Thursday, April 11, 2013

वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् "फेरियो पत्रकारिता उस्तै छन् पत्रकार "

वरिष्ठ पत्रकार भैरव रिसाल
मलाई प्रधानमन्त्री टंकप्रसाद आचार्यबाट बोलावट आएको रहेछ । म बेतोडले उनलाई भेट्न दौडिएँ । पुगेको मात्र के थिएँ, उनी त हप्काउन पो थाले, ‘यस्तो नि हुन्छ खबर ?’, उनका हातमा ‘हालखबर दैनिक’ थियो । त्यहीँ लेखिएको एउटा समाचारप्रति उनको आपत्ति रहेछ, जुन मैले नै लेखेको थिएँ । २०१३ सालका ती दिन म हालखबर दैनिकमा रिपोर्टिङ गर्थें । अघिल्लो दिन शनिबार । म साइकल चढेर समाचारको खोजीमा हुइँकिइरहेको थिएँ । अफिसले नै दिएको साइकल । डुल्दाडुल्दै डिल्लीबजारतिर पुगेँ । चारखाल अड्डाको चोकमा खसी काटेर मासु भाग लगाइरहेका रहेछन् । यसो दिमाग खेलाएँ । लाग्यो– यो त समाचारको विषय हुन्छ । अफिस फर्केर लेखी पनि हालेँ । शीर्षक राखेँ, ‘सरकारी अड्डामा मासुको व्यापार ।’ पत्रिकाले पनि बक्स बनाएर छापिदियो । साँझमा निस्किन्थ्यो त्यो पत्रिका । हामी दिनभर रिपोर्टिङ गथ्र्यौं । त्यो समाचारले हल्लीखल्ली मच्चिएपछि प्रधानमन्त्रीले मेरो सातो झार्न बोलाएका रहेछन् । प्रधानमन्त्री आचार्यले हप्काए पनि समाचारको राम्रै प्रभाव भने परेछ । पछि सरकारले नै अड्डापरिसरमा मासु बेच्न रोक लगायो ।
हामीले समाजसँग सम्बन्धित हरेक विषय समाचार हुन्छ भनेर पढेका थियौँ । तर, कुन विषयलाई कति प्राथमिकता दिने भन्ने अभ्यास उति बेला बाक्लो भइसकेको थिएन । पत्रकारिता भर्खर जन्मिएको मात्रै न थियो । कतिपय विषयमा सम्पादक आफैँ पनि अन्योलमा हुन्थे । भारतीय ‘हिन्दुस्तान टाइम्स’ मा छापिएका खबर पढेपछि अचम्म मान्थे, ‘ए यस्तो विषय पनि खबर बन्दो रहेछ है †’ मैले लेखेको मासुको विषयजस्ता समाचार निकै कम बन्थे । पत्रिकाभरि औपचारिक कार्यक्रम, भाषण अनि राजनीतिक विषयकै बोलवाला बढी रहन्थ्यो । प्रजातन्त्र भर्खरै फक्रँदै गरेको त्यो युगमा सानोभन्दा सानो समाचारमा पनि राज्यले रेस्पोन्स गथ्र्यो । सत्तावालामा हुकुमी शैलीको धङधङी बाँकी रहे पनि भित्रभित्रै आफ्ना कमजोरी सुधार्ने तत्परता देखाइरहेकै हुन्थे । तर, अहिले त्यस्तो देखिँदैन । अहिलेका सरकारले समाचारको रेस्पोन्स निकै कम मात्रै गरेका पाइन्छन् ।
त्यतिबेला पत्रपत्रिका थोरै थिए । ब्रोडसिटका नाममा सरकारी गोरखापत्र मात्र थियो । बाँकी दुई/चार पत्रिका निजी स्तरबाट सञ्चालित थिए । नयाँ समाज, कल्पना, दियालो, उज्यालोलगायत पत्रिका दैनिक निस्किन्थे । अहिलेका रिपोर्टरलाई जस्तो रेकर्डर बोकेर हिँड्ने सुविधा हामीलाई थिएन । न त रिपोर्टिङलाई सहज बनाउन छ्यासछ्यास्ती सार्वजनिक यातायात साधनै थिए । पत्रकारको जिउ, मुख, कलम र कापी नै रिपोर्टिङका प्रविधि थिए ।
०००
हिजोआज देख्छु– किसानले दूध बेचेर जीवन बदलेका सफलताका कथा प्राथमिकतासहित छापिएका हुन्छन् । फलफूल बेचेर जीवन धानेका कुराहरू पनि समाचार हुन्छन् । मैले पत्रकारिता थाल्दा त गाउँघरमा फलफूल बेच्नै हुँदैन भन्थे । दूध बेचेर जीवन धान्ने त कल्पनै थिएन । काठमाडौंमा डाक्टरले कुनै बिरामीलाई फलफूल खान प्रेस्क्रिप्सन लेखिदिए असनबाट इन्द्रचोक जाने बाटोमा रहेको पानपसल पुग्नुपथ्र्यो । पान पसलेले साइड बिक्रीको रूपमा फलफूल राखेको हुन्थ्यो । तर, अहिलेजस्तो स्याउ, अनार, अंगुर कहाँ पाउनु । धेरैजसो नास्पाती पाइन्थ्यो । अम्बा, थोरै मात्रामा आँप पनि हुन्थ्यो । फलफूल बोटमै सडाएर सक्ने तर बिक्री गर्नु हुँदैन भन्ने त्यति बेलाको प्रवृत्तिमाथि हामीले पनि समाचार लेखेनौँ । किनकि हामीलाई त्यो समाचारको विषय बन्छजस्तै लाग्दैनथ्यो, एकदमै सामान्य ।
मैले पत्रकारिता थाल्दा नेपालमा ३५ वटा जिल्ला थिए । मुस्किलले ६ प्रतिशत व्यक्ति मात्रै साक्षर । गाउँका छानामा सेतो टिन टल्किएको कुनै एकतले टहरो देखे स्कुल हो भनेर चिनिन्थ्यो । शैक्षिक विकास भर्खरै सुरु हुँदै थियो । छोरी पढाउने चलन बसेकै थिएन । हामीले छोरी पढाउनुपर्छ भनेर पनि समाचार लेखेनाँै । किनकि यी त सोचाइभन्दा निकै परका कुरा थिए, हाम्रै दिमागमा पनि आउँदैनथे । चलनमै नभएको कुरो कहाँबाट फुरोस् फुर्न पनि † देशमा विकास पैटिएकै थिएन । त्यसैले विकासे समाचारहरू प्राथमिकतामा पर्ने कुरै भएन ।
एकथरी मान्छे त पत्रकारितालाई नै ख्यालठट्टा ठानिदिन्थे । यो पनि एउटा पेसा हो भन्ने मानसिकता विकास भएकै थिएन । अहिलेको युगमा त्यो समाजलाई ब्युँताएर चित्रण गर्दा सपना देखेजस्तो मात्रै लाग्छ । स्वास्नीमान्छेलाई जस्तो काम लगाए पनि हुन्छ भन्ने मान्यता थियो । बालविवाह त मामुली कुरा थियो । महिला अन्यायमा परेका कुरा त कहिल्यै पनि निस्किँदैनथे । जात्रामा कसैले अबिर टाउकोमा राखिदिए महिला उसैकी स्वास्नी हुन्थी । रुचिबेगर भए पनि उसले चुपचाप पति स्वीकार गर्नुपथ्र्यो । त्यस्ता इस्यु कहिल्यै समाचार बनेनन् । खान नपाएका, अन्न सकिएका कुरा, जनताले उपचार नपाएका कुरा पनि समाचार बनाउँदैनथ्यौँ । अहिलेका रिपोर्टरले सडकमा गाडीले कुकुर मारेका कुरालाई सामान्य दृष्टिले हेरेजस्तै ।
अपराध समाचारका नाममा पहाडको चोरी र तराईको डकैती मात्र समेटिन्थे उस बखत । दुर्घटना वा विपत्तिमा परेर मान्छे मरेका विषयचाहिँ पहिलो पृष्ठमै छापिन्थे । उति बेला खोलाले बगाएर, चट्याङ परेर, भिरबाट लडेर, ऋतुरोग जस्तै– झाडाबान्ताबाट मान्छे मर्थे । अहिलेजस्तो गाडीले किचेर मर्ने भन्ने थिएन । मुस्किलले एक सय किलोमिटर सडक मात्रै पिच थियो त्यति बेला ।
०००
२०२० सालपछि राससमा काम गर्न थालेँ । त्यो समय नेपाली पत्रकारिताको मध्ययुग लाग्छ मलाई । मान्छेले विस्तारै शिक्षा बुझ्न थाले । हामी पनि विकास पत्रकारिताको धारलाई पछ्याउन सिक्न थाल्यौँ । तर, भनेजसरी विकास पत्रकारिता फस्टाउन सकेन । राज्यले लुकाएका सूचना खोतल्ने ध्याउन्नमै अल्झिए पत्रकारहरू । सरकार पनि सकेसम्म सूचना लुकाउने दाउ छोपिरहन्थ्यो । पत्रकार र राज्यबीच सूचना खोतल्ने र लुकाउने यही द्वन्द्वभित्र अल्झिरह्यो पत्रकारिता पनि । समाजका अरू कुरा हेर्नै पाएन । हामीसँग स्रोत साँघुरो थियो । पुन:पुष्टि गर्ने केही सरकारी सूचना मात्रै हुन्थे । नत्र, सर्वसाधारणले जे भने त्यसैमा विश्वास गर्नुपर्ने । कुनै पनि विषयमा विशेषज्ञताप्राप्त व्यक्तिको अभाव थियो ।
सम्झन्छु, राससमा चिफ रिपोर्टर हुँदा मैले राष्ट्रिय योजना आयोगको एउटा समाचार लेखेको थिएँ । आयोगका उपाध्यक्षसँग लामो कुरा गरेँ । उनले आन्तरिक कुरा पनि गरेका थिए । सरकारले योजना आयोगलाई बेवास्ता गरेको जस्ता उति बेला सजिलै प्राप्त नहुने जानकारी उनले खोलिदिए । मैले राससमा लेखिहालेँ । भोलिपल्ट गोरखापत्रले फस्र्ट न्युज बनायो, रेडियो नेपालको पनि हेडलाइन बन्यो । भोलिपल्ट सूर्यबहादुर थापाले मलाई बोइलाहाले । उति बेलाका प्रधानमन्त्री । मनलागी लेख्ने भन्दै गाली गर्न थाले । प्रधानमन्त्रीका अगाडि त आयोग उपाध्यक्ष पनि मैले भैरवलाई छाप्नका लागि भनेकै थिइनँ भनेर चोखिन खोजेछन् । पछि मैले भनिदिएँ, ‘तपाईं सरकारको जिम्मेवार पदमा बसेको मान्छे अनि म पत्रकार । देशलाई घाटा लाग्ने गरी जिम्मेवार सरकारी निकायमा भएको अनियमितताबारे किन लेख्न नहुने ?’ हुन त त्यस्ता समाचार लेख्दा कसैले ‘वाइयात लेख्नुभएछ’ भने पनि मजा लाग्ने रहेछ । किनकि त्यो लुकाउन खोजिएको राष्ट्रहितविपरीतको सूचना थियो । त्यसपछि त सूर्यबहादुर थापाले राससमा निर्देशनै दिएछन्, ‘संसद्को रिपोर्टिङमा भैरव रिसाललाई नपठाउनु, म डाइलुट गर्न सक्दिनँ ।’ यसको अर्थ हामी पत्रकारिताको मध्य युगमा राज्यसँग नै लडिरह्यौँ । सूचना खोजिरह्यौँ ।
जनमत संग्रहका बेला स्याङ्जामा गोली चल्यो, मान्छे पनि मरे । हामीले राससमा समाचार राख्यौँ । भोलिपल्ट सरकारले त्यसको खण्डन गर्न लागायो । हामीले पनि सरकारले मान्छे हताहती नभएको पुष्टि गर्ने स्रोत खुलाए मात्र खण्डन प्रकाशन गर्ने बतायांैँ । तर, सरकारले दिएन । विनास्रोत जबर्जस्ती समाचारको खण्डन गर्नुपर्‍यो । तर, मान्छे मार्ने अपराधी कहिल्यै अपराध पचाएर बस्न सक्दैन । केही दिनपछि सरकार आफैँले उक्त अपराध सकार्‍यो । सरकारी सञ्चारमाध्यमभित्रै पनि सरकार र सञ्चारमाध्यमको निष्पक्षताबारे पटकपटक विवाद उठिरहन्थ्यो । २०४२ साल वैशाखमा मैले राससबाट राजीनामा दिएँ ।
०००
पत्रकारितामा समाजको बिम्ब आउँछ । तर, यसबाट पनि बढेर पत्रकारिताले समाजको टर्चलाइटको काम गर्नुपर्छ । समाजभन्दा एक कदमअघि हुनुपर्छ, पत्रकारिता । समाज र आम सर्वसाधारणको लागि हुनुपर्छ । हामीले यही यथार्थ मनन गरेर २०५४ सालदेखि सामुदायिक रेडियो सगरमाथा सुरु गरेका हौँ । हरेक जिल्लामा एउटा सामुदायिक रेडियोको नारा नै बोकेर अगाडि बढ्यौँ । तर, अहिले सामुदायिक रेडियो पार्टीका भएका छन् । हरेक जिल्लामा शक्तिशाली दलका पक्षमा खुलेका छन् रेडियोहरू । सञ्चारमाध्यमको अविश्वसनीयताले गर्दा पत्रकारको नैतिकतामाथि प्रश्न उठ्न थालेको छ ।
पत्रपत्रिकामा पनि विज्ञापनको फाँट मात्रै हुन्छन् । हामीले पत्रकारिता सुरु गर्दा विज्ञापन भनेकै सरकारका सूचना मात्रै हुन्थे । पत्रकारले कहिल्यै प्रभावित भएर समाचार लेख्दैनथे । तर, अहिले एक पक्षको चाहनामा समाचार निस्किएका हुन्छन् । पत्रकारिताको भाषा पनि सर्वसाधारणले बुझ्ने कमै हुन्छन् । पढेलेखेकाले मात्रै बुझ्ने भाषा हुन थालेको छ । अर्कोतिर, मालिकको हितमा पत्रकारिता अघि बढेको छ । यसले गर्दा श्रमजीवीको अधिकार कटौती हुन्छ, समाचारको विश्वसनीयता पनि घट्दै छ ।
हालखबर दैनिकमा प्रवेश गर्दा एक सय रुपियाँ तलब तोकिएको थियो । तीन महिनापछि त्यसमा २५ रुपियाँ थपिदिए । तर, पूरा तलब एकैपटक लिएको निकै थोरैपटक मात्रै छ । दश/बीस रुपियाँ गरेर तलब पूरा हुन्थ्यो । त्यही रोग अझै पनि पत्रकारितामा बाँकी नै छ । त्यतिबेला र अहिले केही फरकचाहिँ अवश्य छ । उति बेला मालिकसँग रिपोर्टरका रूपमा म बाहेकको विकल्प थिएन । त्यसैले काम लगाएपछि तोकिएको तलबसुविधा पूरा दिनैपथ्र्यो । अहिले पत्रकारितामा जनशक्ति धेरै छन्, मालिकले छानीछानी राख्न पाउँछ । पत्रकार आफ्नो स्वार्थअनुकूल चलिदिएन भने घुक्र्याइरहन पाउँछ । जीविकाको सबालअघि निरीह भएर इमानदारिता र श्रम सबै मालिकको लगामअनुसार चलाउन विवश हुन्छन्, अहिलेका निष्पक्ष र इमानदार पत्रकार पनि । त्यसैले त समाजविकासको तहसँगै पत्रकारिताको विकास भए पनि पत्रकारको अवस्था भने उस्तै छ ।

