Thursday, August 21, 2014

पितृत्व उर्लिएको त्यो क्षण !

‘नानी पिँडालु खानुस् ।’ मैतबहादुरले उसिनेको पिँडालु ल्याइदिए । सिलाबरको थाल, ठाउँ ठाउँ कुच्चिएको, कुच्चिएको कापमा जमेको फोहोर सफा गरेको थिएन ।  पिँडालु नपखाली उसिनिएको रहेछ ।  पहिल्यै भान्छामा छिरेर हेरिसकेको थिएँ मैले । उसिनेको पिँडालुु भनेपछि हुरुक्कै हुने म । तर, त्यहाँ खान मन सुपिरहेको थिएन । पेटमा भोक थियो । चार घण्टा उकालो चढेर उनको घरमा जो पुगेको थिएँ । मेरो हातमा पिँडालुको थाल राखिदिएपछि उनी पहिलेझैं आँगनको वल्लो छेउमा आए, अनि चोया काढ्न थाले, जसरी पहिले काढिरहेका थिए । मैतबहादुरको आडैमा बसेँ म । उनको मुहार हेरिरहेँ, पिँडालु क्वाप्प खान मन मानिरहेको थिएन । पिँडालु हातमा लिएर केलाएँ, हात उनतर्फ लम्काएँ, ‘बा एउटा तपाई पनि खानुस्’, मानेनन्, नानी तपाईं भोकाएर आउनुभाछ । हाम्रो घरमा ओढाले त्यही ढिँडो हो, अरु खाजा छैन । यै भएनी खानुस् न । म चिन्नु न जान्नुको मान्छे, मेरो भोक कसरी महसुस गरे उनले ? म उल्टै भरिएर आएँ, आफैभित्र । मातापिता सन्तानका मोहडा देखेरै थाहा पाउँछन्, उसलाई के आवश्यकता परेको छ । दुःख या सुख के छ । सायद, अनायसै उनी भित्र रहेको पितृत्व उर्लियो । त्यही पितृत्व पोखेका थिए पिँडालु मार्फत । एकैछिन अघि खान किलकिल लागिरहेको थियो । सबै हरायो । थालको पिँडालु नसकिन्जेल खाइरहें ।
०००
चितवनको कविलास ७, चौकिडाँडा मैतबहादुर चेपाङको घर । दुई वर्षअघि पुग्दा मैतबहादुर दर्दमा थिए । छोरा, बुहारी नाती सहित पाँच जना परिवारका सदस्य एकैपटक गुमाएको दर्द । विषालु जंगली च्याउ खाँदा ज्यान गुमाएका थिए उनका परिवारका पाँच सदस्यले । सदरमुकाम भरतपुर उपचार गर्न पठाएका पाँचै सदस्य निको भएर आउनुको सट्टा सेतो कात्रोमा बेरिएर आए पटक पटक गरेर । दुई वर्ष अघिको दर्दले अहिले पनि रुखो हुन्छन् मैतबहादुर । ८३ वर्षका उनको आँखामा आँशु आउँदैन । त्यतिबेला मलामी गाउँलेहरु एक छिनका लागि उनको मन बुझाएर घर–घर फर्के । बाँचेका दुई नातीमध्ये एक पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले काठमाडौं लगे । एकपटक नाती देखाउन लगेका थिए, सुकिलो, छुँदा नै मयल लाग्लाजस्तो बनाएर । धुलो मैलोमै जीवनको उत्तरार्धमा पुगेका मैतबहादुरलाई नाती कसैले चुँडे झैं लाग्यो सायद । यद्यपी, उसको उज्ववल भविष्यमै खुसी छन्, मैतबहादुर । कान्छो नातीलाई फूपुले राखेकी छिन्, हुर्काउन । दुई