीको रंगमा केही अँध्यारो पनि सँगसँगै मिसियो, छोरी जन्मँदै कलेजोकी रोगी भइछन् । अटर्ची नामक कलेजोरोगको सिकार । यसलाई त्यत्तिकै छाडे केही दिनमै छोरी गुमाउनुपर्ने डाक्टरले बताइदिए, उनीहरू आत्तिए । प्रविधिविकासमा उच्चतम हैसियतको देश जापान । त्यसैका नागरिक उनीहरू । शल्यक्रियामार्फत उनकी पत्नीको कलेजोको केही अंश छोरीको कलेजोमा प्रत्यारोपण गरियो । यसले केही वर्ष थेग्ने रहेछ तर सधैँचाहिँ होइन । भएभरको माया खन्याए इसिमारु दम्पतीले आफ्नी छोरीलाई । तर, २५ वर्ष पुग्दानपुग्दै छोरी बितिहालिन् । ‘जन्मेको तीन हप्ताभित्रै अपरेसन गरेकाले छोरीलाई २५ वर्ष थप बचाउन सकेँ, नत्र त त्यति पनि बाँच्ने सम्भावना थिएन रे †’ उनले चित्त बुझाउन खोजे ।
पछि उनले जापानमै एक नेपालीलाई भेटे । ती नेपालीकी छोरीलाई पनि अटर्चीले भेट्टाएपछि उपचारका लागि त्यहाँ पुगेका रहेछन् । तर, उनले पनि जापानमै आफ्नी छोरी गुमाए । कलेजोरोगी बालबालिकाका अभिभावकको सञ्जालको अध्यक्ष भएर काम गरिरहेका थिए, युजिरो । त्यसै कारण ती नेपालीसँग उनको चिनापर्ची भयो । त्यहीँबाट सुरु भयो, नेपालसँगको उनको नाता । सन् १९९५ को महाभूकम्पका कारण ती नेपाली दम्पतीको ठेगाना हराए पनि युजिरो त्यसको एक वर्षपछि नेपाल आए ।
०००
१९९६ अगस्टको कुनै दिन । झमझम पानी परिरहेको थियो । राजधानीसँगै जोडिएको बनेपाको धनेश्वर प्राविमा पुगे उनी । झिँगटीको छानो भएको विद्यालय, सिमसिमे पानीले कक्षाका आधा विद्यार्थी रुझिरहेका, विद्यालयको भवन पनि ढल्नै लागेको । खाल्डाखुल्डी पनि राम्रोसँग नसम्याइएको भुइँमा पढिरहेका विद्यार्थीहरू । यस्तो अवस्था देखेपछि उनलाई साह्रै पीडा भएछ । त्यहाँको अवस्था जापानका विद्यालयहरूसँग तुलना गरे । अनि अठोट गरे, ‘म यस्ता बालबालिकाका लागि केही न केही त गर्छु नै ।’
‘जापानमा आमा गर्भवती भएको थाहा पाएपछि नगरपालिकाबाट परिवारको अवस्था बुझ्न आउँछन्, घरको रंगसमेत बालबालिका हुर्किनका लागि योग्य हुनुपर्छ, नत्र बालबालिकालाई सरकारी घरमा लगेर हुर्काउनुपर्छ तर यहाँका बालबालिकाको जुन कारुणिक हालत देखेँ, मैले कल्पना पनि गरेको थिइनँ’, युजिरो १६ वर्षअघिको फ्ल्यासब्याकमा फर्किए ।
नेपाल प्रवेश गर्दा त्यति बेला उनको एउटै ध्येय थियो, नेपाली बालबालिकाको स्वास्थ्यस्थिति बुझ्नु । जापानको विसिनोमिया नगरपालिकामा शिक्षा तथा समाजकल्याण विभागको प्रमुख पनि थिए उनी । जापानमा मेसिनसरहको जीवनबाट एक साताको फुर्सद निकालेर नेपाल आएका उनले काठमाडौंका विभिन्न स्वस्थ्यक्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीसँग भेटघाट गरे । तर, बनेपाको धनेश्वर विद्यालयको अवस्था देखेपछि उनले बुझे, ‘शिक्षा र चेतनाको अभावले नेपालका बालबालिकाको स्वास्थ्यमा पर्याप्त रेखदेख नपुग्ने रहेछ ।’ अनि, तानिए शैक्षिक क्षेत्रतर्फ । आफ्नो मासिक तलब बचाउँदै उनले पहिलोपटक धनेश्वर विद्यालयलाई पक्की बनाउन सहयोग गरे । त्यसपछि तीन वर्षसम्म लगातार तीनवटा विद्यालय बनाउन सहयोग गरे, आफ्नै खर्चमा ।
नेपाल आउजाउ गर्ने क्रम चलिरहेकै थियो । सन् २००१ मा उनकी छोरीले जीवन गुमाइन् । निम्नमाध्यमिक तहको मात्रै पढाइ पूरा गरेकी थिइन् छोरीले । जीवनसँगै शिक्षा पनि अपूरै भयो । छोरीको अधुरो शिक्षालाई अन्य निमुखा बालबालिकामार्फत पूरा गराउने सपना देखे उनले । अनि, त्यही सपना नेपाली बालबालिकामा आएर जोडियो ।
विगत १८ वर्षदेखि लगातार नेपालका गाउँगाउँमा शिक्षासेवा गरिरहेछन् उनी । ‘अहिलेसम्म ३६ जिल्लाका विभिन्न स्थानमा एक सय ५३ वटा विद्यालय बनाएँ । एउटा हेल्थ पोस्ट, एउटा लाइब्रेरी र एउटा अनाथ बालआश्रम बनाएको छु’, आफूले सहयोग गरेका विद्यालय र बालबालिकाको सूची हेर्दै बताए उनले ।