Wednesday, April 10, 2013

नेपाली कन्दरामा छोरीको आत्मा खोज्दै


जापानी नागरिक इसिमारु युजिरो 
कुनै गाउँ । मैलो ड्रेस लगाएकी एउटी बालिका मैलै झोला बोकेर स्कुलतिर दौडिरहेकी छे । बाटोको किनारमा टक्क उभिएर त्यो बालिकालाई नियाल्दै छ एउटा मानिस । निस्सासको नमीठो एउटा झोंकाले उसको अनुहार बढारेर गयो, पलभरलाई । लाग्छ– स्मृतिको कुनै घटनाले उसको मन कुटुक्क खायो पनि । अनुहार खुम्च्याइरहेका चिन्ताका रेखा हटाउन उसले आँखाँभौं तन्काएर आफूलाई सम्हालेजस्तो गर्‍यो, अनि मुहारभरि एक फाँको मुस्कान दौडायो ।

युजिरोको छोरी इसिमारु नोबुकोको तस्विर अंकित कापी 
अनुहारको बान्कीले नै बताउँछ, ऊ नेपाली चाहिँ पक्कै होइन । ढाडमा लम्मेतान परेको झोला र काँधमा लत्रिएको क्यामेरा यथेष्ट छन्, उसलाई विदेशी टुरिस्टको परिचय दिलाउन । बालिका नजिकै आइपुगेकी छे । आफूलाई देखेर मानिस हाँसिरहेको देखेपछि ऊ पनि टक्क अडिन्छे ।
वातावरणभरि लगातार चार–पाँच स्न्याप झिलिक्क–झिलिक्क हुन्छ । यतिखेर काँधको क्यामेरा उसको हातमा आइपुगेको छ, ती बालिकाको मुस्कान क्यामेरामा कैद गरिरहेछ । यो एउटी मात्र बालिका होइन, जसको तस्बिर उसले खिचेको छ । यसअघि पनि उसले यस्ता थुपै्रै नेपाली बालिकालाई आफ्नो क्यामेरामा समेटिसकेको छ । अनि नेपालका यस्ता डाँडापखेरामा सयौँचोटि डुलिसकेको छ ।
जापानी नागरिक इसिमारु युजिरो प्राय: यसै गर्छन्, बालिका अगाडि पर्नासाथ । कुनै हराएको प्रिय वस्तु फेला पारेझैँ उनीहरूको मुहार क्यामेराको स्क्रिनमा हेरिरहन्छन् निरन्तर । ‘एङ्गल–एङ्गलबाट हेर्छु म यी बालबालिकालाई,’ युजिरोले भने । यसो भन्दै गर्दा उनको आँखाको कुनाबाट आँसु रसाइरहेको प्रस्टै देखिन्छ । ‘म यी नेपाली बालिकामा आफ्नी छोरीको मुहारको केही अंश खोजिरहेछु, जो अब मसँग छैनन्,’ पुत्रीवियोगको नमीठो रन्कोले बारम्बार चस्काइरहन्छ उनलाई । एघार वर्ष भएछ, उनकी छोरी इसिमारु नोबुको मृत्यु भएको । छोरीको पार्थिव उपस्थितिको अन्तिम प्रमाण प्राणहीन देहलाई उनले बिदा गरिसके । तर पनि छोरीको आत्मा यतै कतै रहेको भान भइरहँदो रहेछ । प्राय: बालिकाहरूमा आफ्नी छोरीको झल्को अनुभूति गर्छन् उनी, अनि पितृ–ममताले सुमसुम्याउन थाल्छन् । उनले ठम्याएका रहेछन्– ‘दु:खी बालिकाहरूको मुहारमा खुसी ल्याउन सके मेरी छोरीको आत्मा पनि प्रफुल्लित हुनेछ ।’ त्यसैका लागि त नेपाल आइरहन्छन्, उनी बारम्बार । असहाय बालबालिकाको सेवा गर्छन्, तिनै सेवाकार्यमा आफ्नी छोरी बाँचिरहने ठान्छन् । स्कुलस्कुलमा पुगेर बालबालिकालाई सहयोग पुर्‍याउँछन् । कापीकलम र शैक्षिक सामग्री बाँड्छन् । नेपालका पहाडपहाड चहार्छन् । भन्छन्, ‘किनकिन मलाई यहाँका पहाडहरूमा छोरीको आत्मा भेटिन्छ कि जस्तो लाग्छ ।’
बालिकाहरूको प्रफुल्लित मुहार देख्दा उनलाई आफ्नै छोरी हाँसिरहेजस्तो लाग्छ रे † ‘कुनै पनि बालिकाको अनुहार हँसाउँदा मेरो मन सन्तुष्ट हुन्छ, आफ्नै छोरीसँग भेटेजस्तो लाग्छ,’ एउटा अमूर्त अनुभूति, जसले उनलाई चाहिँ असीम आनन्द दिन्छ ।
०००
सन् १९७६ को एक दिन उनकी पत्नी इसिमारु चियोकोले छोरी जन्माइन् । दम्पती असाध्यै खुसी भए । खुसीको रंगमा केही अँध्यारो पनि सँगसँगै मिसियो, छोरी जन्मँदै कलेजोकी रोगी भइछन् । अटर्ची नामक कलेजोरोगको सिकार । यसलाई त्यत्तिकै छाडे केही दिनमै छोरी गुमाउनुपर्ने डाक्टरले बताइदिए, उनीहरू आत्तिए । प्रविधिविकासमा उच्चतम हैसियतको देश जापान । त्यसैका नागरिक उनीहरू । शल्यक्रियामार्फत उनकी पत्नीको कलेजोको केही अंश छोरीको कलेजोमा प्रत्यारोपण गरियो । यसले केही वर्ष थेग्ने रहेछ तर सधैँचाहिँ होइन । भएभरको माया खन्याए इसिमारु दम्पतीले आफ्नी छोरीलाई । तर, २५ वर्ष पुग्दानपुग्दै छोरी बितिहालिन् । ‘जन्मेको तीन हप्ताभित्रै अपरेसन गरेकाले छोरीलाई २५ वर्ष थप बचाउन सकेँ, नत्र त त्यति पनि बाँच्ने सम्भावना थिएन रे †’ उनले चित्त बुझाउन खोजे ।
पछि उनले जापानमै एक नेपालीलाई भेटे । ती नेपालीकी छोरीलाई पनि अटर्चीले भेट्टाएपछि उपचारका लागि त्यहाँ पुगेका रहेछन् । तर, उनले पनि जापानमै आफ्नी छोरी गुमाए । कलेजोरोगी बालबालिकाका अभिभावकको सञ्जालको अध्यक्ष भएर काम गरिरहेका थिए, युजिरो । त्यसै कारण ती नेपालीसँग उनको चिनापर्ची भयो । त्यहीँबाट सुरु भयो, नेपालसँगको उनको नाता । सन् १९९५ को महाभूकम्पका कारण ती नेपाली दम्पतीको ठेगाना हराए पनि युजिरो त्यसको एक वर्षपछि नेपाल आए ।
०००
१९९६ अगस्टको कुनै दिन । झमझम पानी परिरहेको थियो । राजधानीसँगै जोडिएको बनेपाको धनेश्वर प्राविमा पुगे उनी । झिँगटीको छानो भएको विद्यालय, सिमसिमे पानीले कक्षाका आधा विद्यार्थी रुझिरहेका, विद्यालयको भवन पनि ढल्नै लागेको । खाल्डाखुल्डी पनि राम्रोसँग नसम्याइएको भुइँमा पढिरहेका विद्यार्थीहरू । यस्तो अवस्था देखेपछि उनलाई साह्रै पीडा भएछ । त्यहाँको अवस्था जापानका विद्यालयहरूसँग तुलना गरे । अनि अठोट गरे, ‘म यस्ता बालबालिकाका लागि केही न केही त गर्छु नै ।’