वर्षको फेरोमा मैतबहादुर एक्लिएका त छन् नै । एक्लोपनको परिणती होला, हिउंदमा पात झरेको शीक्रो रुखस्तै भएका छन् । पत्नी कमिनी झिस्मिसेमै उठ्छिन्, जाँतोमा ‘सामल’ पिसेर पानी लिन जान्छिन् । दुईघण्टाको  बाटोबाट पानी लिएर आइपुग्छिन् । त्यतिबेलासम्म मैतलात ढिँडो ओढाल्छन् । बुढाले उसिनेका अर्धकल्चो ढिँडो दुई गाँस टिपेर जंगल गोठालो जान हतारो हुन्छ उनलाई । छोराछोरीले छोडेको घरव्यवहार जो सम्हाल्नु छ उनलाई ।
मैतलाल कान उति राम्रो सुन्दैनन् तर, मरेका सन्तानका कैयन स्मृति छल्न खोजे पनि पुराना घटनाहरुका प्रतिध्वनी कानमा बज्रिरहन्न्छन् । लडेर खुट्टामा भएका घाउ पाप्रा लाग्न भ्याएका छैनन् । पाप्रा लाग्न सुरु गरेपनि झिँगा बस्छ, अनि फेरि घाउ बल्झिन्छ । छोरो बुद्धिबहादुर, बुहारी सोमती अनि तीन नाती ‘बिसेक भएर आउँछौं’ भनेर उपचारको लागि गएका थिए । लास बनेर ल्याइए । त्यो घाउजस्तै दुईवर्ष अगाडिको घटना उनको स्मृतीमा ताजा भएर आइरहन्छ । सन्तानका दाहसंस्कारको लागि गएनन् उनी न त एउटाको मुख नै हेरे । ‘बेकारमा माया मात्रै लाग्छ ।’ वियोग पीडामा मायाप्रति नै वितृष्णा जाग्यो उनमा । तर, आज ती मायाका भाव अनायसै उर्लिन्छन् । दिनभर एक्लै आँगन छेउमा बसिरहँदा केके सोचिरहन्छन् कुन्नी ! नातीका ठाउँमा बिरालो आइपुगेर ढाडमा चढ्छ । काखमा सुम्सुम्याउनुको सट्टा भगाउनुपर्छ उनले । छोराले आधा बनाएर गएको घरमा बार लगाउन सकेका छैनन् । तलामाथी सुत्ने आशा अधुरो त रह्यो नै । दुई वर्षअघि छाएको घरको छानो पनि यो वर्ष फेरि नछाए वर्खामा चुहिएर बसिसक्नु हुँदैन । घर छाउन चोया काढ्दैछन् मैतबहादुर । तर, छाउने कसरी बुढेस्कालको तुँवालो लागिसकेको आँखाले भ्याउँदैन । यि सबै सम्झिँदा अनुहारको छाला चाउरिएर कच्याक्कुचुक हुन्छ । सायद छोरा सम्झिएर विह्वल भए । तर, अहँ आँशु आउँदैन । न त पीडा पोख्ने कुनै उपाय नै छ उनको ।
०००
पाँच सदस्यको मृत्युको पीडा फाट्टफुट्ट शब्दमा व्यक्त गर्दै थिए उनी । फागुनको अन्तिम साता दिउँसो करिब तीन बजेको समय । चौकीडाँडामा बतासको चिसो सिरेटो लाग्न थालिसकेको थियो । मैतबहादुर आफ्ना मृत सदस्यका पीडा पोखिरहेका थिए । पीँडालु खाँदै उनका कुरा सुनिरहँदा म भने आफैमा हराउन पुगेछु । मैतबहादुरले सन्तान मोह खोजिरहँदा म भने पिताको न्यानो स्नेह खोजिरहेको थिएँ । उनका शब्दहरु भूलेर आठ वर्षको उमेरमा मलाई छोडेर ‘भगवानको काख’ मा जानुभएका मेरा पिताको स्मृतिमा अनायसै टोलाउन पुगेको रहेछु । ……. नानी, मैतबहादुरले अगाडि केही कुरा भनिसकि आफ्नो पीडाका शब्दको बीट मार्न पो लागेछन्, झल्याँस्स भएँ । मेरो अगाडि आफ्ना सन्तान वियोगमा बाँचिरहेका मैतबहादुर टिठलाग्दा देखिएका थिए, यता मेरो मन ।