जागिरे जीवन सकिँदा हरेक जापानीसँग कम्तीमा १५ देखि २० करोड जापानी येन बचत हुन्छ । तर, ६९ वर्षको उमेरका युजिरोलाई नेपाल आउनका लागि पनि रकम जुटाउन हम्मे पर्न थालेको छ । विद्यालयका लागि खर्च गर्ने रकम जापानका साथीभाइ र शुभचिन्तकहरूसँग सहयोग मागेर जसोतसो जुटाउँछन् । नेपाल आउने खर्चका लागि चाहिँ बचतको अनौठो तरिका सुरु गरेछन् । ‘मैले नेपालकै सिको गरेको हुँ’, आफ्नो बचतको तरिका सुनाउँदै भने, ‘नेपालको लोडसेडिङ देखेपछि मैले पनि दिनमा एक घन्टा अँध्यारोमा बस्ने निर्णय गरेँ । त्यसो गर्दा वर्ष दिनमा तीन लाख जापानी येन बचत हुने रहेछ । त्यही खर्च बाक्सामा जम्मा गरेर नेपाल आउने खर्च जुटाउँछु ।’
०००
मायाको हिसाब गणितीय हुँदैन । नेपालका बालबालिकाको सेवा खर्चको नापतौलले होइन, छोरीको सम्झना र मायाले निर्धारित गरिदियो, यी युजिरोका लागि । आफूले सहयोग गरेका स्कुलका बालबालिकामा मुस्कान देखिएको दिन युजिरो छोरीसँग भेटेको अनुभूत गर्छन् । ‘हरेक स्कुलमा पुग्दा माला लिएर आउँछन् । उनीहरूको अनुहारमा छोरीको मोहडा देखिरहन्छु । तर पनि, बिर्सन खोज्छु छोरीलाई । हाँसेको बाहना गर्छु, छोरीको स्मृति भुल्न ।’ बालबालिका हाँसेको हेरेर छोरी भुल्ने प्रयास कहिलेकाहीँ त यस्तो विस्फोटक पनि बनिदिन्छ, जसले उनलाई एकान्तमा रुवाइदिन्छ । छोरीका प्रसंगमा कुरा गर्दा रसाएका गह पुछेर उनले भने, ‘उनीहरूको अनुहारमा देखिएको अनुहार एक्लै हेरेर धेरैपटक छोरीको स्मृतिमा आँसु बहाएको छु तर आँसु लुकाउँछु, एक्लै भएका बेला मत्रै रुन्छु ।’ नेपाली बालिकाका धेरै तस्बिर जापानमा छोरीको कोठामा लगेर सजाएका छन् रे उनले । कोठामा पुगेर भन्छन् रे, ‘छोरी तिम्रा लागि धेरै साथीहरू बनाइदिएको छु है †’
देह मरे पनि आत्मा रहने विश्वास लाग्छ उनलाई । छोरीको आत्माले नेपालको कुनै पहाडी टाकुरामा पुनर्जन्म लिएको भान हुँदो रहेछ । ‘सायद म बौद्ध धर्म मान्ने भएर होला, छोरीको आत्मा नेपालकै पहाडी कन्दरामा बसेको अनुभूति हुन्छ । कहिलेकाहीँ रमाइला पार्टीहरूमा रक्सी खान लाग्दा पनि हृदयमा एउटा तरंग आइरहन्छ । जहाँ मेरी छोरी बोलिरहेकी हुन्छिन्, ‘बाबा † हजुरले आफ्नो काम भुल्न लाग्नुभयो । म झस्किन्छु अनि मनमनै भन्छु, ‘छोरी तिमीले सुम्पिएको होमवर्क भुलेको छैन ।’
‘जापानमा मेरै उमेरका साथीभाइलाई बुढ्यौलीले छोइसक्यो । स्वास्थ्यको हेरचाह गर्दै जीवन लम्ब्याउनका लागि खानेकुरा रोज्छन् । सुरक्षा अपनाएर मात्रै काम गर्छन् । सफाइमा पनि उत्तिकै सचेत छन् । तर, मलाई भने वर्षको दुईपटक नेपालको धुलोमैलोले तानिरहन्छ । सिंगान बगाउँदै भुइँमा बसेर पढिरहेका नानीहरूले बुबा हाम्रो पढाइमा सहयोग गरिदिनुस् है भनेझैँ लाग्छ । कहिले नेपाल पुगौँ भन्ने हुटहुटी चलिरहन्छ ।’ नेपालप्रति बढेको आकर्षण निरन्तर सुनाइरहेछन् युजिरो, ‘छोरीको नाममा बनेको मन्दिर पनि यही नेपालमै छ । तन जापान पुग्नेबित्तिकै मन नेपालै फर्किन्छ ।’ बुढ्यौलीले शरीर कमजोर बनाए पनि मनोबल बढेपछि चाँजोपाजो मिलाएर नेपाल फर्किनै हतारिन्छन् उनी । काभ्रेको सस्र्युंखर्कमा गाउँलेहरूले उनकी छोरीको सम्झनामा मन्दिर बनाइदिएका छन् । ‘कतिखेर नेपाल पुगेर यहाँका बालबालिकामा छोरीको मुहार पढौँ हुन्छ मलाई, छोरीको आत्माले भनिरहेझैँ लाग्छ, बाबा म यहाँ छु, कहाँ जानुभएको ?’ नेपालका बालिकाहरूमा हुर्किएको छोरीको आत्मप्रेम बाँडे युजिरोले । 

No comments:

Post a Comment