‘जापानमा आमा गर्भवती भएको थाहा पाएपछि नगरपालिकाबाट परिवारको अवस्था बुझ्न आउँछन्, घरको रंगसमेत बालबालिका हुर्किनका लागि योग्य हुनुपर्छ, नत्र बालबालिकालाई सरकारी घरमा लगेर हुर्काउनुपर्छ तर यहाँका बालबालिकाको जुन कारुणिक हालत देखेँ, मैले कल्पना पनि गरेको थिइनँ’, युजिरो १६ वर्षअघिको फ्ल्यासब्याकमा फर्किए ।
नेपाल प्रवेश गर्दा त्यति बेला उनको एउटै ध्येय थियो, नेपाली बालबालिकाको स्वास्थ्यस्थिति बुझ्नु । जापानको विसिनोमिया नगरपालिकामा शिक्षा तथा समाजकल्याण विभागको प्रमुख पनि थिए उनी । जापानमा मेसिनसरहको जीवनबाट एक साताको फुर्सद निकालेर नेपाल आएका उनले काठमाडौंका विभिन्न स्वस्थ्यक्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीसँग भेटघाट गरे । तर, बनेपाको धनेश्वर विद्यालयको अवस्था देखेपछि उनले बुझे, ‘शिक्षा र चेतनाको अभावले नेपालका बालबालिकाको स्वास्थ्यमा पर्याप्त रेखदेख नपुग्ने रहेछ ।’ अनि, तानिए शैक्षिक क्षेत्रतर्फ । आफ्नो मासिक तलब बचाउँदै उनले पहिलोपटक धनेश्वर विद्यालयलाई पक्की बनाउन सहयोग गरे । त्यसपछि तीन वर्षसम्म लगातार तीनवटा विद्यालय बनाउन सहयोग गरे, आफ्नै खर्चमा ।
नेपाल आउजाउ गर्ने क्रम चलिरहेकै थियो । सन् २००१ मा उनकी छोरीले जीवन गुमाइन् । निम्नमाध्यमिक तहको मात्रै पढाइ पूरा गरेकी थिइन् छोरीले । जीवनसँगै शिक्षा पनि अपूरै भयो । छोरीको अधुरो शिक्षालाई अन्य निमुखा बालबालिकामार्फत पूरा गराउने सपना देखे उनले । अनि, त्यही सपना नेपाली बालबालिकामा आएर जोडियो ।
विगत १८ वर्षदेखि लगातार नेपालका गाउँगाउँमा शिक्षासेवा गरिरहेछन् उनी । ‘अहिलेसम्म ३६ जिल्लाका विभिन्न स्थानमा एक सय ५३ वटा विद्यालय बनाएँ । एउटा हेल्थ पोस्ट, एउटा लाइब्रेरी र एउटा अनाथ बालआश्रम बनाएको छु’, आफूले सहयोग गरेका विद्यालय र बालबालिकाको सूची हेर्दै बताए उनले ।
जागिरे जीवन सकिँदा हरेक जापानीसँग कम्तीमा १५ देखि २० करोड जापानी येन बचत हुन्छ । तर, ६९ वर्षको उमेरका युजिरोलाई नेपाल आउनका लागि पनि रकम जुटाउन हम्मे पर्न थालेको छ । विद्यालयका लागि खर्च गर्ने रकम जापानका साथीभाइ र शुभचिन्तकहरूसँग सहयोग मागेर जसोतसो जुटाउँछन् । नेपाल आउने खर्चका लागि चाहिँ बचतको अनौठो तरिका सुरु गरेछन् । ‘मैले नेपालकै सिको गरेको हुँ’, आफ्नो बचतको तरिका सुनाउँदै भने, ‘नेपालको लोडसेडिङ देखेपछि मैले पनि दिनमा एक घन्टा अँध्यारोमा बस्ने निर्णय गरेँ । त्यसो गर्दा वर्ष दिनमा तीन लाख जापानी येन बचत हुने रहेछ । त्यही खर्च बाक्सामा जम्मा गरेर नेपाल आउने खर्च जुटाउँछु ।’
०००
मायाको हिसाब गणितीय हुँदैन । नेपालका बालबालिकाको सेवा खर्चको नापतौलले होइन, छोरीको सम्झना र मायाले निर्धारित गरिदियो, यी युजिरोका लागि । आफूले सहयोग गरेका स्कुलका बालबालिकामा मुस्कान देखिएको दिन युजिरो छोरीसँग भेटेको अनुभूत गर्छन् । ‘हरेक स्कुलमा पुग्दा माला लिएर आउँछन् । उनीहरूको अनुहारमा छोरीको मोहडा देखिरहन्छु । तर पनि, बिर्सन खोज्छु छोरीलाई । हाँसेको बाहना गर्छु, छोरीको स्मृति भुल्न ।’ बालबालिका हाँसेको हेरेर छोरी भुल्ने प्रयास कहिलेकाहीँ त यस्तो विस्फोटक पनि बनिदिन्छ, जसले उनलाई एकान्तमा रुवाइदिन्छ । छोरीका प्रसंगमा कुरा गर्दा रसाएका गह पुछेर उनले भने, ‘उनीहरूको अनुहारमा देखिएको अनुहार एक्लै हेरेर धेरैपटक छोरीको स्मृतिमा आँसु बहाएको छु तर आँसु लुकाउँछु, एक्लै भएका बेला मत्रै रुन्छु ।’ नेपाली बालिकाका धेरै तस्बिर जापानमा छोरीको कोठामा लगेर सजाएका छन् रे उनले । कोठामा पुगेर भन्छन् रे, ‘छोरी तिम्रा लागि धेरै साथीहरू बनाइदिएको छु है †’
देह मरे पनि आत्मा रहने विश्वास लाग्छ उनलाई । छोरीको आत्माले नेपालको कुनै पहाडी टाकुरामा पुनर्जन्म लिएको भान हुँदो रहेछ । ‘सायद म बौद्ध धर्म मान्ने भएर होला, छोरीको आत्मा नेपालकै पहाडी कन्दरामा बसेको अनुभूति हुन्छ । कहिलेकाहीँ रमाइला पार्टीहरूमा रक्सी खान लाग्दा पनि हृदयमा एउटा तरंग आइरहन्छ । जहाँ मेरी छोरी बोलिरहेकी हुन्छिन्, ‘बाबा † हजुरले आफ्नो काम भुल्न लाग्नुभयो । म झस्किन्छु अनि मनमनै भन्छु, ‘छोरी तिमीले सुम्पिएको होमवर्क भुलेको छैन ।’
‘जापानमा मेरै उमेरका साथीभाइलाई बुढ्यौलीले छोइसक्यो । स्वास्थ्यको हेरचाह गर्दै जीवन लम्ब्याउनका लागि खानेकुरा रोज्छन् । सुरक्षा अपनाएर मात्रै काम गर्छन् । सफाइमा पनि उत्तिकै सचेत छन् । तर, मलाई भने वर्षको दुईपटक नेपालको धुलोमैलोले तानिरहन्छ । सिंगान बगाउँदै भुइँमा बसेर पढिरहेका नानीहरूले बुबा हाम्रो पढाइमा सहयोग गरिदिनुस् है भनेझैँ लाग्छ । कहिले नेपाल पुगौँ भन्ने हुटहुटी चलिरहन्छ ।’ नेपालप्रति बढेको आकर्षण निरन्तर सुनाइरहेछन् युजिरो, ‘छोरीको नाममा बनेको मन्दिर पनि यही नेपालमै छ । तन जापान पुग्नेबित्तिकै मन नेपालै फर्किन्छ ।’ बुढ्यौलीले शरीर कमजोर बनाए पनि मनोबल बढेपछि चाँजोपाजो मिलाएर नेपाल फर्किनै हतारिन्छन् उनी । काभ्रेको सस्र्युंखर्कमा गाउँलेहरूले उनकी छोरीको सम्झनामा मन्दिर बनाइदिएका छन् । ‘कतिखेर नेपाल पुगेर यहाँका बालबालिकामा छोरीको मुहार पढौँ हुन्छ मलाई, छोरीको आत्माले भनिरहेझैँ लाग्छ, बाबा म यहाँ छु, कहाँ जानुभएको ?’ नेपालका बालिकाहरूमा हुर्किएको छोरीको आत्मप्रेम बाँडे युजिरोले । 

कस्तो हुन्छ वियोगको वेदना ?