Wednesday, August 20, 2014

मृत्यु उद्घोष

death-bodiesपशुपति आर्यघाटपारि एक सत्तलमा बसिरहेछु । मन शान्त बनाउन बेला–बेला पुग्छु म पशुपति क्षेत्र । आर्यघाटवरपरका दृश्यले मृत्युलाई साक्षात्कार गराउने अदृश्य शक्ति मिल्छ सायद । चिताबाट एक मुस्लो धुवाँलाई हावाको झोंक्काले उडाउँदै मेरो अनुहार नजिक ल्यायो । नागबेली आकारमा उड्दै आएको धुवाँले पोलेको मासुको नमीठो गन्ध मेरो नाकमा ल्याएर छाड्यो । नाक खुम्च्याएँ, नमीठो गन्धले अनुहार बिग्रियो । गन्धभन्दा अझ नमीठो स्पर्श हृदयले महसुस गरेझैँ लाग्यो ।
एकैछिन अघि ब्रह्मनालको पानी खुवाइएको त्यो मृत शरीर खरानीमा परिणत भइसकेको थियो । म हेरिरहेको थिएँ, बाक्सामा प्याक गरेर ल्याइएको थियो आर्यघाटमा त्यो  मृत शरीर । रुवाबासी चलिरहेको थियो, आफन्तको । बाक्साबाट निकाल्दा बरफका डल्ला–डल्ला फालेका थिए, आफन्तले । विदेशबाट ल्याइएको ट्याग थियो, बाक्सामा । कुन देश, कुन स्थानबाट के कारणले मृत शरीर आइपुग्यो नेपाल । सायद, अरबी मरुभूमिमा पसिना चुहाएर परिवारलाई रेमिट्यान्स पठाउन विदेश गएका युवा थिए उनी । रुवाबासीका बीच सारा वृत्तान्त सोधेर मृत्युपीडा अझ बल्झाउने साहस गरिनँ । आर्यघाटपारि सत्तलको आडमा बसेर चुपचाप मृत्युको अन्तिम कर्म नियालिरहेँ ।
केहीबेरपछि अर्को मृत शरीर ल्याइयो । आफन्त थिए, रुवाबासी अघिल्लोभन्दा कम थियो । खटमा ल्याइएको त्यो मृत शरीर सानो थियो । सोचेँ, ओहो उमेर नपुग्दै कसको इहलीला समाप्त भयो फेरि ! होइन रहेछ, फुलेको कपालले मेरो अनुमान फेल गर्यो । एक वृद्ध महिला । शरीरका अवयव गलेर जीवन सकिएको थियोे सायद । रुवाबासी कम हुनाको कारण पनि त्यही होला । आर्यघाटको अन्तिम कर्मकाण्डअन्तर्गत ब्रह्मनालको पानी मुखमा राखिदिए आफन्तले । मृत दुई पैँतला बाग्मतीमा चोबलियो । फूल–अबिर चढाइयो अन्तिमपटक । अनि, लगियो चितातिर । त्यसैगरी तेस्रो शव पनि आयो । उही प्रक्रिया अनि  चितामा आगोको ज्वालासँगै अन्तिम अस्तित्व समाप्ती ।
०००