-प्रचण्ड मल्ल, वरिष्ठ नाट्यकर्मी 
‘संसारमा आज जे देख्छौँ, त्योभोलि हुँदैन र देखिँदैन किनकि यो संसार नाशवान छ’, गीताको यो भनाइसँग बुद्धवाणीले पनि तादात्म्य राख्छ– ‘मृत्यु सत्य हो, जन्मँदै ल्याएको ।’ तर, कति गाह्रो छ यो सत्य स्वीकार गर्न । ईश्वर पनि कति चतुर † एउटा मान्छेलाई अर्कोको मनभित्रको कुरा थाहा पाउन नसक्ने बनाइदियो । सायद, मृत्युसत्य स्वीकार गर्न सहज होस् भनेर होला । मेरो मनमा के चलिरहेको छ अर्कोलाई के थाहा ! गर्न सकिने अनुमान मात्रै हो । यदि मसँग त्यो क्षमता हुँदो हो त मेरी स्नेहलतालाई कति पीडा भएको थियो, आफैँ थाहा पाउने थिएँ । माघको २७ गते बिहान साढे ५ बजे दु:खद खबर आउनुपूर्व नै दौडिएर ऊ भए ठाउँपुग्दो हुँ । तर, ऊ एक्लै भित्रभित्रै खिइरही, पीडामा रन्थनिइरही अनि चिरनिद्रामा गई । मैले केही थाहा पाइनँ । अहिले सम्झिन्छु, नाटकजस्तै यो जीवन ।

ओहो , कति डरलाग्दो हुन्छ माया । मायाको चरम सीमा, सायद पत्नीसँगको वियोगको यो क्षणमा म अझ तिखो गरी महसुुस गरिरहेको छु । मैले पहिलोपटक ‘लैला–मजनु’ नाटक हेरेको थिएँ । मजनुको शरीरमा खटिरा आउँछ । वैद्यसँग मजनुले भन्छ, ‘वैद्यराज मेरो शरीरभरि लैला–लैला छ । मेरो कणकणमा लैला व्याप्त छ । कुनै यस्तो ठाउँ छैन, जहाँ लैला भेट्नुहुन्न । त्यसैले वैद्यराज छुरा नचलाउनुस् । कतै लैला पनि चिरिइन् भने । मेरो घाउ चिर्दा लैला काटिन्छिन् ।’ ओहो , कति माथि थियो त्यो माया † आज म लैलामजनुको प्रेमिल नाटक आफ्नै वियोगान्त जीवनसँग तुलना गरिरहेको छु ।
सतीदेवीको मृत शरीरसमेत बोकेर भौँतारिइरहे महादेव । हेर्नुस् त कति उच्च छ त्यो माया । हाम्रो पनि प्रेमविवाह थियो । बिहेको ४७ वर्षपछि माघ २७ गते मेरी पत्नीको देहान्त भयो । यो वियोग खेप्न निकै कठिन परिरहेको छ । चुरोटको धूवाँजस्तै यो पीडा पनि आकाशगंगामा कतै विलीन भइदिने भए † (चुरोट तानिरहेका उनका आँखाको चेपबाट आँसु सुसाइरहेको देखिँदै छ ।) तर, मैले स्मृतिका पलहरू जीवन्त बनाउँदै पीडा खेप्नुको विकल्प छैन ।
यो यात्रामा कयौं नाटक लेखेँ, अभिनय अनि निर्देशन गरेँ । अभिनयमा पनि मृत्युको वेदना सहेको छु । तर, त्यो फगत रंगमंचका लागि मात्र थियो । त्यो क्षणिक वेदनासँग अहिलेको वेदना साट्न पाए † मेरी स्नेहलता रंगमंचमा पर्दा खसेसँगै जुरुक्क उठेर भन्ने थिइन्, ‘रंगमंचको अभिनयलाई प्रधानता दिएर चिन्ताले यसरी आफूलाई खोक्रो बनाउने हो त ?’ म यथार्थमा छु अहिले । कति भिन्नता छ यथार्थ र अभिनयमा † यद्यपि जीवन एउटा साक्षात् रंगमंच हो, यसमा हामी वास्तविकताको अभिनय गरिरहेका छौँ ।
म केटाकेटीमा राम्रो गीत गाउँथे । सर्लाहीमा नहर बनाउन सरकारको साइट राखिएको थियो । बुबासँगै उतै थिएँ म पनि । बुबाका हाकिमहरू मलाई पैसा दिएर गाउन लगाउँथे । म लाजले भुतुक्कै हुन्थेँ । त्यतिबेला चलचित्रको खुब सोख थियो । सायद त्यही सोख अन्तत: नाट्यप्रेममा रूपान्तरण भयो । २००९ सादलेखि रंगमंचको संसारमा प्रवेश गरेको हुँ । काठमाडौं आइसकेका थियौँ त्यतिबेला । गाईजात्रा, इन्द्रजात्राका नाटक हेर्न खुब रुचि लाग्थ्यो । तर, मेरो परिवारमा अभिनय गर्ने कोही थिएनन् । दाजुहरू विदेश गएर पढेका । म भने दिनभर नाटक हेर्थें अनि घरको कोठामा ठूलो स्वरले नाटकमा भनेका कुरा दोहोर्‍याएर अभिनय गरिरहन्थेँ । पढ्न मनै लाग्न छोड्यो । स्कुल हिँडेको मान्छे नाटक हेर्न पुग्थेँ । बिहान ७ बजे निस्किएर साँझ आठ बजे घर फर्किन्थेँ ।
नाटकबाट कमाइ गर्ने अवस्था थिएन त्यतिबेला । त्यसैले मेरो चाला बुबालाई चित्त बुझेनछ– ‘नाटक गरेर कसरी परिवार पाल्छस् ? नाटक सिकेर नोकरी पनि पाइँदैन †’ तर, मैले आफ्नो धुन छोड्दै छोडिनँ । टेर्न छोडेपछि बुबाले पनि भन्न छोड्नुभो । एक दिन साहिँला दाजुले भन्नुभो– ‘नौटंकी गर्दै हिँड्छस् ? लौ लुगा फेरेर तयार हो ।’ मेरो ढुकढुकी बढ्यो– ‘लौ दाजुले हेडमास्टरकहाँ पुर्‍याउने भए, आज रामधुलाई भेटिनो भो †’ भनेको मान्नु त परी नै गो, खुरुखुरु दाइको पछि लागेँ । तर, उहाँले हेडमास्टरको घरतिर लैजानुभएन । ज्ञानेश्वर पुर्‍याउनुभयो, बालकृष्ण समको घरमा । उहाँ बरन्डामा बसेर दाह्री काट्दै हुनुहुँदो रहेछ । दाजुले ‘दर्शन–हजुर’ भन्नुभयो ।
‘ओहो † सुरेन्द्रजी, आज कहाँबाट के कामले आइपुग्नु भो त ?’
‘म आज एउटा जन्तु लिएर हजुरकहाँ आएको !’
बालकृष्ण समले यताउता हेर्नुभयो– ‘खोइ देख्दिनँ त कहाँ छ जन्तु !’
मतिर देखाउँदै दाजुले भन्नुभयो– ‘हजुर यही हो जन्तु ।’
सम मज्जाले हाँस्नुभयो । ‘अनि, किन ल्याउनुभएको त उहाँलाई यहाँ ?’
‘यो नौटंकी गर्दै हिँड्छ, पढ्न पनि जाँदैन । नाटक हेरेर अभिनयको नक्कल गर्छ । त्यसैले हजुरको छत्रछायामा ल्याइदिएको ।’
समले भद्र भएर भन्नुभयो– ‘हुन्छ नि त †’ उहाँले मेरो नाम सोध्नुभयो अनि भोलिपल्ट पाँच बजे आउन भन्नुभयो । मैले टाउको हल्लाएँ । उहाँको नाम सुनेको थिएँ, साक्षात्कार यो नै पहिलो थियो ।
भोलिपल्ट गएँ, उहाँले मलाई परिवारसँग परिचय गराइदिनुभयो । मेरो नाटक सिक्ने यात्रा उहाँकै घरबाट सुरु भयो । नियमित जान्थेँ । उहाँको घरमा नाटक सिकाउने ठूलो कोठा थियो । कलाकारहरू समकै घरमा बस्थे । समका छोराछोरी सबैको प्यारो हुन थालेँ म । समले मलाई कहिल्यै ‘तिमी’ सम्बोधन गर्नुभएन । उहाँ पत्नी, छोराछोरी सबैलाई सधैँ ‘तपाईं’ भन्नुहुन्थ्यो । समका बुबा पनि नाटक सिकाउनुहुन्थ्यो । त्यहाँ मैले नाट्यकला, निर्देशन, अभिनय सिक्ने मौका पाएँ ।
समसँगको संगतले मलाई नाट्यक्षेत्रमा अनुशासित बनाउँदै लग्यो । फलस्वरूप २०११ सालमा ‘अमरसिंह’ नाटकमा अभिनय गर्ने मौका पाएँ । उहाँको परिवारमा छोरा, जेठी छोरी, ज्वाइँ सबै अभिनय गर्नुहुन्थ्यो । उहाँकी पत्नी र कान्छी छोरी वेशभूषा र शृंगारको काम गर्नुहुन्थ्यो । मैले ‘अमरसिंह’ मा सिपाहीको भूमिका पाएँ । त्यही दिन प्रचण्डमान मल्लबाट प्रचण्ड मल्लमा परिणत भएँ । समकी पत्नी मन्दाकिनी, सम मलाई चुरोट दिनुहुन्थ्यो । हामीले त्यो नाटक सिहंदरबारको नाचघरमा मंचन गर्‍यौँ । निकै उत्कृष्ट थियो, सिहंदरबार नाचघर । २०२३ साल असोजमा सिंहदरबारमा आगो लाग्दा नाचघर पनि जल्यो ।
‘अमरसिंह’ राष्ट्रभक्तिले ओतप्रोत गहकिलो नाटक थियो । त्यो नाटक मंचनपछि हामीलाई इन्डियाका विभिन्न ठाउँबाट पनि बोलाए । तर, दार्जिलिङ र खर्साङमा मात्रै देखायौँ । त्यसपछि समले नेपाली कलामण्डल गठन गर्नुभयो । समजी त्यतिबेला तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनुहुन्थ्यो । म भने पुरातत्त्व विभागमा अफिसर इन्चार्जको काम गर्थें । त्यो थाहा पाएपछि उहाँले मलाई दुई सय रुपियाँ तलबमा प्रज्ञाप्रतिष्ठान बोलाउनुभयो । नाटक सिकाउने काम दिनुभयो ।
बालकृष्ण समसँग २००९ सालदेखि उहाँको मृत्युपर्यन्त नाट्यकलाबारे सिकिरहेँ । उहाँ आफूले तयारी गरेको नाटकको अभिनय देखाउन पनि मलाई बोलाउनुहुन्थ्यो । मलाई अगाडि राखेर अभिनय गर्न थाल्नुहुन्थ्यो, ठ्याक्कै रंगमंचकै जस्तो । हाउभाउ, फिलिङ सबै आउँथ्यो उहाँको रिहर्सलमा । बीचमा केही बिग्रियो भने मैले ‘हजुर’ भनेपछि उहाँ थाहा पाइहाल्नुहुन्थ्यो, संवाद बिग्रिएछ । ‘लौ कस्तो राम्रो, पकड्नुभयो’ भन्दै एकै छिन सम्झनुहुन्थ्यो अनि फेरि उही फिलिङ्समा अभिनय गरिहाल्नुहुन्थ्यो । मलाई पनि आफ्नो कलाबाट सिक्न प्रेरित गरिरहनुहुन्थ्यो । शैली सभ्य हुन्थ्यो । भन्नुहुन्थ्यो– ‘तपाईं पनि आफ्नो निम्ति ध्यान दिनुस् है ।’
उहाँले नाटक सिकाउँदा कहिल्यै गाली गर्नुभएन । बरु, ‘यसो गर्नपाए कसो होला ?’ भनेर सुझाउनुहुथ्यो । सय बढी नाटकमा खेलेँ । उहाँकै प्रेरणाबाट मैले रंगमंचसम्बन्धी दशवटा पुस्तक प्रकाशन गर्न सकेको हुँ । २०१७ सालमा ‘क्रान्तिकारी कृष्ण’ देखि सुरु भएको निर्देशनयात्रामा २ सय ५० भन्दा बढी नाटक निर्देशन गरिसकेँ । अहिले कोठा सम्मान र कदरपत्रले भरिएको छ । साथमा समजीको तस्बिर छ । मेरा सबै सम्मान नाट्यसम्राट समजीलाई समर्पित गरेको छु ।
एकपटक हृदयचन्द्र सिंह प्रधानको ‘कीर्तिपुरको युद्धमा’ नामक एकांकी नाटक निर्देशन गरेको थिएँ । नाचघरमा सो थियो । समजी टिकट किनेर मेरो नाटक हेर्न आउनुभएछ । उहाँ अग्रपंक्तिमा बसिरहनुभएको रहेछ । म भित्र बसेर कलाकारलाई उत्साहित बनाइरहेको थिएँ । नाटक सकिएपछि दर्शकदीर्घाबाट परर्र ताली बज्यो । समजी मंचमा आउनुभयो । अनि मसँग हात मिलाउँदै भन्नुभयो– ‘प्रचण्डजी, मैलेभन्दा तपाईंले गरेको निर्देशन उत्कृष्ट लाग्यो मलाई ।’ मेरो वाक्य नै फुटेन । हर्षले विभोर हुँदै त्यो पुरस्कारलाई हृदयभित्र सम्हालेर राखेँ । उहाँले हामीसँग तस्बिर पनि लिनुभयो । २०२९ सालको त्यो उत्साह आज पनि ममा उत्तिकै जीवित छ ।
कलाकार नाटकमा धेरैपटक जन्मछ, धेरैपटक मर्छ । आफूभित्र अरू नै कुनै पात्र परिदिन्छ । फरकफरक रूपमा जीवन फेरिरहन्छ । तर, वास्तविक जीवन कति फरक हुन्छ † एक व्यक्ति ‘च्याँहाँ’ आवाजसँगै धर्ती टेक्छ, युवा हुन्छ, प्रौढ हुँदै चिताको अन्तिम यात्रा तय गर्छ । यो जीवनको यथार्थ हो । २०३८ सालमा आदरणीय गुरुको अन्तिम यात्रासँग साक्षात्कृत भएँ म, एक महिनाअघि पत्नीको । प्रिय व्यक्तिका विछोडले दिलाउने असह्य पीडाबीच कल्पन मन लाग्छ– जीवनको यथार्थ पनि रंगमंचजस्तै भइदिए मेरा प्रियहरू एकैछिनको मृत्यु अभिनयपछि फेरि बौरिएर आउने थिए !

Sunday, April 7, 2013

संगीतको भावभूमि

घाम भर्खर डुबेको छ, तारा उदाएका छैनन्, क्षितिज दृश्यमा रुख, विरुवा र पहाडका पाश्र्वचित्र हेरिरहेको मानिस उदास–उदास हुन्छ । उदासी मनस्थितिले हृदयमा संगीतको एक तीक्ष्ण भंmकार सिर्जना गरिदिन्छ । तारा नउदाएको क्षितिज हेरिरहेको मानिसको परिकल्पित मनोदशाले संगीतको एक धुन सिर्जना हुन्छ त्यो गोलाकारमा उड्दै उड्दै माथि जान्छ । अनि तयार हुन्छ संगीतले लछप्पै भिजेर हृदय तरंगित गर्ने परिपूर्ण गीत । कवि भीमदर्शन रोकाको एक कवितामा संगीत दिनुअघि घाम डुवेर तारा नउदाएको त्यही आकाश हेरेकी थिइन् गायिका लोचन भट्टराईले । भीमदर्शनका शब्दहरू लोचनको संगीतका भावभूमी बने, त्यसपछि उनको हृदयमा ध्वनित भयो संगीत:
एक्लै एक्लै उदास उदास छु म
घाम डुबी तारा नउदाएको आकाश हुँ म…†

शब्द र संगीतको आत्मीय मिलन जसमा हृदयलाई अल्हादित गर्ने सामथ्र्य हुन्छ । भनिन् लोचन भट्टराईले ‘गीतमा कसरी संगीत भर्ने मैले बाटो पाउन सकेकी थिइनँ, भीमदर्शन रोकाको मुक्तकको त्यही अंशको परिकिल्प्ति वातावरणले एकदिन एक्कासी मेरो हृदयबाट संगीत निस्कियो ।’ शब्दहरूको भावमा डुब्न सक्नेले मात्र संगीतमा हृदयस्पर्शको तीक्ष्णता सिर्जना गर्न सक्छ । यो तत्त्वज्ञान लोचनलाई नारायणगोपालले सिकाएका हुन् । स्वरमा जादुयी मुच्र्छना भएका नारायणगोपाल उनलाई ठूल्छोरी भनेर बोलाउँथे र संगीत सिर्जनामा लाग्न प्रेरणा दिन्थे । नारायणगोपाल लोचनलाई बारम्बार भनिरहन्थे ‘ठूल्छोरी † एउटा कुरा सुन, तिमीसँग साहित्यको ज्ञान छ । शास्त्रीय संगीत पनि जानेकी छौ । स्वरलिपीमा पनि पोख्त भइसकेकी छ् यौ । अब, तिमी आफैले संगीत भर्ने गर्नु ।’
नारायणगोपालले भनेका कुरा अहिले लोचनको स्मृतिमा बल्झिन्छ, साँच्चै भाव बुझेर संगीत भर्दा गीतले जीवन पाउने रहेछ । ‘अहिलेसम्म सात सय ५० वटाजति गीत गाएकी छु । १० वटा एल्बम निकालेकी छु । गीतको स्तर मापन महत्त्वपूर्ण ठानिनँ । तर, हिजोआज शब्दको स्तरले मात्रै मेरो गायनको भाव जागृत हुन्छ ।’
स्वाद थाह नपाए पनि सन्तुष्टिको अनौठौ अनुभूति दिने ध्वनितरंग हो संगीत । पानीको स्वाद कसले परिभाषित गर्न सक्छ ? तर, तिर्खाएका बेला पानीबाट मिल्ने सन्तुष्टि † यही हो संगीतबाट मानिसले पाउने आनन्द । शब्द र संगीतको मिलनभूमी पनि यही सन्तुष्टि हो । लोचनले मुनामदन गाइन्, भीमदर्शनका गजल गाइन्, लय भरिन्, लेखनाथका फुटकर कविता गाइन्, अहिले इटहरीका एक अपांग बालकको कवितामा संगीत भर्दै छिन्, जो आँखा देख्दैनन्, कान सुन्दैनन् । तर, उनले रचेका कवितामा देवकोटाको तहको साहित्यिक अभिव्यक्ति पाउँछिन् लोचन । संगीतमा शब्द छनोटको यो कला उनले नारायणगोपालबाटै पाएकी हुन् ।