laash-jaalaudaiसाँझ ढल्किँदै थियो । जेठ पहिलो साता । मलाई आर्यघाट छाड्नै मन लागेन । आज किन–किन हृदयमा मृत्यु तरंग गुन्जिरहेको थियो । चिताको रापमा आफँै जलिरहेको भान भइरहेको थियो । सोचिरहेको थिएँ, मान्छे कति कठोर छ । आफँैलाई जन्मदिने आमालाई चुपचाप जलाएर खरानी बनिरहेको हेर्न बाध्य छ ऊ । मृत्युपीडा भोग्नेलाई मात्रै थाहा हुन्छ । हुन त कठोर नबनी उसले सुख पनि त पाउँदैन ।
सोच्दै थिएँ, तीनतिरबाट शंखको मधुर ध्वनिले झसंग बनायो । एकैछिनमा माइकबाट आवाज आयो, ‘असामयिक मृत्यु भएका हाम्रा आफन्तजन, देश÷विदेशमा रहेर मृत्युवरण गर्नुभएका नेपालीलगायत सबैको मृतात्माको शान्तिका लागि हरेक दिन साँझ हामी आरती गर्छौं ।’ आर्यघाट बाग्मती किनारको आरतीमा आफ्ना मृत आफन्तको आत्माले शान्ति पाउने आशामा पनि केही उपस्थित थिए । केही थिए, केवल भक्तिका लागि उपस्थित । आरती सुरु भयो । तीन स्थानमा लहरै थिए पुजारी । धूप बाले । बत्ती बाले । मकलमा बालिएको धूप एकैपटक धुवाँको मुस्लो बनेर आयो । मगमग धूपको वासना आइरहेको थियो । त्यहीबेला तेस्रोपटक ल्याइएको शवलाई जलाउन थालिएको थियो, आर्यघाटको चितामा । चिताबाट पनि धुवाँको मुस्लो एकैपटक निस्कियो । धूपको वासनासहितको धुवाँ र जलेको शरीरको नमीठो मांस गन्धसहितको धुवाँको मुस्लो एकै स्थानमा मिसियो र विस्तारै नागबेली आकार लिएर आकाशमा विलिन भयो । 
आरती चलिरहेकै थियो, भगवान्को नाममा मधुर भजन माइकबाट आइरहेको थियो । मानिसहरू ताली बजाउँदै भक्तिभावमा लीन थिए । वारि आर्यघाटमा रुवाबासी चल्यो । हेरेँ, अर्को शव आएछ अन्तिम समाप्तीका लागि । त्यसैबेला आरतीमा अर्को शंखध्वनि गर्ने समय भयो, उता आर्यघाटमा जीवन समाप्तीको एकोहोर शंखध्वनि बज्यो । दुवैतिरको आवाज एउटै शंखबाट आएका हुन् । तर, कति फरक छ, जीवन सकिएको उद्घोष र आत्माशान्तिको कामनाबीचका दुई आवाजबीच । तुलना गरिरहेँ ।
साँझ छिप्पिँदै थियो । बत्तीको सहारा लिएर मात्रै हिँड्न सकिने भयो । अनायासै सिमसिम वर्षा पनि सुरु भयो । आरती पनि अन्तिम भइसकेको थियो । पानी छल्दै सत्तलको ओतको साहरा लिँदै म फर्किरहेको थिएँ । आँखा अघि मान्छे जलाइरहेको चितातर्फ पुग्यो । मान्छे जलाउने व्यक्ति वर्षामा आगो कम भएर होला, चितामाथि घ्यू थपिरहेका थिए । ह्वार्र ह्वार्र गर्दै शरीर जल्दै थियो । तुलना गरिरहेँ, हरेक दिन मरिरहेका यी आत्माको शान्तिका लागि गरिने कर्म र अन्तिम संस्कारमा गरिने कर्मबीच के फरक छ ? एकातिर मृत्युको उद्घोष, अर्कोतिर मृत्यु सरल छ भन्ने उद्घोष, सायद फरक यत्ति न हो, जीवनको अन्तर्य । 
(published in www.puleso.com, 2071/02/31)
२०७१ जेठ ३१