०००
०४३ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक गायन प्रतियोगितामा पहिलो भएपछि लोचनको जीवनमा एक दिन यस्तो आयो, त्यो दिन रेडियो नेपालबाट फोन आउँछ उनलाइ– ‘लोचन तिमीलाई नारायण गोपालले बोलाउनुभएको छ ।’ उनी भगवान् नै मान्थिन् नारायणगोपाललाई । ‘मैले विश्वासै गर्न सकिनँ, नारायणगोपालले नै बोलाउनुभएको ।’ नारायण गोपालले स्वर्णिम सन्ध्यामा गाउनको लागि बोलाएका रहेछन् । भोलिपल्ट गइन् उनलाई भेट्न ।
‘अगाडि परेपछि ढुकढुकी साह्रै बढ्यो । मलाई विद्धानसँग बोल्न अनि मूर्खसँग संगत गर्न साह्रै डर लाग्छ’ यसैगरी डराइन् लोचन पनि एक विद्वान् संगीतज्ञसँग बोल्न ।
सानो छोरालाई पनि उनले सँगै लिएर नारायणगोपाललाई भेट्न गएकी थिइन् । भन्छिन् उनी, ‘दाइको अगाडि परेपछि डरले आत्तिएकी थिएँ । के भनेर बोल्ने जस्तो लागिरहेको थियो । नमस्ते भनौँ की, के भनौँ जस्तो भइरह्यो । रेडियो नेपालको सानो स्टुडियोमा उहाँ हुनुहुन्थ्यो । हार्मोनियम अगाडि थियो । मैले गएर चुपचाप हात जोडेँ । उहाँ पनि बोल्नुभएन बस्ने इसारा गर्नुभयो । छोरालाई एउटा टुलमा राखेर म अर्कोमा बसेँ । दाइले हार्मोनियम बजाइरहनुभएको थियो । एकछिन्पछि हार्मोनियम बजाउँदै पुराना आर्टिस्टको केही गीत, भक्तराज अनि दीप श्रेष्ठ, अरुणा लामाको स्लो गीत गाउन सक्छौ भनेर सोध्नुभयो । मैले मुन्टो हल्लाएर आउँछ भने । मलाई रिहल्र्सल गराउनुभएन । किन छिटो विश्वास गर्नुभयो थाहा छैन । त्यही दिनको पहिलो सम्बोधनमा मलाई ठूल्छोरी भन्नुभएको थियो । सँधै म उहाँको ठूल्छोरी नै भइरहेँ । रिहल्र्सल नगरी उहाँसँग तारादेवीको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो… गाएँ, जीवनको हरेक मोडमा… अनि मुनामदनको गीतमा डबल गायौँ ।’
शब्दहरूलाई अनुभूत गरेर गाउने र शब्दहरूलाई छाम्ने क्षमता पनि लोचनको त्यहीँबाट विकास भयो । उनले नारायणगोपालसँग संगत त दुई वर्ष मात्र गरिन् । लोचनले देखिन् पन्ना पल्टाएर हातले छाम्दै एक लाइन पढेपछि गीतको स्तर बुझिहाल्थे नारायणगोपाल । ‘गीतमा भावना आउनुपर्छ, फिलिङ गरेर गाएको गीतले उत्कृष्ट स्थान पाउँछन् भनेर उहाँबाटै सिकेकी हुँ । शास्त्रीय संगीत बुझाउने पनि उहाँ नै हो’ लोचनले भनिन् ।
नारायणगोपालले त्यसबेला भनेका केही कुराहरू जिस्केको भैँm लाग्थ्यो लोचनलाई । आपैँm संगीत भर्न उनी भनिरहन्थे लोचन के भनेको होला जस्तो ठान्थिन् । नारायणगोपालले एक दिन घरमै बोलाएर जोड गरेरै भने, ‘म जिस्केको होइन, तिमीलाई साहित्यको रस थाहा छ, संगीतको लिपी बुझेकी छौ, अब आपैँm संगीत भर्न थाल । मैले भनेको मानिनौ भने संगीतकारहरूको घर धाउँदा–धाउँदै तिमी बूढी हुन्छ्यौ ।’
त्यतिबेला लोचनले त्यसलाई सिरियसरूपमा लिइनन् अहिले आएर लाग्न थालेको छ । शब्द र संगीतको मिलनभूमीले नै गीतको स्तर निर्धारण गरिदिन्छ । शब्द ठोस हुन्छन् संगीतले तिनको ब्यक्तित्व बनाइदिन सक्नुपर्छ । शब्द र संगीतको मिलन सही भएन भने शब्दहरू आत्माहीन भइदिन्छन् र संगीत विधवा भइदिन्छ जस्तो लाग्छ अचेल लोचनलाई ।
०००
नरायणगोपालको निधन भएको १४ वर्षपछि मात्रै लोचनले आपैँm संगीत भर्ने सल्लाहलाई सिरियसली लिइन् । ०५८ सालको त्यही एकदिन थियो, जुन दिन भीमदर्शनको ‘घाम डुबी तारा नउदाएको आकाश हुँ म भन्ने मुक्तक संग्रह’ उनको हात पर्‍यो र त्यसै दिनदेखि उनको हृदयमा संगीतको अलौकिक तरंग फुर्‍यो । एउटा यस्तो संयोग महाकवि लक्ष्मीप्रसाद देवकोटाले ज्यादै मन पराएर प्रशंसा गरेका भीमदर्शनको कविता लोचनको संगीतको भावभूमी बन्यो ।
उनले मुक्तक पढ्न पुस्तक पल्टाइन्, पहिलो मुक्तकमै एउटा असाधारण आत्मानुभूति थियो । ‘आत्मा भिजाएर शब्दहरू पोखिएका थिए, जति पढ्दै गयो त्यति बेचैनीले सताउँदै गयो । यो कृतिको न्यायको लागि मैले स्वर भर्नै पर्छ भन्ने अठोट गरेँ । मलाई थाहा थियो, संगीतकारहरू शब्दमा संगीत भर्नको लागि हिसाब गर्छन् । मिटर नमिले संगीत भर्ने रुची देखाउँदैनन् । तर, मलाई म्याथम्याटिक्सको संगीतले चित्त बुझ्दैन । हृदयको मिटरमा सुहाएपछि लय निस्कियो: एक्लै एक्लै उदास….’ अनि बनिन् लोचन एक शास्त्रीय संगीतकार । भीमदर्शनको कविता र संगीतको बेदनामय तापक्रम बोकेर सजियो ।
लोचनले भीमदर्शनको छन्दबद्ध कवितालाई लय भर्ने अठोट गरेका बेला जीवनको अन्तिम अवस्थामा अस्पतालको शय्यामा थिए भीमदर्शन । अस्पताल भेट्न गइन् । उनी बोल्नै नसक्ने थिए । उहाँको अवस्था देखेर लोचन भावुक बनिन् । अनि, बल्लबल्ल साहस जुटाएर उनको कवितालाई लय भर्ने अनुमती माग्न आएको बताइन् । ‘मेरो आवाजले भीमदर्शन दाइको मुहारमा चमक आयो । तेजिला आँखा बनाएर उहाँले अनुमती दिनुभयो । तर, संगीत भर्ने मान्छे पाउन निकै गाह्रो भएपछि आपैँmले संगीत भरेँ :
एक्लै एक्लै उदास उदास छु म
घाम डुबी तारा नउदाएको आकाश हुँ म…† 

Saturday, April 6, 2013

जागिरे किरियापुत्री


असोजको एक बिहान । आर्यघाट जलिरहेका पार्थिव शरीरले रापिइरहेको छ । चितामा लहरै एघारवटा शव जलिरहेछन् । धुवाँको मुस्लो आकाशतिर विलिन हुँदैछ । दाहिनेतिरको किरियापुत्री घरको बगलमा बसेर सुस्ताइरहेछन्, हरिप्रसाद गुरागाईं (नाम परिवर्तन) । खौरिएको टाउकोमा कपालका ठुटा बढ्ने सुरसार गरिरहेछन्, कम्मरमा सपक्क कसेर बाँधिएको सेतो धोती अनि टाउकोमा सेतो रुमाल उनको पहिरन छ । यो पहिरन हो किरियापुत्रीको । हरिप्रसाद कसैको आत्मालाई भवसागर तार्ने प्रक्रियामा छन् । तर, उनको मुहारमा मृत्युशोक कत्ति पनि देखिँदैन । बरु, सुकेको गाला झनै स्याप्प बनाएर मस्तले चुरोट उडाइरहेछन् ।
उनले फुकेको चुरोटको धुवाँ नागबेली रूप लिएर आकाशतिर उड्यो र जल्दै गरेका शवको धुवासँगै बिलायो । क्रिया गर्न बसेका हरिप्रसादको अनुहारमा आफन्तवियोगको पीडा छैन, बरु आर्यघाटतिरबाट उर्लिरहेको रुवाबासीले वातावरणलाई कारुणिक बनाइरहेछ ।
हरिप्रसादको छेवैमा अरू पनि थुप्रै किरियापुत्री देखिँदै छन्, जसको मुहार केही दिनदेखि खुल्न सकिरहेको छैन । राजेश्वरी घाटका चिसा कोठामा परालको ओछ्यानमा रात काट्दा मृत मातापिताको झ–झल्कोले झस्किइरहँदा हुन् उनीहरू । कतिको सपनामा आएर दिवंगतहरूले असन्तुष्टि पनि जनाउलान् कि ! हृदयभरि अपार श्रद्धा सँगाल्दै मृतकलाई मोक्षको बाटो खोल्न बरखीका शास्त्रीय नियमहरूलाई हरसम्भव पालना गर्दा हुन् ।

हरिप्रसादलाई चाहिँ यी सब सामान्य भइसके । अहिलेसम्म दुई सय जनाभन्दा बढी मानिसको किरियापुत्री बसिसके उनी । यो उनको भावना होइन, पेसा हो । त्यसैले त पराईको मृत्युमा नदुख्न अभ्यस्त भइसकेका छन् यी ‘जागिरे किरियापुत्री’ । किरियापुत्री बनेरै बीस वर्ष बिताइसके उनले । मृत्युसंस्कारमा श्रद्धा र जागिरको भेदलाई चिताका रुवाबासी र किरियाघरका नि:स्पृह एवम् संवेदनहीन क्रियासंस्कारले उजागर गरेका छन् । चिताहरू रोइरहेछन् तर क्रियाघर संस्कारले बोकाएको भारी बिसाउने झारा टारिरहेछ, मोलमोलाइमा । छोराछोरी तथा दाजुभाइ नभएका, सन्तान अशक्त भएकाहरूको मृत्युमा किरिया बसिदिन्छन् हरिप्रसादहरू ।
हिन्दूहरूको मृत्युकर्ममा सुनाइने गरुड पुराणमा भनिएको छ, ‘अन्त्येष्टि गरिसकेपछि आफन्तले शोकाकुल भएर बिदा गर्दा मृतकको स्वर्ग जाने एउटा ढोका खुल्छ ।’ मरेकासँग आफन्तको आत्मीयता र मृत्यपछिको श्रद्धासँग सायद यो गाँसिएको छ । हरिप्रसाद श्रद्धालाई रुपियाँमा हिसाब गरिरहेछन्, जुन मूल्यसँग दिवंगतसँग जोडिएको संवेदनाको कुनै साइनो छैन । उपभोक्तावादी बन्दै गएको समाज र त्यसको आधुनिकीकरणको उपज हो, क्रिया गर्ने जागिर । जसले हरिप्रसाद जस्ता १५ जना ब्राह्मणको जिजिविषा चलाइरहेको छ । १३औं दिन सकिएपछि हरिप्रसादको मुहार उज्यालिन्छ । बारिरहेको किरिया कहिले सकिएलाजस्तो हुन्छ उनलाई हरेक पटक– ‘यो किरिया सकिएपछि जागिरको एक चरण पार हुन्छ । कालै सकिएजस्तो हुन्छ ।’ अहिले उनी त्यो व्यक्तिको किरियाको एघारौं दिनमा छन्, जसलाई उनले कहिल्यै देखेकासम्म थिएनन् । नि:स्पृह भावले सुनाउँदै छन्, ‘कालिमाटीतिरका क्षत्री रहेछन्, उनैको किरिया गर्दै छु ।’ यत्ति हो उनले चिनेको । त्यसो त यो जागिर उनको रहरभन्दा बढी जीविकाको बाध्यता हो । सुनाउँछन्– ‘१३ दिनसम्म किरिया बस्दा प्रेतात्माले शरीर चुसेजस्तो हुन्छ ।’ वर्षको ६ महिनाभन्दा बढी सेतै कपडा अनि मुडुलै टाउकामा हुन्छन् रे उनी ।
मान्छे मरिसकेपछि प्रेतात्मालाई स्वर्ग पठाउने कर्म मृत्युकर्म हो । धार्मिक मान्यताले स्वर्गको बाटो देखाए पनि मृत्युकर्म आत्मसंसर्गसँग जोडिएको छ । जीवित छँदाको स्मृतीबाट एक्कासी टाढा हुन सक्दैन मान्छे । हिन्दू धर्मशास्त्रले बसाएको संस्कारले पनि आफन्तको मृत्यु भइसकेपछि स्मृती चिरस्थायी बनाउन १३ दिनसम्म मृत्युकर्म गर्ने चलन बसाएको होला सायद । तर, हरिप्रसादसँग किरियापुत्री बस्दाको त्यस्तो कुनै स्मृति छैन, जुन मनसँग जोडिएको होस् । उनको सरोकार हो त केवल ९ हजार नौ सय रुपियाँ । जुन उनले एकजनाको किरिया बसिदिएबापत पाउँछन् । १३औँ दिनको कर्म सकिएपछि डेढ महिनासम्म तागतिलो खानेकुरा खाएर शरीरलाई अर्को किरियाका लागि तयार राख्नु छ उनले । सुख्खा अदुवा र आलुसँग मात्रै भात खाएर मुस्किलले गुजारेको १३ दिनपछि शरीरमा तागत भर्ने सुरसारमा लाग्छन् । श्रद्धामा पनि उपभोक्तावादले उनको जागिर चलिरहेको छ तर उनी श्रद्धाका खेताला भने अवश्यै हुन् ।
श्रद्धा व्यावसायिक विनिमयबाट चल्दैन भन्ने उनले राम्रोसँग बुझेका छन् । आफ्ना बाबु मर्दा उनी मात्र नौ वर्षका थिए । त्यसबेलाजस्तो मन, दुखेको, आत्तिएको, थेग्नै नसक्ने बेदना भएको कसैको किरिया बस्दा पनि उनले अनुभूत गरेका छैनन् । बाबुको मृत्युमा आमा खुबै रोएकी थिइन्, आफ्नो सम्पूर्णताको संरक्षक बाबु अहिले आत्मा बनिसकेका छन् । मान्छे मरेपछि फर्केर आउँदैन भन्ने मात्र बुझेका थिए उनले त्यति वेला । बाँसमा कपडाले बेरेर घरनजिकैवाट घाटतिर मुर्दा लैजाँदा उनी साह्रै डराउँथे । शरीरमा रहेको पुर्खाको अंश सायद उनीभित्र खेलिरहेको थियो र त्यसैको आत्मसंसर्गले उनी पीडित र ब्यथित थिए । अनि, श्रद्धा पनि आत्माभित्रैबाट आउँथ्यो । अहिले त यो उनको फगत पेसा मात्र न हो । समाधिस्थ हरेक आत्मा जसलाई उनले किरिया बसेर भवसागर तारे, उनीहरू सबै जुर्मराएर आए पनि आफ्ना बाबुको किरिया गर्दा उत्पन्न संवेदनाको तिब्रता कहिल्यै महसुस गरेनन् उनले । भर्खरै बिहे गरेका युवायुवती र अकालमै मरेका मानिसको किरिया बस्दा भने संवेदनाको तिब्रता महसुस गर्छन् रे उनीहरू ।
काठमाडौंमा डेरा छ । पाँच जनाको परिवार पाल्ने मेसो मिलाउन आँखैअगाडि देखिएको मृत्युको दर्दभन्दा पनि पीडादायक छ उनका लागि । डेढ महिना घर बसेपछि फेरि उनको पालो आउँछ, किरिया गर्ने । यसलाई उनी पनि श्रद्धा भन्दा जागिरकै रूपमा लिन्छन् । ‘एकमानो खान पुग्ने सम्पत्ति भए एक छाक मात्रै अलिनो खाएर, दिनदिनै टाउकोबाट चिसो पानी खन्याएर बस्ने रहर कसलाई हुन्छ’, बाध्यता सुनाए ।
हिन्दूधर्म पुनर्जन्मवादी छ । एउटा शरीर छोडेपछि अर्को शरीर प्राप्त नगर्दासम्म सहज बनाइदिनु मृतकका आफन्तको कर्तव्य मानिन्छ । सद्गति प्राप्ति भएन भने मृतकको आत्मा प्रेत बनेर त्यहि परिवारमा दु:ख दिन्छ भन्ने मान्यता छ । हिन्दू धर्मशास्त्रमा उल्लेख मृत्युसंस्कारबारे वर्णन गर्दै नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविज्ञ प्रा.डा. माधव भट्टराईले मृत शरीरको अन्त्येष्टि पछि १० दिनसम्म सन्तानले किरिया र एक वर्षसम्म बरखी बार्नुपर्ने बताए । ‘आफ्नै सन्तान नभए दाजुभाइ वा आफन्त पनि नभएको व्यक्तिका लागि प्रतिनिधी खटाउन सकिने व्यवस्था धर्मशास्त्रले गरेको छ’, उनले भने ।
किरिया कर्म जाति समुदायअनुसार फरकफरक हुन्छ । यद्यपि, पशुपति क्षेत्र विकास कोषले तोकेका हरिप्रसादजस्ता १५ जना प्राय: जसो ब्राह्मण, क्षत्री तथा नेवार समुदायको किरिया बस्छन् । यी समुदायको मृत्युसंस्कार प्राय: मिल्ने खालकै छन् । सैद्धान्तिक ज्ञान नभए पनि अनुभवले उनीहरूलाई खारेको हुन्छ । मृत्युकर्ममा गरिने १३औँ दिनसम्मका हरेक काम कण्ठस्थै छ । हिजोआज त आफ्नो कर्मबाट मृतक स्वर्ग गए/नगएको समेत जनाउ पाउन थालेको आभास हरिप्रसादलाई हुन थालेछ । भन्छन्– ‘कोरामा रहँदा आत्माले शान्ति पाए/नपाएबारे आवाज दिइरहेजस्तो लाग्छ !’

Wednesday, April 3, 2013

काजीबा, जसले प्रचण्डलाई कम्युनिस्ट बनाए


रोगले ग्रस्त शरीर । पिसाब नरोकिने अनि नशासम्बन्धी समस्याले हिँडडुल गर्न नसक्नु । यी समस्या अब सामान्य भइसके खम्बासिंह कुँवरका लागि । उनको तेजिलो चेहरा देख्दा लाग्छ– शरीरको रोगलाई मुहारको चमकले जितेको छ । अधिकांश समय उज्याला देखिन्छन् उनी, निरोगीजस्तै ।
‘काजी सा’प वा ‘काजीबा’ उनको क्रान्तिकारी नाम हो । क्रान्तिका योद्धाहरूबीच यही नामले चर्चित छन् । अहिले पनि खम्बासिंह कुँवरको पहिचान ‘काजीबा’ थपिएपछि मात्रै पूर्ण हुन्छ । ‘काजीबा’ अहिले पनि हरबखत क्रान्तिचिन्तनमै डुबिरहेका हुन्छन् । आफ्नो चिन्तनलाई सिद्धान्तले बलियो बनाउन माओ, लेनिन, स्टालिनजस्ता कम्युनिस्ट दार्शनिकहरूका पुस्तकमा दृष्टि सोझ्याइरहन्छन् । अनि, चिन्तित हुन्छन्– आफ्नै देशमा अघि बढेको क्रान्ति सोचेजसरी निष्कर्षमा पुग्न सकेन ।
मुलुकको परिवर्तनका लागि सञ्चालित क्रान्तिको सुरुआती दिनका प्रवर्तकमध्ये एक हुन्, काजीबा । २००७ सालदेखि भारतीय कम्युनिस्टबाट प्रभावित भएर नेपालमा पनि कम्युनिस्ट आन्दोलन प्रवद्र्धनको बाटो रोजेका थिए उनले । उनै काजीबाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई क्रान्तिको मार्गमा ताते गराए । अहिले प्रचण्ड शक्तिशाली नेता बनिसकेका छन् । तर, प्रचण्डमा निहित नेता बन्ने गुण चिनेर उनलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यता दिने यी पथप्रदर्शकलाई चिन्ने व्यक्ति विरलै होलान् ।
२०३४ सालमा प्रचण्ड शिक्षक मात्रै थिए । उनको पहिचान गोरखाको आरुघाटमा रहेको एक विद्यालय र त्यहीँका विद्यार्थीबीच मात्र सीमित थियो । त्यतिबेला नेपालमा कम्युनिस्ट पार्टीको सदस्यता विस्तार गर्ने अभियान तीव्र थियो । काजीबा सम्झन्छन्, ‘म गण्डक क्षेत्रको इन्चार्ज भएर गएको थिएँ । आरुघाटमा माक्र्सवादबारे प्रशिक्षण चलिरहेको थियो । शिक्षक पुष्पकमल पनि त्यहाँ पुगेका थिए । उनको क्षमता तथा नेतृत्व गर्नसक्ने गुण देख्दा मलाई लाग्यो– यिनले कम्युनिस्ट पार्टीलाई योगदान गर्न सक्छन् । त्यही बेला उनलाई कम्युनिस्ट पार्टीको सदस्यता दिएको थिएँ ।’
आफूले क्षमता चिनेको व्यक्तिले आज अध्यक्ष भएर सिंगो पार्टीकै नेतृत्व गरेकोमा काजीबा गौरव पनि गर्छन् । प्रचण्डले सदस्यता पाउँm भनेर दिएको निवेदनमा उल्लिखित बेहोरा उनको स्मरणमा अझै ताजै छ । सम्झन्छन्, ‘कम्युनिस्ट पार्टीप्रतिको लगाव अनि सदस्यता लिन चाहेको कारण सबै खुलाएर दाहालले निवेदन दिएका थिए । उनको व्यक्तित्व तथा सिर्जनशीलताले मलाई आकर्षित गर्‍यो । प्रस्ट निवेदन आएपछि अन्य कमरेडसँग पनि छलफल गरी सदस्यता दिएको हुँ ।’
चितवनको भरतपुरमा रहेको डेरामा बसेर खम्बासिंह आफ्ना शिष्यको राजनीतिक व्यवहार नियालिरहेका छन् । नेकपा माओवादीले सशस्त्र युद्ध हुँदै शान्तिप्रक्रियामा आएर सत्तासमेत सम्हालिसकेको छ । खम्बासिंह आफूले योग्य ठानेको बाटोमा हिँडेर देशकै मुख्य शक्ति बनेका प्रचण्डबारे अनावश्यक टिप्पणी गर्न चाहँदैनन् । चिन्तासहितको मुस्कान मुहारमा ल्याउँछन् । अनि, भन्छन्, ‘क्रान्तिको बाटो एक दिन अवश्य सफल हुन्छ ।’
खम्बासिंह प्रचण्डलाई ‘अग्रज नेता’ को उपमा दिन्छन् । तर, आफ्नो योगदानको कदर नभएकोमा चिन्ता परेजस्तो भान अलिकति पनि पर्न दिँदैनन्, मुहारमा । बरु, भन्छन्, ‘माओवादीको सक्षम नेतृत्वले जनताको वर्गीय समानताको चाहना पूरा गराओस् ।’
०००
काजीबाको जन्मथलो लमजुङको बान्द्रे गाविस–७ हो, १९८४ साल अर्थात् ८५ वर्षअघि जन्मिएका । बाबुले डेढ वर्षमा छाडेर हिँडेपछि आमाको एकल अभिभावकत्वमा हुर्किए । उनले उति बेलाको गुरुकुलशिक्षा लिने मौका पनि पाएका थिए । तर, बाल्यकालदेखि नै स्वभाव भने क्रान्तिकारी थियो । उनी प्रस्ट्याउँछन्, ‘हामी बालनरसिंह कुँवरका सन्तान हौँ । त्यतिबेला नामको पछाडि ‘जंग’ जोड्ने चलन थियो । तर, मलाई मन परेन । गुरुबालाई ‘जंग’ हटाएर ‘सिंह’ राख्न लगाएँ । अन्तत: मेरो परिवारकै नामका पछाडि ‘जंग’ राख्ने चलन हट्यो ।’
क्रान्तिका सिद्धान्त नबुझ्दैदेखि परिवर्तनको बाटोमा लागिसकेका थिए खम्बासिंह । लमजुङ छाडेर परिवारसहित २०१५ सालमा चितवन झरे, सामान्य कृषकको जीवन बिताउन थाले । चितवन झर्नुअघि नै पहाडमा पखेरा खोस्रिएर हुने उब्जनीले परिवार धान्न नसकेपछि उनी भारत छिरेका थिए । भारत गएर सम्पत्ति कमाउने सोच थियो उनको । तर, त्यहाँबाट सम्पत्ति होइन, मुलुकको परिवर्तनका लागि क्रान्तिको सुन्दर सपना बोकेर पो फर्किए उनी ।
२०११ सालमा भारत छिरेका उनी त्यहाँ ‘स्पेसल अर्मान्ड फोर्स’ को जागिरे भए । त्यति बेला कमाइ राम्रो हुन्थ्यो । कामकै सिलसिलामा तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका महासचिव श्रीपाद अमृत डाँगेसँग उनको भेट भयो । डाँगे भन्थे, ‘सबै सर्वहारा वर्गको मुक्तिको बाटो सच्चा कम्युनिस्टले मात्रै खोल्न सक्छ ।’ डाँगेको त्यही सिद्धान्तले खम्बासिंहभित्र क्रान्तिको बीजारोपण गर्‍यो । परिवारमा खान/लाउनकै धौ–धौ भएर भारत पसेका उनी क्रान्तिको हस्ती बनेर निस्किए । आफूजस्तै सर्वहारावर्गको मुक्तिमा लाग्ने उद्देश्यले २०११ सालमा औपचारिक रूपमा भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएको उनी सुनाउँछन् ।
क्रान्तिको बिउ नेपालमा पनि उमार्नुपर्छ भन्ने बोध भएपछि उनी स्वदेश फर्किए । भारतबाट फर्किएपछि पाँच जना मिलेर कम्युनिस्ट पार्टीको झन्डा बोकेका थिए । उनको परिकल्पना थियो, ‘कार्लमाक्र्सले भनेजस्तै वर्गविहीन समाजको निर्माण ।’ अभियानलाई सार्थक बनाउन परिवारबाट टाढा रहेर भूमिगत बन्दै क्रान्तिको सन्देश बाँड्दै हिँडे । सात सन्तानको अभिभारा जीवनसंगिनी धीरा कुँवर एक्लैलाई सुम्पिएर सच्चा क्रान्तिकारी कम्युनिस्ट जन्माउन उनी नेपालका अधिकांश कुनाकन्दरा चहार्न थाले ।
जीवनको ऊर्जाकालमा उनले व्यक्तिगत प्रयोजनका लागि निकै कम मात्रै काम गरे । घरघडेरी, सम्पत्तिको मोह कहिल्यै पलाएन । न त आफूले रोजेको क्रान्तिको बाटो नै परिवर्तन गरे । उनीभन्दा पछि राजनीतिमा लागेकाहरूले पनि आर्थिक रूपमा गतिलै प्रगति गरिसके तर उनी अझै भरतपुरमा भाडाको कोठामै बस्छन् । 

नेपालमा कम्युनिस्ट पार्टीलाई संस्थागत गर्नेमध्ये एक हस्ती खम्बासिंह हुन् । उनको सक्रिय राजनीतिक जीवनमा कम्युनिस्ट पार्टी पटकपटक टुक्रिने र एक हुने भइरह्यो । उनी पनि आफ्नो विचार मिल्ने समूहतिर आकिर्षत हुँदै गए । अन्तत: माओवादी कार्यकर्ता बने । उनको जीवनको ऊर्जावान समय मुख्य गरी गण्डकी अञ्चलमा कम्युनिस्ट कार्यकर्ता उत्पादन र प्रशिक्षणमा व्यतीत भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहदेखि तत्कालीन चौथो महाधिवेशन, मशाल हुँदै अहिले उनी एकीकृत नेकपा मओवादीका केन्द्रीय सल्लाहकार छन् ।
क्रान्तिकारी बनेर सक्रिय रूपमा हिँडेको राजनीतिक जीवनकाल उनले भुलेका छैनन् । सम्झन्छन्, २०१८ सालमा कांग्रेसी भएको शंकामा सेनाको कब्जामा परेर झन्डै जीवन गुमेको थियो । त्यति मात्रै होइन, जनताका झुपडीमा कयौँपटक भोकै रात बिताएका अनुभव पनि उनले भुलेका छैनन् । संगठनभित्रका अन्तर्विरोधमा पटकपटक पुलको काम गरेर समाधान गराएका थिए उनले । यद्यपि पछिल्लो समयको अन्तर्विरोधपछि माओवादीमा आएको फुट भने उनले मिलाउन सकेनन् । सबै माओवादी कुनै दिन फेरि एक हुने आशा भने पालिरहेकै छन् ।
नेपालमा कम्युनिस्ट पार्टीे स्थापना गर्दाको दु:ख अनि यहाँका गरिब बस्तीको अभाव सबै बुझेका छन् खम्बासिंहले । पार्टीले महिनावारी दिने खर्चबाट उनले बस्ने कोठा र खाने व्यवस्थाको जोहो गर्दै आएका छन् । तिनै प्रचण्ड, जसलाई काजीबाले वर्गीय विभेद हटाउने नेतृत्व खडा गर्न अघि बढाएका थिए, आज उनी काठमाडौंमा करोडौंको सुविधासम्पन्न महलमा दिन बिताउँछन् । तैपनि, काजीबा अझै आफूले सुरुआत गरेको क्रान्तिले निष्कर्ष पाउने विश्वसामा छन्, ‘नेपालमा एक दिन सबै वर्ग एक भएको समाज अवश्य बन्नेछ ।’